विद्यार्थी नेतृत्वको सकारात्मक कदम

काठमाडौं, साउन ८ । सत्तारुढ दलसम्बद्ध विद्यार्थी सङ्गठनले संस्थागत र व्यक्तिगतरुपमा निजी क्षेत्रबाट चन्दा नउठाउने निर्णय गर्दा आमजनतामा सकारात्मक सन्देश गयो । अब उपरान्त सङ्गठनका कोही पनि सदस्यले कहीं कतै चन्दा उठाएमा कारबाही गर्ने सार्वजनिक रुपमा बताइयो ।

आफ्ना पेशागत मुद्दामा लड्नेभन्दा पनि अनेक अड्चन खडा गरेर चन्दा आतंक सिर्जना गर्ने अधिकांश विद्यार्थी नेताको पछिल्लो रवैयाका कारण विद्यार्थी नेताका साथै सङ्गठन नै साह्रै वदनाम भएको थियो, छ । विद्यार्थी सङ्गठनका नेताहरुको महङ्गो जीवनशैली विभिन्न कलेज, शिक्षण संस्थासँग लिएको चन्दा र विभिन्न धन्दा नै हो । सार्वजनिक रुपमा चन्दा नलिने भनेर भित्रभित्र सेटिङमा आर्थिक सङ्कलन गरियो भने त्यो विडम्बनापूर्ण हुनेछ ।

आर्थिक स्रोतको लडाईंले बेलाबेलामा एउटै सङ्गठनका सदस्यहरुका बीचमा पनि झडप हुने गरेको थियो । आईजीपी फेर्नुपर्छ र फेर्नुहुन्न भन्ने अभियान नै चल्ने अवस्था थियो, छ ।

विद्यार्थी आन्दोलन उठाउने वैचारिक अभियानभन्दा पनि विगतका गौरवपूर्ण इतिहासलाई भजाएर खाने काम भयो यो पछिल्लो अवधिमा । विद्यार्थी नेता विद्यार्थीका नेताभन्दा पनि कुनै विचौलिया, धन्दावालाको छविमा बाँचेका छन् । यस्तै गलत रवैयाका कारण जनवर्गीय संगठनको सान्दर्भिकता नै नभएको भन्दै बहस समाजमा प्रारम्भ भएको थियो । सङ्गठन भनेको समाधान हुनुपर्छ, आफै समस्या र शोषणका साधन बन्नुहुँदैन ।

विद्यार्थीमा मात्र होइन यो समस्या ट्रेड युनियनमा पनि छ । मजदुर नेताहरुको स्रोतको लडाईंमा आफ्नै नेताको टाउको फोर्ने जस्ता हर्कत समेत यो बीचमा देखिए । अन्तर्राष्ट्रिय मजदुर विरोधी सञ्जालमा आबद्ध भएर पनि मजदुरमाथि नै शोषण गर्ने कार्य मजदुर सङ्गठन र नेताहरुबाट भइरहेको छ । मजदुर संगठनबाट समेत चन्दा असुल्ने कार्य विद्यार्थीको जस्तै बन्द गरे सकारात्मक सन्देश जानेछ । यसले समाजमा पेशागत र उत्पीडित र उपेक्षित वर्गको पक्षमा लड्ने वैचारिक र संगठनात्मक आधार निर्माण हुनसक्छ । समयबद्ध साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!