मनछुने बेरिस्टोको क्रिकेट संघर्ष, ऋणमा डुबेपछि बुबाद्वारा आत्महत्या

काठमाडौं । आयोजक इंग्ल्यान्ड १२औँ एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्न संघर्षरत थियो । राउन्डरोबिन लिगको आफ्नो अन्तिम खेलमा न्यूजिल्यान्डविरुद्ध जोनी बेरिस्टोले शतकीय इनिङ खेले । उनकै शतकीय इनिङमा इंग्ल्यान्डले विश्वकपको सेमिफाइनल स्थान पक्का ग-यो । विश्वकपमा सानदार प्रदर्शन गरेका बेरिस्टोको करिअर संघर्षपूर्ण छ । क्रिकेटमा उनले जति सफलता पाएका छन्, त्यतिकै कष्टकर परिस्थितिको सामना पारिवारिक जीवनमा गरेका छन् ।

आठ वर्षको उमेरमा बेरिस्टोले आफ्ना बुबालाई गुमाउन पुगे । बुबा गुमाउँदाको समयमै उनकी आमा जानेटलाई क्यान्सर लाग्यो । यी मर्माहत घटना बिर्संदै बेरिस्टोले मुटुलाई चट्टानझैँ बलियो पारे । हालै बेरिस्टोले दिएको एक अन्तर्वार्तामा जीवनको दुखद बाल्यकाल कहिले बिर्सन नसक्ने बताएका छन् । ‘म सानैदेखि मुस्किलको सामना गरेर आएको व्यक्ति हुँ, त्यही अप्ठ्यारो समयमा हाम्रो परिवार मजबुतका साथ अगाडि बढ्यो,’ बेरिस्टोले भने । बेरिस्टोको परिवारमा आमा, बहिनी र भाइ छन् । बाल्यकालमा साथीहरूसँग खेल्ने र हाँस्ने समयमा उनी पारिवारिक संकटको सामना गर्न बाध्य भए ।

ऋणमा डुबेपछि बुबाद्वारा आत्महत्या
कुरो सन् १९९८ तिरको हो, बेरिस्टोका बुबाले सुखी जीवनको सपना बोक्दै ऋण लिए । दिनप्रतिदिन ऋण बढ्दै गयो । एक समय यस्तो आयो, बेरिस्टोका बुबाले ऋण तिर्न सक्ने अवस्थै रहेन । बुबाले सजिलो बाटो रोजे, आत्महत्या । बेरिस्टो आठ वर्षको मात्र हुँदा उनका बुबाले आत्महत्या गरे । बुबाले किन आत्महत्या गरे भन्ने कलिला बेरिस्टोलाई थाहै थिएन । पछि मात्र उनले कारण थाहा पाए । घरकै मूलीको अस्वाभाविक मृत्युले बेरिस्टोको परिवारमा झनै आर्थिक संकट आइपर्यो  । ‘मैले बुबाको मृत्युको कारण अलि पछि मात्र बुझेँ । जतिवेला थाहा पाएँ, मैले आफैँमा केही गर्नुपर्छ भन्ने संकल्प गरेँ,’ बेरिस्टो भन्छन् ।

याे पनि पढ्नुस  धोनी क्रिकेट छोडेर लागेकै हुन् त राजनीतिमा? यस्तो रहेछ कारण

बुबाको आत्महत्यापछि बेरिस्टोले आफूलाई दरिलो बनाएको र आत्मविश्वासी पारेको अन्तर्वार्तामा बताएका छन् । तर, बेरिस्टोको परिवारलाई त्यसअघि नै अर्को विपत्ले घेरिरहेको थियो । त्यो थियो, उनकी आमालाई लागेको क्यान्सर । बेरिस्टोले आमालाई लागेको रोगबारे बुझेका थिए । बेरिस्टो भन्छन्, ‘मलाई थाहा थियो, आमालाई क्यान्सर रोग लागेको थियो । आमालाई दिएको केमोथेरापीका कारण उनका सबै कपाल झरिसकेका थिए ।’

आमाको पीडामा टोलाइ मात्र रहन्थेँ
बेरिस्टोले अन्तर्वार्ताका क्रममा आमाको पीडा एकदम नजिकबाट नियालेको बताएका छन् । ‘आमाको पीडालाई मैले नजिकबाट बुझेँ । त्यसवेला आमाको दुखाइ र छटपटाहटले मलाईजति पीडा अरूलाई हुँदैनथ्यो । सानै उमेरमा आमाको त्यो पीडाले मेरो मनलाई थप कोमल र भावुक बनायो,’ उनी थप्छन्, ‘आमाका अगाडि निन्याउरो अनुहार बनाएर उभिँदा दुखाइको पीडाभन्दा बढी आमालाई हाम्रो अनुहारले सताउँथ्यो ।’ बेरिस्टो आमाले पीडा कसरी सहनुभयो भन्ने आश्चर्य प्रकट गर्छन् । कठिन परिस्थितिमा पनि आमाले परिवारलाई एक बनाएको उनले बताए । ‘पीडाबीच आमाले हामीलाई कसरी सम्हाल्नुभयो र कसरी हामीसँग रहनुभयो भनेर आमाका अगाडि टोलाएर उभिन्थ्यौँ,’ उनी भन्छन्, ‘त्यो समय न आमासँग जवाफ हुन्थो, न हामीसँग विकल्प नै । हामी केवल आँसु मात्र बगाइरहन्थ्यौँ ।’

याे पनि पढ्नुस  कस्तो हो भारतीय क्रिकेट टिममाथि वेस्ट इन्डिजमा आक्रमणको धम्की?

आमाको आत्मविश्वास
आमाको आत्मविश्वासका अगाडि अहिले पनि बेरिस्टो नतमस्तक छन् । उनी भन्छन्, ‘बुबाको मृत्युको अर्को दिन आमाको जन्मदिन थियो, तर आमाले हामीलाई सम्हाल्नुभयो । त्यो निकै अद्भुत क्षण थियो । बुबाको निधनको अर्को दिन नै आमाले हामीलाई स्कुल पठाउनुभयो ।’ आमाले दुःखद क्षणमा बोलेका हरेक वाक्य अहिले पनि बेरिस्टोको दिमागमा ताजै छन् । आमाले भनेको त्यही एक शब्दले नै बेरिस्टोको क्रिकेट जीवनलाई संयमित बनाइरहेको छ । बेरिस्टो भन्छन्, ‘आमाले हामीलाई भन्नुहुन्थ्यो, जस्तो अवस्थामा पनि आफूलाई सम्हालेर अघि बढ्नुपर्छ । मुस्किल समयको सामना गर्नु भनेको जीवनमा बलियो बन्नु हो ।’

विपत् सँगसँगै खेलजीवन
बेरिस्टोको जीवनमा जतिवेला एकपछि अर्को गर्दै विपत् आए, त्यसअघि नै उनले ब्याट समाइसकेका थिए । उनलाई बुबाको औँला समाएर मैदान पुगेको स्मरण छ । बेरिस्टोका बुबाले पनि क्रिकेट खेलेका थिए । बुबाकै पदचिह्न पछ्याएर अघि बढेका बेरिस्टोले आफ्नो जीवनका नबिर्सिने क्षण बिताइसकेका छन् । उनी भन्छन्, ‘मैले जीवनमा खुसीभन्दा धेरै आँसु बगाएको छु । तर, जसरी अघि बढ्ने प्रण गरेको छु, त्यसले मलाई कहिल्यै कमजोर हुन दिँदैन ।’ उनको बुबाले क्रिकेटका सुरुवाती दिनमा निभाएको भूमिका सम्झँदा समकालीन क्रिकेटरहरू भावविह्वल हुन्छन् ।

याे पनि पढ्नुस  कस्तो हो भारतीय क्रिकेट टिममाथि वेस्ट इन्डिजमा आक्रमणको धम्की?

२०१२ मा डेब्यु
बेरिस्टोले इंग्ल्यान्डबाट २०१२ मा वेस्टइन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । त्यसपछि उनले करिअरमा पहिलो शतक लगाउन ३६ इनिङ खेल्नुपर्यो । दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको टेस्टमा उनले शतक प्रहार गरे । त्यसवेला आफ्नो बुबालाई सम्झिएर उनी लामो समय मैदानमा घोत्लिएका थिए । शतक पनि उनले बुबालाई नै समर्पित गरे । उनका बुबा डेबिड बेरिस्टोले योर्कसायर र इंग्ल्यान्डका लागि विकेटकिपिङ गरेका थिए । त्यसो त उनका बुबा बहुप्रतिभाशाली थिए । उनले आफ्नो घरेलु सिटी ब्राडफोर्डका लागि फुटबलसमेत खेलेका थिए । नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!