मृत्यु सेवन गरिरहेछु (कविता)

म․․नेपाली जनता
मरिरहेछुशरीरमा पल पल
खाइरहेछु अलिअलि मृत्यु
प्रत्येक दिन !!

बेचिरहेछु
विदेशी भूमिमा
आफ्ना सन्ततिले
बगाएका पसिनाका कमाईहरु !
खर्च गरिरहेछु करोडौं करोड
र आयात गरिरहेछु
प्रत्येक वर्ष
६ लाख २२ हजार किलो विषादी
अर्थात् मृत्यु!!

म भोकलाई मारिरहेछु
र भोक सँगसँगै
खपत गरिरहेछु
किसानले फालेका
तर बिचौलियाले सम्हालेका
हरिया निला तरकारीहरु
र रसायनले गालेका
रंगीविरङ्गी फलफूलहरु!
यसरी
दुई चार केजी फलफूल
दुई चार मुट्ठा तरकारी
अर्थात्
अलिअलिमन्द विष खाएर
मारिरहेछु प्रत्येक दिन
आफ्नै शरीरलाई !!

मैले त नतमस्तक भएर
किटनाशक
र बालीनालीको रोगनाशक
भन्ठानेको थिएँ !
तर उ त छली मृत्यु रहेछ
त्यसैले त आज मलाई
उच्च रक्तचापछ
छाती दुख्छ
टाउको हन्हनाउँछ
जिउ चिलाउँछ
वाकवाकी लाग्छ
श्मरण शक्ति हराउँदैछ
डिप्रेशनले गाँज्दैछ!
सायद मेरा अङ्ग प्रत्यङ्गहरु
मुटु, फोक्सो, कलेजो, मिर्गौला
सबैले हार खाँदैछन्
मधुमेहले गाँज्दैछ
क्यान्सरले गाल्दैछ
म बाँचेको अभिनय गर्दै
क्रमश मरिरहेछु!!

मेरो देशमा
विषादी अर्थात् मृत्यु
आयात हुन्छ निर्बाध रूपमा
विडम्वना
उसलाई रोक्ने
पूर्वाधार नैछैनरे देशमा
उ शानसँग आउँछ
खुल्लमखुल्ला आउँछ
लोकमार्ग छपक्कै ढाकेर आउँछ !!

सरकारलाई
मेरो ज्यानको सरोकार छैन रे
मेरो बाँच्ने हकसँग
उसकोसत्ता साटिएको छ रे!!
शायद
सत्तासँग भत्ताको चलखेल छ
र भत्तासँग कमिशनको जालझेल
त्यसैले त
अस्पतालले व्यापार गरिरहेछ मृत्यु
कमिशनले किनिरहेछ सत्ता!!

बजारमा
निर्बाध बेचबिखन भइरहेको
विषादी अर्थात् मृत्यु
बहिरहेछ जताततै!
उ थुलोको कण कणमा छ
जलमा छ¸थलमा छ
श्वासप्रश्वासमा
दिलमा र आँतमा पनि
फैलिरहेछ जहाँसुकै !
म उसको जन्जालमा
यसरी फसेको छु
कि उसैलाई अपनाउन बाध्य छु
उसैलाई खरीद गरिरहेछु
उसकै सेवन गरिरहेछु
र जिउने चाहना गर्दागर्दै
क्रमश मरिरहेछु!!

नारायण खड्का, ललितपुर ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!