खुट्टाले लेखेर भविष्य खोज्दै खाम्चा

पाल्पा, साउन ५ । बोल्न नसक्ने, दुवै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् ।

पाल्पाको रामपुर नगरपालिका–१ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस (कमलपित्त रोगले ग्रसित खाम्चा औषधि) उपचारको अभावमा सधैँभरी अर्काको साहारामा बाँच्नुपरेको छ ।

बालहित मावि आनन्दी भन्ज्याङमा पढ्ने खाम्चा अरु विद्यार्थीसँगै कक्षा कोठामा बसेर पढ्ने गर्छन् । कक्षा १० मा चौथो श्रेणीमा रहेका जिज्ञासु स्वभावका खाम्चाले केही नयाँ कुरा सुन्ने र देख्ने वित्तिकै इशारा गरेर जवाफ सोध्छन् । कक्षा ६ देखि यस विद्यालयमा अध्ययनरत खाम्चाको पढाइ र शैक्षिक सामग्री सबै खर्चको व्यवस्थापन विद्यालयले मिलाउँदै आएको छ । गाउँदेखि करीब डेढ किलोमिटरको बाटो हिँडेर खाम्चा नियमित रुपमा समयमा नै विद्यालय जाने र घर फर्कने गरेको प्रधानाध्यापक नवल सिं विरकट्टा बताउँछन् ।

दाँहिने खुट्टाको साहाराले कक्षा ९ सम्म ट्युसनबिना नै राम्रो श्रेणीमा उत्तीर्ण गरेका खाम्चालाई पढेर समाजमा नयाँ कार्य गर्ने चाहना छ । खाम्चाले कसैले केही सोध्यो भने खुट्टाले लेखेर उत्तर दिने गर्छन्। खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना उनको छ । गृहकार्य सकिएपछि फुर्सदको समय घरमै बसेर चित्र कोर्ने, विभिन्न पुस्तक पढ्ने, लेख्ने गरेर समय बिताउने गर्छन्, उनी ।

मानबहादुर खाम्चाका तीन छोरा एक छोरीमध्ये माइलो सन्तानका रुपमा रहेका यामको शारीरिक अवस्थाले शुरुमा उनी चिन्तित थिए । अहिले छोराको पढाइप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी छन् । “शुरुमा छोरा अपाङ्ग बन्यो भनेर दुःखी भए, अहिले छोराले राम्रै गरी पढेर कक्षा १० मा पुगेको छ, अरु विद्यार्थी सरह नै एउटै कोठामा बसेर पढ्दा पनि पढाइमा अग्रपङ्क्तिमा आउँदा खुशी लाग्छ” उनले भने ।

आफूले गर्न सक्ने र मिल्ने जति काम उनी अरुलाई गर्न दिँदैनन्, यो उनको सानैदेखिको बानी रहेको आमा योगमाया खाम्चा बताउँछन् । विवेक र बुद्धिले काम गर्ने यामले आफ्ना सामान, किताब कापी, झोला, लुगा सधैँ जतन गरेर राख्ने, दुई खुट्टाको सहायताले लेखपढ गर्ने, खाना खाने आफै गर्ने गरेको आमा योगमायाको भनाइ छ । जन्मदै शारीरिक रुपमा कमजोर रहेका याम आठ वर्षपछि विस्तारै हिँडडुल गर्नसक्ने भए । परिवारले १२ वर्षको उमेरमा गाउँकै वालज्योति प्राविमा कक्षा १ मा भर्ना गरिदिए । अक्षर चिन्न र लेख्न थालेपछि नियमित रुपमा साथीहरुसँग विद्यालय जान थालेका हुन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!