पुष्पलाल र नयाँ जनवादबारे माेहन वैध्यकाे चर्चित लेख

पृष्ठभूमि

कमरेड पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुनुहुन्छ । वहाँको नेतृत्वमा २००६ साल अर्थात् २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालद्वारा २००५ सालमा अनूदित तथा २००६ साल अथात् सन् १९९४ सेप्टेम्बरमा प्रकाशित अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता माक्र्स तथा एङ्गेल्सद्वारा रचिएको विश्वप्रशिद्घ कम्युनिस्ट घोषणापत्र, सोही समयमा प्रकाशित नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र र उक्त २२ अप्रिल अथात् २००६ वैशाख १० मा प्रकाशित नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा प्रकाशमा आए । नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनु नेपालको इतिहासमा एक युगान्तकारी परिघटना हो ।

पार्टीको स्थापना कालमा प्रकाशित यी रचनाहरुमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी तथा जनवादी क्रान्तिका ऐतिहासिक, सैद्धान्तिक तथा राजनीतिक आधारहरुलाई फेला पार्न सकिन्छ । यसप्रकारका रचनाहरुको विशेष ऐतिहासिक महत्व छ । नेपाल कम्युनिस्ट आन्दोलनका एक अग्रज नेता कमरेड पुष्पलालको समग्र मूल्याङ्कन, वहाँद्वारा पार्टीमा प्रस्तुत तथा पारित गरिएका प्रस्तावहरु र वहाँका सबै रचनाहरुको समग्र अध्ययन गर्नुपर्ने आवश्यकता छ । यो काम यस छोटो लेखमा संभव छैन । यहाँ नयाँ जनवादी सम्बन्धी विषयमा संकेन्द्रित रही कमरेड पुष्पलाल श्रेष्ठका योगदानहरुबारे केही कुरा उल्लेख गर्ने प्रयास गरिएको छ ।

पार्टीको पहिलो घोषणापत्र

नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्रमा देश सामन्तवादी व्यवस्थाको उत्पीडनमा पिल्सिंदै आएको र अद्र्धऔपनिवेशिक अवस्थामा रहेको कुरा उल्लेख गर्दै त्यसप्रकारको स्थितिबाट मुक्तिको निम्ति संघर्ष गर्नुपर्नेमा जोड दिएको छ । नेपाली क्रान्तिको बाटोका बारेमा घोषणा–पत्रमा भनिएको छ– “नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ, त्यो बाटो हो– विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी– पुँजीवादी आधिपत्यलाई पूरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु ।” (पुष्पलाल छानिएका रचनाहरु, भाग–१, पृ. ५९, मदन– आश्रित स्मृति प्रतिष्ठान नेपाल २०५३ जेठ) ।

यहाँ नेलाली क्रान्तिको बाटो र मजदुर वर्गको नेतृत्वमा राज्यसत्ता स्थापनाको प्रश्नबारे स्पष्ट उल्लेख गरिएको छ । सोही घोषणा–पत्रमा नेपाल कम्युनिस्टको दायित्व, पथप्रदर्शक सिद्धान्त र कार्यक्रमबारे चर्चा गर्दै भनिएको छ– “नेपाल कम्युनिस्ट पार्टी, माक्र्सवाद– लेनिनवादको मार्गदर्शनमा अघि बढेको पार्टीले क्रान्तिको आँधिबेहरीमा जनताको साथ दिने छ र यसले के प्रतिज्ञा गर्छ भने सच्चा स्वतन्त्रता तथा लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा सदा अडिग भै लडिरहने छ ।” (उक्त पृ.६६) । यहाँ माक्र्सवाद–लेनिनवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा ग्रहण गर्दै लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा अडिग भई लड्ने क्रान्तिको आँधिबेहरीमा जनताको साथमा रहने प्रतिज्ञा समेत गरिएको छ । सो घोषणा–पत्रमा नेपाली जनवादी क्रान्तिको कार्यक्रमका विविध पक्ष र कम्युनिस्ट पार्टी, जनवादी सेना तथा जनवादी क्रान्तिका तीन महत्वपूर्ण साधनहरुको आवश्यकताबारे चर्चा गरिएको छ ।

नयाँ जनवाद र विधानसभा

२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको थियो । सो सम्मेलनमा कमरेड पुष्पलालद्वारा नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम तथा नीति सम्बन्धी राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको र पारित भएको थियो । सो प्रस्तावमा भनिएको छ– “मुलुकमा सर्वोच्च अधिकार जनताको हातमा हुनुपर्दछ । यसै अधिकारको आधारमा शासनव्यवस्था खडा हुनुपर्दछ । शासन व्यवस्थामा साम्रज्यवाद–सामन्तवाद विरोधी सम्पूर्ण जनता–मजदुर, किसान र जातीय पुँजीपति सामेल छन् । यसको रुप नयाँ जनवादी हुन्छ । शासन गर्ने तरिका जनताको जनवादी अधिनायकत्व हुन्छ ।

जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालहरुका निम्ति अधिनायकवाद हाम्रो सरकारको नीति हुन्छ ।” (पुष्पलालका छानिएका रचनाहरु, पृ. ९, पुष्पलाल स्मृति प्रतिष्ठान २०५५ श्रावण) । यहाँ नयाँ जनवादी क्रान्तिको कार्यक्रम र नीतिबारे प्रकाश पारिएको छ । संभवतः नयाँ जनवादबारे उल्लेख भएको यो पहिलो पटक हो । यहाँ उल्लेखित “जातीय पुँजीपति” अन्र्तगत जातीय भनेको राष्ट्रिय हो । साथै, यस प्रस्तावमा विधानसभा र म्यादी सरकार अर्थात् संविधानसभा र अन्तरिम सरकारबारे पनि उल्लेख गरिएको छ । यहाँ संविधानसभाका लागि मोहन शमशेर गुटलाई सरकारबाट हटाउने, जनताको राजनीतिक छलफल समितिको सिफारिस बमोजिम तमाम जनवादी पार्टी, दल, जनता र जनवर्गीय संगठन र व्यक्तिहरु सम्मिलित संयुक्त सरकार खडा गर्ने र सो सरकारले राष्ट्रियता, जनतन्त्र तथा जनजीविका कतिपय महत्वपूर्ण विषयसंँग सम्बन्धित चौध बुँदे मागहरु प्रस्तुत गर्दै ती मागहरु पुरा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

प्रस्तावमा भनिएको छ– “माथि तोकिएका शर्तहरु पूरा नगरी स्वतन्त्र जनमत जाहेर गर्ने विधानसभापछि खडा हुने नयाँ जनवादी सरकारले तोकिए बमोजिमको कार्यक्रम पूरा गर्नु पर्दछ” –भाग–४, पृ.८० । कम्युनिस्ट पार्टीको कार्यक्रम र नीतिसबन्धी प्रस्तावमा उल्लेखित संविधानसभा सम्बन्धी विचार र दृष्टिकोण अहिलेको सन्दर्भमा पनि विशेष मार्गदर्शक रहेका छन् ।

तेस्रो महाधिवेशन र मूलबाटो

पार्टीको पहिलो र दोस्रो महाधिवेशनमा नयाँ जनवादकै कार्यक्रम पारित भएको पाइन्छ । परन्तु, तेस्रो महाधिवेशनमा नयाँ जनवाद होइन राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भएको छ । क। पुष्पलालका अनुसार तेस्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम तथा सर्वसत्ता सम्पन्न सार्वभौम संसदको कार्यनीति बहुमतद्वारा पारित भएको हो त्यसमा वहाँको असहमति रहेको छ । क। पुष्पलाल भन्नुहुन्छ– “पार्टीको महाधिवेशनमा हाम्रो कडा प्रतिरोधका बावजुद प्रजातन्त्र नामक संशोधनवादी कार्यक्रम पास भएको हो ।” (पुष्पलाल छानिएका रचना, भाग–३ पृ.२०३, पुष्पलाल स्मृति प्रतिष्ठान काठमाडौं) ।

तेस्रो महाधिवेशन पश्चात् पार्टीमा दुईलाईन संघर्ष तीब्र बन्दै गयो । त्यस स्थितिमा आफ्नो “मूल बाटो” शीर्षक प्रस्तावमा क। पुष्पलाल भन्नुहुन्छ– “संसदीय प्रजातान्त्रिक व्यवस्था भन्ने बित्तिकै पुँजीवादी प्रजातन्त्र भन्नु एक गलत समझदारी हो, संसदीय प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र अथवा राष्ट्रिय प्रजातन्त्र अथवा जनवादी प्रजातन्त्र दुवै हुन सक्छ । निश्चय पनि ठाउँ–ठाउँमा आफ्नो आर्थिक स्थितिले गर्दा देशको पुँजीपति वर्गले संसदमाथि कब्जा गरी यसलाई आफ्नो स्वार्थ साधन गर्ने यन्त्र बनाउन समर्थ भएको छ ।

यस्तो प्रजातन्त्रको चरित्र पुँजीवादी जनतन्त्र नै हुन्छ, तर यदि कम्युनिस्ट पार्टीको नेतृत्वमा जनतालाई व्यापक रुपमा संगठित गरी संसदमा तमाम क्रान्तिकारी वर्गहरुको बहुमत हुन्छ भने, जनताको क्रान्तिकारी तागतलाई आधार बनाएर यसै संसदलाई पुँजीपतिवर्गको स्वार्थ साधन गर्ने यन्त्र बन्न दिनुको सट्टा तमाम जनताको स्वार्थ साधन गर्ने यन्त्रमा परिणत गर्न सकिन्छ र त्यसबेला संसदको वर्गस्वरुप पुँजीवादी वर्गस्वरुप नभई जनताको स्वार्थको प्रतिनिधित्व गर्ने जनवादी वर्गस्वरुप हुनेछ ।” (पष्पलाल छानिएका रचनाहरु भाग–२, पृ ५५/५६) ।

साथै राष्ट्रिय प्रजातन्त्र र जनताको जनवाद वा नयाँ जनवादका बीचको अन्तरबारे पनि वहाँ अस्पष्ट देखिनुहुन्छ । सारतः वहाँका यी विचारहरु संसदवाद तथा शान्तिपूर्ण संक्रमणको सिद्धान्तद्वारा प्रभावित देखिन्छ । यहाँ केवल संसदमा मात्र जोड दिइएको छ र राज्यसत्ताको वर्गीय स्वरुपमाथि आवश्यक ध्यान दिएको छैन । यसलाई पुष्पलालमा विधमान गंभीर प्रकृतिको गल्ती तथा कमजोरीको रुपमा ग्रहण गर्नुपर्दछ ।

नयाँ जनवादी कार्यक्रमको पाण्डुलिपि

कमरेड पुष्लालद्वारा लिखित नयाँ जनवादसम्बन्धी प्रस्तावको पाण्डुलिपि फुलस्केप साइजको ठूलो कापीमा १३३ पृष्ठको रहेको छ । यसको अन्त्यमा १०–९–१९६६ गोरखपुर लेखिएको छ । यहाँ विभिन्न ठाउँहरुको केरकार पनि गरिएको छ । त्यति लामो समयदेखि यो पाण्डुलिपि सुरक्षित राखिएकोमा निकै खुशी लागेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आधुनिक संशोधनवादको बिगबिगी भएको र रूसी कम्युनिष्ट पार्टीमा ख्रु्श्चोभले कब्जा जमाएको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव परेको थियो । तेस्रो महाधिवेशनमा पारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र सर्वसत्ता सम्पन्न सार्वभौम संसदको कार्यनीति त्यसै आधुनिक संशोधनवादको प्रभावको परिणाम थियो । त्यस स्थितिमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको विरोधमा विचारधारात्मक संघर्ष चलाउँदै नयाँ जनवादी कार्यक्रमलाई अंगीकार गर्ने एक महत्वपूर्ण ऐतिहासिक कार्यक्रम कमरेड पुष्पलालको निकै ठूलो योगदान रहेको छ ।

यसलाई हामीले गम्भीरतापूर्वक आत्मसाथ गर्न जरुरी छ । कमरेड पुष्पलालद्वारा तयार पारिएको यो कार्यक्रम अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान नेता माओ त्से तुङ्गको “नयाँ जनवादबारे” शिर्षक लेखमा आधारित छ । क।पुष्पलालले माओको नयाँ जनवादको सिद्घान्तलाई राम्रोसँग आत्मसाथ गरी त्यसलाई नेपाली सन्दर्भसित जोड्दै नेपाली विशेषता अनुरुप ढालेर प्रस्तुत गर्नुभएको छ । सो पाण्डुलिपिमा कमरेड पुष्पलाल भन्नुहुन्छ– “आजको हाम्रो क्रान्तिको राष्ट्रिय युग हो भन्ने कुरामाथि भैसकेको छ । मजदुर वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सामन्ती व्यवस्थामा साम्राज्यवादी तथा विदेशी पुँजीवादीहरुको प्रभुत्वको विरोधमा समस्त तत्वहरुको एक जनवादी मोर्चाको जनवादी राज्यसत्ता गठन गरी नयाँ जनवादी क्रान्ति पुरा गरी समाजवादको पृष्ठभूमि तयार गर्ने जनवादी सरकारको काम हुनेछ ।” (पाण्डुलिपि, पृ.३७) । यहाँ मजदुर वर्गको नेतृत्वमा स्थापित हुने जनवादी राज्यसत्ता र नयाँ जनवादी कार्यक्रम, नीति तथा उदेश्यबारे संक्षिप्तमा राम्रो प्रकाश पारिएको छ । क्रान्तिको लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता पर्दछ ।

त्यसबारे कमरेड पुष्पलाल भन्नुहुन्छ– “राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य कम्युनिष्ट आन्दोलनमा देखापरेका संशोधनवाद तथा अवसरवादको विरोधको संघर्षको दौरानमा नै माक्र्सवाद लेनिनवादको शुद्धताको रक्षा र समृद्धि गरिन सकिने छ । संशोधनवादबाट मुक्त, सुदृढ र प्रौढ कम्युनिष्ट पार्टी नै नयाँ जनवादी क्रान्तिको विजयको पहिलो सर्त हो ।” (उक्त पृ।१०५) यहाँ क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महत्वमाथि विशेष जोड दिइएको छ । त्यसैगरि, क्रान्तिका लागि क्रान्तिकारी संयुक्त मोर्चाको आवश्यकता पर्दछ । क।पुष्पलाल भन्नुहुन्छ– “नयाँ जनवादी कार्यक्रमको विजयको निम्ति सम्पूर्ण क्रान्तिकारी शक्तिहरुको नयाँ जनवादी मोर्चा गठन गर्नु आवश्यक छ । यस्तो मोर्चाको अभावमा जनवादी क्रान्तिको विजयको कल्पना पनि गर्न सक्दैनौं ।” (उक्त पृ.१०५) यहाँ क्रान्तिका लागि क्रान्तिकारी संयुक्त मोर्चाको महत्वबारे उल्लेख गरिएको छ ।

कमरेड पुष्पलालद्वारा लिखित पाण्डुलिपिमा नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा क्रान्तिका लागि नयाँ जनवादी कार्यक्रमको ऐतिहासिक महत्व, राज्यसत्ता तथा शासनसत्ताको प्रश्न, क्रान्तिका दुश्मन तथा मित्र शक्तिहरुको विश्लेषण र नयाँ जनवादको राजनीतिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रम एवम् आम नीतिबारे विस्तृत रुपमा प्रकाश पारिएको छ । नयाँ जनवादी क्रान्तिका लागि जनसेनाको पनि आवश्यकता पर्दछ । यसै गरि संघर्षको स्वरुपबारे पनि स्पष्ट हुन जरुरी हुन्छ । परन्तु, सो पाण्डुलिपिमा ती कुराको उल्लेख गरिएको छैन । यहाँ कानुनी र गैरकानुनी संघर्ष र संगठनका रुपहरुको प्रयोग गर्ने कुरासम्म बताइएको छ । यो प्रारम्भिक मस्यौदा भएकाले त्यसो हुन गएको हो भन्ने बुझिन्छ र रयस अभावलाई तेस्रो राष्ट्रिय सम्मेलनमा पारित “नयाँ जनवादी कार्यक्रम” मा पूर्ति गर्ने प्रयास गरेको देखिन्छ ।

सामन्ती र पँजीवादी तत्वहरुका बीच सम्झौता गराउन राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिक्रियावादी शक्तिहरुद्वारा प्रयास भइरहेको स्थितिमाथि जोड दिदैं प्रस्तावमा भनिएको छ–“यसरी दुई शक्तिहरुको बीचमा सम्झौता भएको खण्डमा स्थिति आजको भन्दा झन् खराव हुँदै जाने छ । यस खराव स्थितिलाई वचाउनका निम्ति हामीले एक न्युनतम कार्यक्रमको आधारमा संसदीय व्यवस्थाको पुनरगठनको कार्यक्रमलाई अपनाउनु पर्दछ । यो निश्चय हो कि यस खालको संसदीय व्यवस्थाले देशको आजको मौलिक समस्याको समाधान गर्न सक्दैन, तर स्थिति आजको भन्दा राम्रो छ ।” (उक्त, पृ.१११) । यहाँ संसदीय व्यवस्थाप्रतिको मोह र संसदवादी कमजोरी फेरि पनि उजागर भएको पाइन्छ ।

तेस्रो सम्मेलन र नयाँ जनवाद

पुष्पलाल समुहको तेस्रो सम्मेलन २०२५ जेष्ठ अर्थात् सन् १९६८ मई महिनामा सम्पन्न गरियो । यस सम्मेलनमा उक्त पाण्डुलिपिको प्रस्तावलाई परिमार्जित, थपघट तथा आवश्यक संशोधन गरि पारित गरिएको देखिन्छ । नेपाली जनवादी क्रान्तिको राजनीतिक कार्यक्रमका रुपमा “नयाँ जनवादी कार्यक्रम”पारित गरिएको छ । नेपाल जस्तो मुलुकमा दीर्घकालिन शसस्त्र संघर्ष सञ्चालन गर्नु पर्ने कुरा बताइएको छ । सो प्रस्तावमा भनिएको छ– “हामीले नेपालबाट सामन्तवाद र साम्राज्यवादलाई खतम गरि नयाँ जनवादी व्यवस्थाको स्थापना गर्ने कुरा उल्लेख गरेका छौं । यो हाम्रो लक्ष्य हो । दीर्घकालिन शसस्त्र किसान क्रान्तिको सञ्चालन बिना यस्तो व्यवस्थाको स्थापना हुन सक्दैन ।” (उक्त, भाग–१,पृ.२९९) क।पुष्पलालका यी विचारहरु वस्तुवादी तथा क्रान्तिकारी रहेका छन् ।

तेस्रो सम्मेलनमा पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद र माओविचारधारलाई लिइएको छ । यसबारे क।पुष्पलाल भन्नुहुन्छ–“पार्टीको तेस्रो ऐतिहासिक सम्मेलनले माक्र्सवाद–लेनिनवाद तथा माओविचारधाराको सैद्धान्तिक तथा राजनीतिक आधारमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने कुरामा विशेष रुपले जोड दिइएको छ ।” (नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, पृ.१३५, पुष्पलाल स्मृति प्रतिष्ठान, २०५३ आश्वीन) । यसरी तेस्रो सम्मेलनमा माक्र्सवाद–लेनिनवादका साथमा माओविचारधारालाई पथप्रदर्शक सिद्धान्तका रुपमा अंगीकार गर्नु निकै महत्वपूर्ण कुरा हो ।

सवल तथा दुर्बल पक्षबारे

क.पुष्पलालले ख्रुश्चोभी आधुनिक संशोधनवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै माओविचारधारालाई पथप्रर्दशक सिद्धान्तका रुपमा ग्रहण गर्नुभयो । वहाँले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको विरोधमा नयाँ जनवादी कार्यक्रम प्रस्तुत गर्नु भयो । त्यसैगरी वहाँ शान्तिपूर्ण संक्रमणको सिद्धान्तको विरोधमा दीर्घकालिन शसस्त्र संघर्षको बाटो अवलम्वन गर्ने कुरामा जोडदिनु भयो । वहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण व्याख्या तथा प्रचार प्रसार गर्नु भयो । वहाँले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका आधारमा “नेपमा मातृसतात्मक समाज”, “नेपालमा राजतन्त्रको उत्पति, विकास र भविश्य” “नेपाली जनआन्दोलनको एक समीक्षा” लगायतका लेखहरु लेखि नेपाली समाजको ऐतिहासिक भौतिकवादी विवेचना गर्ने प्रयास गर्नु भयो । यी कमरेड पुष्पलालमा पाइने सबल पक्ष हुन् ।

यसका साथै वहाँमा केहि गम्भीर प्रकृतिका कमी, कमजोरी तथा सिमा पनि रहेका छन् । वहाँले शसस्त्र संघर्ष जनसेना निर्माणका लागि आवश्यक तयारी गर्ने कार्यनीतिको प्रश्नमा आवश्यक ध्यानदिन सक्नु भएन । वहाँले नेपाली काँग्रेसलाई पुँजीपति वर्गको पार्टीमा रुपमा लिई वर्ग विश्लेषण गर्ने कमजोरी गर्नु भयो । संयुक्त मोर्चाको क्षेत्रमा वहाँले सामान्ती निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धको प्रश्नलाई मात्र केन्द्रमा राख्नु भयो र प्रतिक्रियावादी राज्यसत्ताका विरुद्धको संयुक्त मोर्चाको प्रश्नमा ध्यानदिन सक्नु भएन । वहाँमा केही संसदवादी, सुधारवादी र उदारवादी कमी कमजोरीहरु रहे । त्यसैगरी वहाँले पार्टीलाई एकताबद्ध तुल्याउने काममा पनि यथेष्ट ध्यानदिन सक्नु भएन । यी वहाँमा देखापर्ने दुर्बल पक्ष हुन । वहाँमा विद्यमान यसप्रकारका कमी कमजोरी तथा सीमाहरुलाई अतिरञ्जना गरी संकीर्णतावादी तथा छद्म संशोधनवादी कोणबाट गद्दार, दलाल तथा दक्षिणपंथी संशोधनवादी भन्ने जस्ता काम पनि थिए ।

त्यसबेलाको आन्दोलनको विकासको सापेक्षतामा वहाँमा यसप्रकारका कमी, कमजारी तथा सीमा रहेका थिए र तिनकै आधारमा वहाँमाथि त्यसप्रकारका आरोप लगाउनु गल्ती भएको थियो । यसमा हामी पनि आत्मालोचित भइसकेका छौ । नेकपा ९माओवादी० को दास्रो राष्ट्रिय सम्मेलनमा पारित प्रस्तावमा भनिएको छ– “अतः आजका कम्युनिस्ट क्रान्तिकारीहरुले क्षुद्र संसदीय स्वार्थका निमित्त वहाँको व्यक्तित्वलाई प्रयोग गर्ने तथा वहाँलाई दलाल, गद्दार, र दक्षिणपन्थी भन्दै बदनाम गर्ने भिन्न रुप र एउटै सारतत्वको संशोधनवादका विरुद्ध संघर्ष गर्दै कमरेड पुष्पलाल श्रेष्ठलाई सम्मान गर्न हिच्किचाउनु हुँदैन ।” ९नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्ताबेजहरु, पृ.१७७, २०६३ कार्तिक । यहीं नै कमरेड पुष्पलालबारे गरिएको सही मूल्याङ्कन हो । तेस्रो महाधिवेशन पश्चात् झण्डै अढाई दशकको अवधि नेपाली कम्यनिस्ट आन्दोलनको इतिहासमा विभाजनको अवधि रह्यो ।

यस अवधिमा खुश्चोभको आधुनिक संशोधनवाद तथ तुल्सीलालको राष्ट्रिय प्रजातन्त्रको विरोध र माओविचारधारा, नयाँ जनवाद तथा सशस्त्र संघर्षको पक्षमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउने सम्भावना थियो । २०२५ सालको तेस्रो सम्मेलन गरेर अगाडि बढेको पुष्पलाल समूह, २०२८ सालमा झापा विद्रोह गरि विकसित भएको माले समूह र २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न गर्दै विकसित भएको समूहकाबीच उक्त सैद्धान्तिक तथा राजनीतिक मान्यताप्रति एकरुपता पनि थियो । यसप्रकारको सुलौलो अवसर गुमाउने काममा नेपाली कम्युनिस्ट आन्दोलनका कतिपय नेताहरुमा विद्यमान संकीर्णतावादी, सुधारवादी र व्यक्तिवादी अह्म जस्ता गलत चिन्तन तथा प्रवृतिले काम गरेको देखिन्छ ।

उपसंहार

कमरेड पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको एक सस्थापक तथा अग्रज नेता हुनुहुन्छ । वहाँले नेपाली कम्युनिस्ट आन्दोलन र जनवादी क्रान्तिलाई अगाडि बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । बीचमा कतिपय अवस्थामा कैयौं सैद्धान्तिक तथा राजनीतिक विषयहरुमा अस्पष्टता, संसदवादी तथा सुधारवादी कमी कमजोरी रहेपनि प्रारम्भदेखि जीवनको अन्तिम अवधिसम्म वहाँ संशोधनवादको विराध र माक्र्सवादको पक्षमा अडिग रहनु भयो । वहाँले नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई अंगाल्दै आउनु भयो । परन्तु अन्ततः कमी तथा कमीजोरीका तुलनामा वहाँमा सबल पक्ष र योगदान नै धेरै माथि रहेका रहेका छन् । अतः हामीले कमरेड पुष्पलाललाई नेपाली कम्युनिस्ट आन्दोलनको एक अग्रज तथा सम्मानित नेताको रुपमा अङ्गीकार गर्नु पर्दछ । मुलबाटोबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!