माडीमा पहिलो ठूलो खानेपानी आयोजना निर्माण हुँदै

भरतपुर, साउन ४ । माडी नगरपालिकामा पहिलो ठूलो खानेपानी आयोजना निर्माण चरणमा रहेको छ । दुई हजार १०० घरधुरीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले माडीको गर्दीमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत १५ करोड रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन नं १ मकवानपुरले जनाएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशतमात्रै भौतिक प्रगति देखिएको छ । आर्थिक वर्ष २०७०र७१ मा निर्माण सुरू भएको यस आयोजना चालू आव २०७६/७७ भित्र सक्ने लक्ष्य रहेको डिभिजनका इन्जिनियर भरतप्रसाद पोखरेलले जानकारी दिए ।

खानेपानी सञ्चित गरेर राख्नका लागि साढे चार लाख लिटर क्षमताको ओभर हेड पानी ट्याङ्की निर्माण भइसकेको छ । पम्प हाउस निर्माण, पाइप खरिद, कम्पाउन्ड पर्खाल निर्माण र ट्रान्समिटर खरिद गरी विद्युतीकरणको काम सकिएको उनले बताए । आयोजना निर्माण सम्पन्न भएपछि स्थानीय गर्दी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई हस्तान्तरण गरिनेछ ।

यस आवमा खानेपानी पाइपलाइनको काम गरिने उपभोक्ता संस्थाका सचिव नारायणप्रसाद अधिकारीले बताए । पाइपलाइनका लागि खाल्डो खन्ने, पुर्ने र धारा जडान गर्ने काम जनसहभागितामा हुने अधिकारीको भनाइ छ । संस्थाले यही वर्ष सदस्यतासमेत वितरण गर्ने उनले बताए ।

माडी नगरपालिका वडा नं १ र २ लाई खानेपानी वितरण सकेपछि छिमेकी वडाका केही स्थानमा पनि वितरण गरिने उनले बताए । यस आयोजनाले २४सै घन्टा पानी वितरण गर्ने उनले जानकारी दिए ।

आयोजनामा दुईवटा बोरिङ राखिने भनिए पनि हाल एउटामात्रै राखेर यसै आवभित्र खानेपानी वितरण गर्ने योजना रहेको खानेपानी तथा सरसफाइ डिभिजनका इन्जिनियर भरतप्रसाद पोखरेलले जानकारी दिए । एउटा बोरिङले प्रतिसेकेन्ड २० देखि २५ लिटर पानी तान्न सक्ने उनको भनाइ छ ।यसबाट हाल माडी १ र २ का १५ सय घरधुरीलाई खानेपानी वितरण गरिन्छ । खानेपानी वितरण सुरू भएपछि अर्को बोरिङ थपिने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!