ठाउँ–ठाउँमा पहिरो, तीन राजमार्ग सातादेखि ठप्प

विराटनगर, साउन ४ । पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोसी र मेची राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेको छ । सिद्धिचरण राजमार्गको बेतेनी–घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइनमेन्ट’ नै परिवर्तन गर्नुपर्ने अवस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ । पूरै सडक पहिरोले बगाएपछि नयाँ ट्र्याक खोलेर सञ्चालन गर्ने तयारी भइरहेको छ । यो राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङ जिल्लामा औषधि र खाद्यान्न अभाव हुन थालेको छ ।

पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गकोपाङ्ग्रेभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन । यसबाट तीन जिल्ला प्रत्यक्ष प्रभावित छन् । पाँचथरको निबु खोलानजिकै पहिरो खसेपछि आउजाउ कठिन भएको हो । पहिरो पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग बनाउन थालिएको छ । कोसी राजमार्गको धरान–धनकुटा खण्डमा गएको पहिरो हटाउन ३ महिना लाग्ने भएको छ । असार अन्तिम साताको अविरल वर्षाका कारण यो खण्डको ५२ किलोमिटर सडकका दर्जनौं ठाउँ क्षतिग्रस्त छ । पहिरो हटाउन समय लाग्ने भए पनि यो राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

ठाँटीभन्ज्याङ क्षेत्रमा पहिरोले सिद्धिचरण राजमार्ग पूरै बगाएकाले ‘एलाइनमेन्ट’ परिवर्तन गरेर ४० मिटरमाथि नयाँ ट्र्याक खोल्ने तयारी गरिएको छ । भइरहेको सडक पहिरोमा परेपछि ४० मिटरमाथिबाट झन्डै ५ सय मिटर लामो ट्र्याक खोल्नुपरेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!