जाे टाट पल्टिँदा पनि हारेनन्, फेरि बने कराेडपति

दिनेश यादव/ कुनै एक समयमा चर्चित व्यापारी थिए, उनी । आफ्नै कम्पनी, आलिसान महल र महँगा गाडी पनि थिए उनीसँग । व्यापार राम्रै फस्टाएको थियो । आम्दानी बढेसँगै उनी विलासिता जीवनमा बिस्तारै अभ्यस्त भइसकेका थिए । तर, बजारमा एकाएक मन्दी छायो ।

 सन् २००८ को कुरो हो उनको कम्पनी घाटामा गयो । कम्पनी टाट पल्टिने स्थितिमै पुग्यो । कम्पनीलाई बचाउन उनले कुनै कसर बाँकी राखेनन् । आफूसँग भएका सबैढ जायजेथासमेत बेचे । तर, सफल हुन सकेनन् । उनका सबै सुखसुविधा तासको पत्ताझैं ढल्ने स्थिति आयो, सबै सुखसयल एकाएक खोसियो । उनी गरिब बन्न पुगे । सडकमै आउन बाध्य भए । यस्तो अवस्थामा उनी बेरोजगार भई फिरन्तेको जीवन बिताउन थालेका थिए । परिवार पाल्ने बाध्यता त छँदै थियो, आफूले आर्जन गरेको सबै सम्पत्ति गुमाएको चिन्ता पनि उनीसँग थियो । यी सबैबाट मुक्ति पाउन उनले अमेरिकास्थित एउटा कलेजमा सरसफाइको काम गर्न थाले । अर्थात् कलेजको पाले भएर काम सुरु गरे । ती संघर्षशील व्यक्ति तथा पूर्वव्यापारी हुन् अमेरिकी राज्य म्यासाच्युसेट्सका ५५ वर्षीय माइकल भाड्रयुएल ।  माइकलले अमेरिकाको चर्चित विश्वविद्यालयबाट ५४ वर्षमा कामसँगै अघिल्लो वर्ष स्नातक डिग्री हासिल गर्न भ्याए । 

आफ्नो परिश्रमले उनी त्यसमा सफल भएका हुन् । उनी जुन कलेजमा सरसफाइको काम गर्थे, त्यहीँको विद्यार्थी पनि बन्ने अवसर उनले पाए । रातभरि कलेजको सरसफाइ गर्थे अनि दिउँसोचाहिँ कक्षामा अन्य विद्यार्थीहरूसँगै बेन्चमा बस्थे । आज उनी सफल भएका छन् । उनको संघर्षका कथा धेरैलाई प्रेरणाको स्रोत बनेको छ । मानिसले केही गर्छु भनेर हिँडेपछि असम्भव भन्ने केही हुँदो रहेनछ भन्ने कुरा उनले प्रमाणित नै गरिछाडे ।

माइकलले म्याच्युसेट्सस्थित वसेस्टर पोलिटेक्निक इस्टिच्युट (डब्लूपीआई) मा आठ वर्षसम्म सरसफाइ कर्मचारीका रूपमा काम गरेका थिए । आफ्नो सबै कुरा खोसिएपछि आवश्यकता पूरा गर्न अत्यन्तै कम तलबमा भए पनि उनले त्यो काम रोजेका थिए । अन्य कर्मचारीको भन्दा उनको तलब आधा जति कम भए पनि उनी त्यो काम गर्न अग्रसर भएका थिए, अलिकति पनि हिच्किचाएनन् । कलेजको कार्पेटदेखि फर्ससम्म, ब्ल्याकबोर्डदेखि फोहरसम्म उनले उठाएका थिए । 

माइकल भन्छन्, ‘सन् २००८ मा बजारमा महामारीझैं फैलिएको मन्दीबाट धेरै कम्पनीहरू धराशायी भइरहेका थिए । मेरो कम्पनी पनि त्यसबाट बच्न सकेन ।’ उनको आफ्नै ‘प्लास्टरिङ कन्ट्रयाक्टर’ नामकको कम्पनी थियो । तर, उनको कम्पनी मन्दीले सिनित्तै निलेपछि उनी आफूलाई ‘असफल’ घोषित गर्ने अवस्थामा पुगेका थिए । सबै कुरा तहसनहस भएपछि दुई छाक टार्नकै लागि उनलाई समस्या भयो । त्यसपछि उनी नोकरीको खोजीमा लागे । यसका लागि धेरैको ढोका घच्घचाएका थिए ।

तर, कसैले पनि उनलाई पत्याएन । भनिन्छ, यो विश्वले असफल व्यक्तिको तुलनामा सफल व्यक्तिलाई बढी पत्याउँछ ।’ हो, उनी एकपटक असफल भइसकेकाले उनलाई पत्याउने कसले ? तर, हार मानेनन् माइकलले । जस्तोसुकै काम गर्न पनि उनले आफूलाई तयार पारे । त्यही क्रममा कलेजमा सफाइ कर्मचारीका लागि आवेदन दिएका थिए । तर, तलब कम भएकाले धेरैको आवेदन परेन । माइकल भने त्यो काम गर्न तयार भए । तलब कम भए पनि उनलाई केही सुविधा कलेजले प्रदान गरेको थियो । कलेजको पढाइ शुल्क उनलाई छुट गरिएको थियो । त्यसको फाइदा उनले उठाउने निधो गर्दै पढ्नका लागि सुर कसे । आफ्नो संघर्षकै बलमा ‘ए’ ग्रेडसहित कलेजबाट प्रमाणपत्र प्राप्त गरे । 

माइकल अगाडि भन्छन्, ‘सबै कुरा गुमाएको अवस्थामा पनि आफूमाथिको विश्वास गुमाउनु हुन्न । मैले त्यही गरें, सफल पनि भएँ । म प्रत्येक दिन केही राम्रो गर्ने र बन्ने प्रयास गरिरहें । धेरैपटक असफल पनि भएँ तर मैले कुनै पनि हालतमा पराजय स्वीकार गरिनँ । हुन त नयाँ नोकरी मेरा लागि गर्व गर्ने खालको थिएन तर पनि मैले त्यसलाई स्वीकारें । किनभने मेरो आफ्नो व्यापार चौपटै भएको अवस्था थियो । बाँकी पनि त केही थिएन । मैले सन्तान र परिवारको आँसुलाई सहन सकिनँ । कडा मेहनत गर्न अग्रसर भएँ । अब त म सफल भएको छु ।’ उनले संघर्षको बलमा पाएको डिग्री आफ्नो परिवारलाई समर्पण गरेका छन्, जसले कठोर समयमा उनलाई साथ र सहयोग गरेका थिए । 

डब्लूपीआईबाट सन् २०१६ मा मेकानिकल इन्जिनियरिङको डिग्री उनी हासिल गरेका हुन् । आफू भन्दा ३० वर्ष कनिष्ठ विद्यार्थीहरूका साथ कक्षामा उपस्थित हुँदाको क्षणहरूलाई सम्झँदै उनी भन्छन्, ‘म पाको भइसकेर पनि कक्षामा उपस्थिति हुँदाको मनोविज्ञानलाई सधैं बेवास्ता गर्दै लगन र परिश्रमका साथ पढ्न थालें । त्यसको फल पनि मैले पाएको छु ।’ हो पनि, उनले हरेक सेमिस्टरको परीक्षामा ३ दशमलव ६५ औसत ग्रेडका साथ उत्तीर्ण भएका थिए । तर, राम्रो अंक ल्याउँदा पनि उनले तत्कालै काम भने पाउन सकेनन् ।

त्यसपछि कलेजको त्यो कामलाई निरन्तरता दिने निर्णयमा उनी पुगेका थिए । उनको संघर्षका कथा जब सञ्चार माध्यमहरूमा हेडलाइन्सका रूपमा आउन थाल्यो, त्यसपछि उनलाई देशभरिबाट काम गर्नका लागि प्रस्ताव आएको हो । ‘द डेली हर्ड’ का अनुसार कन्नेक्टिकटस्थित प्रयाट एन्ट ह्वाइनी कम्पनीमा उनी जेट इन्जिनहरूको मर्मत गर्ने काम पाएका छन् । पछि उनले बोस्टनस्थित वेन्टवर्थ इन्टिच्युट अफ टेक्नोलजीबाट एरोनटिकल टेक्नोलजीबाट एसोसिएट डिग्री पनि हासिल गरे । उनको मोटारबोर्डमा ‘ओल्ड डग ह्याज न्यु जब’ भन्ने वाक्यांश सजाइएको सीएनएनले जनाएको छ । 

पूर्वव्यापारी र विलासिता जीवन बिताउने माइकलका संघर्षका कथालाई विषयवस्तु बनाएर ‘इन्डेपेन्डेन्ट डट को डट यूके’, बोस्टन ग्लोबलगायतका अखबार तथा अन्य अनलाइनमा अघिल्लो वर्ष समाचार सम्प्रेषण भएपछि भाइरल बनेको थियो । ‘नाइटली न्युज’ ले त माइकलबारे एक्सक्लुसिभ भिडियो नै सार्वजनिक गरेको थियो । फलस्वरूप उनी गत वर्षको जुलाई ११ देखि ‘प्रयाट एन्ड हवाइटनी’ कम्पनीमा कार्यरत छन् । 
(एजेन्सीहरू) कान्तिपुर दैनिकमा प्रकाशित समाचार 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!