धर्मबहादुर ओलीलाई कतारबाट ५३ हजार आर्थिक सहयोग

दोहा, कतार, साउन ५ । क्यान्सरबाट पीडित जनयुद्धका घाइते धर्मबहादुर ओलीको उपचारका लागि कतारबाट त्रिपन्न हजार सहयोग प्रदान भएको छ । प्रवासी नेपाली एकता मञ्च कतारमार्फत अमित गौतमको संयोजनमा प्राप्त सहयोग पठाइएको हो ।

कतारमा संकलन भएको कतारी रियल १ हजार सात सय सत्तरी ओलीको परिवारलाई पठाएको संयोजक गौतमले बताए । रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ७ फुक्रुटाकुरा निवासी धर्मबहादुर ओली जन्युद्धका लडाकु हुन् ।

दशवर्षे जनयुद्धमा जति लडाई तथा आक्रमणहरु भए अधिकांशमा उनी सहभागी थिए । धेरै लडाइहरुमा साधारण घाइते भएका ओली अर्घाखाँचीको एक आक्रमणमा खुट्टा तथा शरीरको अन्य अंगमामा गम्भिर चोटसहित बम बारुदका छर्राहरु लाग्न पुग्यो । बाहिरी अंगको चोट ठिक भएपनि शरिरमा रहेका बम बारुदका छर्राहरुले उनलाई सधैं दुःख दिइरह्यो । धेरै अस्पतालहरुमा उपचार गरेर पनि ठिक नभएपछि काठमाडौंको नर्भिक अस्पतालमा चेकअप गराउँदा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

शरीरको सम्वेदनशील अंग अण्डकोष र पेनिसमा क्यान्सर भएपछि उनको दुईवटा अपरेशन गर्दा समेत ठिक नभएपछि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा लगियो । त्यहाँ पनि पुनः एकवटा अपरेशन गरेर हाल ६ महिनाको लागि किमो चढाइरहेका छन् । घरको अवस्था साधारण भएका ओलीको उपचारमा अहिलेसम्म १७ लाख बढी खर्च भइसकेको परिवारले जनाएको छ ।

उपचारमा घरको जायजेथा सकिएर गाउँघरमा महँगो व्याजमा लिएको ओलीकी श्रीमती आशाकुमारी रोका ओलीले बताइन् । देश र जनताको मुक्तिका लागि थुप्रै लडाइ गरेका ओली अहिले आफैं जीवन मरणको दोसाँधमा अस्पतालको शैय्यामा रहेका छन् । आर्थिक अभावले छटपटिएका ओली र उनको परिवारले देश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगको लागी अनुरोध गरेका छन् । सहयोग गर्न चाहने नेपालीले बिरामी धर्मबहादुर ओलीकी श्रीमती आशाकुमारी रोका ओलीको मोबाइल नं ९८४७९९९४८६ र ९८४७९८२३१७ मा सम्पर्क गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!