वार्ताबारे विप्लवसँग मेरो संवाद

नरेन्द्रजंग पिटर । युद्ध हुँदाहुँदै वार्ता र वार्ता हुँदाहुँदै युद्धको घनीभूत तयारी चलिरहन्छन् । कलमकार नेकपा माओवादी र सत्ताबीच भएका दुई वार्तामा प्रत्यक्ष वा परोक्ष सहभागी अनुभववादी हुनुको नाताले यी टिप्पणी लेख्दै छ ।

सरकारीपक्षले वार्तामा जाँदा स्पष्ट पार्नुपर्ने विषय :
१) विप्लव समूह राजनीतिक पार्टी हो कि आपराधिक ? यदि राजनीतिक पार्टी हो भने ऊसँग वार्ता, सहमति हुन सक्छ । हुनैपर्छ । यदि सोच र मूल्यांकनमा ऊ अपराधिक समूह हो भने संविधान, कानुन, प्रचलित व्यवस्थाअनुसार उपचार गर्नुपर्छ । मैले यो कुरा गृहमन्त्रीको सभाकक्षमा प्रमुख सल्लाहकार सूर्य सुवेदी पथिक र इन्द्रजित राईलाई साक्षी राखेर रामबहादुर थापालाई भनेको हुँ ।

२) सरप्राइज पोलिटिक्स सिके राउत प्रकरणमा त हुन सक्ला तर विप्लव नेकपामा भने हुने सम्भावना देख्दिनँ । सिके प्रसंगमा मधेशवादी नेतृत्वकोे नैतिक हतियार थुत्ने उद्देश्य थियो । डा.राउतसँग गरिएका सम्झौता राज्यले पालनै गर्न नसक्ने गम्भीर त्रुटि थिए । एकातर्फ न्यायालयलाई अप्रत्यक्ष ‘हुकुमी आदेश’ दिइएको थियो भने अर्कातर्फ सार्वभौम राज्यले गर्नै नसक्ने सहमति भएका थिए । विप्लव नेकपासँग यस्तो हुने लक्षण म देख्दिनँ । ट्र्याक टु डिप्लोमेसीको नाडी छाम्न मिडियावाजी त हुन सक्लान् तर गम्भीर अभ्यास हो भने यस्ता प्रचारवाजीले परिणाम निकाल्नुभन्दा घाटा मात्र पुग्छ ।

डिप्लोमेटिक मुभ अत्यन्तै गोपनीय हुन्छ । अंशमा टेकेर समग्रमा हमला गर्ने ‘प्रयोगशाला’ एउटा मनोयुद्धको हिस्सा थियो । चुनावको पूर्वसन्ध्यामा बजारमा पुस्तक आउनु संयोगमात्र हुँदै होइन । समयको चयनले उद्देश्य देखाउँथ्यो । यसैको विमोचन अध्ययनबेगर प्रचण्डले नै गरे । नेताहरू पढ्दैनन्, सहयोगी र सल्लाहकार ‘मूर्खहरूको’ बगालका आग्रह टार्न नसकेर भूमिका लेख्छन्, विमोचन गरेर त्यस्ता किताबलाई आधिकारिकता दिन्छन् ।

३) वार्ताको प्रयास जसले गरे पनि हुन्छ, तर विश्वास र सुरक्षाको प्रत्याभूतिसहित सरकार र सत्ताधारी पार्टी फरक हुन् । गृहसचिव प्रेमकुमार राई र सरकारी पार्टीका महासचिवको पहल सराहनीय छ– अझ बाजुरेली सांसद कर्ण थापाले एचपी हिमालीलाई जनयुद्धकालमा ठूलो गुन लगाएकै हुन् । वार्ताकारलाई पिँजडामा राखेर सकारात्मक परिणाम निकाल्ने प्रयासले भय र दबाब त पैदा गर्ला तर त्यो परिणाममुखी भने हुन सक्दैन । विद्रोहीपक्षका सुप्रिमो विप्लव मात्रै हुन्, अन्य सदस्यले साक्षी किनारामा सदरको हैसियत राख्छन् । एकातर्फ कार्यकर्ताको हत्या र सामान्य कार्यकर्ताको गिरफ्तारी अर्काेतर्फ वार्ताको तयारी ! कतै यो दुलाबाट सर्प निकाल्ने एम्बुस त हैन भन्ने आशंका पैदा हुन्छ ।

४) भोजपुर र सर्लाहीमा ३ वटा इन्काउण्टर भए । भोजपुरमा निरकुमार राई हत्कडीमै मारिए । भोजपुरमा अनौपचारिक पहिरनका पुलिस मारिएको यथोचित जाँच निष्पक्ष संस्थाबाट हुन आवश्यक छ ।

५) आधुनिक सभ्य समाजमा आस्था जोसुकैले जेसुकै राख्न र सपना देख्न पाउँछ । आस्थाले तत्कालीन संविधान र व्यवस्था खलल भए त्यसको रक्षा सरकारले र यथोचित विवेचन न्यायालयले गर्छ । के आस्था राखेकै भरमा नागरिकमाथि दण्ड हुनुपर्छ ? अदालतको आदेश स्वयं सरकार मान्दैन भने अवस्था के होला ? बूढी मरी भन्दा पनि काल पल्केको कुरा नागरिक समाज र सचेत नागरिकले बुझ्नुपर्ने हो ।

प्रश्न विप्लवजीहरूप्रति पनि:
१) के यही राज्य संरचनाबाट वार्तामार्फत तपाइहरूले उठाउनुभएका माग र आन्दोलन पूरा हुन्छन् ? म जनयुद्धको ज्वालामुखी क्षेत्र घुम्दै छु । हिजोका सेल्टर र आधारभूत जनता भन्दै छन्, पुच्छर लुकाउनै थियो भने भुक्ने किन ?

२) यस संवेदनशील भूगोलको विद्रोहलाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले कसरी बुझेको छ ?
३) सत्ता साझेदारी आन्दोलनको लक्ष्य कता केन्द्रित छ ?
४) कतै यो सहादत र सपनीको चिहानमा अर्को सत्तायात्रा त हैन ?

५) हिजोको आन्दोलनको धोकाका कारण पैदा भएका घृणा, आग्रह, बदला, तीव्र आकांक्षा, क्रान्तिका क्षतिपूर्ति विद्रोहका शक्ति त बन्दै छैनन् ?

६) विद्रोहको जनाधार हुन आवश्यक छ । आधार के ? क्रान्तिको अग्रदस्ता को ? तपाईंले गरेको जनयुद्ध हो या जनविद्रोह, या घुमन्ते’ विद्रोह ? आक्रमणको निशाना के र को हो ?

७) वार्ताबाट निकाल्न चाहेको परिणाम के हो ?
८) क्रान्ति, विद्रोह र आतंकवादबीच के फरक हुन्छ ?
९) म उज्यालोको प्रशंसक हुँ ।

महत्वपूर्ण विद्रोही नेतालाई हालै टेलिफोनमा भनेको थिएँ तपाईंहरूको सबभन्दा ठूलो कार्यकारी दुश्मन, टेलिफोन, फेसबुक र अन्य सामाजिक सञ्जाल हुन् । सबैका टेलिफोन ट्र्याकमा छन् । परिवार भेट एम्बुस हो । अर्थोपार्जनमा लागेका तपाईंहरूकै कार्यकर्ता सत्ताका असल सहयोगी छन् । प्रकाण्ड र सुदर्शनको घटना पर्याप्त छन् । पुरानै तरिकाले नयाँ युद्ध हुँदैन । क्रान्ति, युद्ध र आन्दोलनको नयाँ तरिका अपनाउनुस् । सत्ता फासिवादी अभ्यासमा छ । समय, नीति, कार्यनीति पहिल्याउनुस् । जनविश्वास जित्नुस् । संवेदनशील भूगोलको मर्मसँग आफ्ना अभियान जोड्नुस् । मित्र खोज्नुस्, निकास खोज्नुस् । जनआस्था साप्ताहिकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!