नासाको अध्यक्षमा विनय अर्यालको उम्मेदवारी

डिसी, साउन ३ । अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका संचारकर्मी तथा व्यवसायी विनय अर्यालले नासाको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक, बुद्धिजीवी, विभिन्न पेशामा संलग्न व्यक्तिहरु, पूर्व अध्यक्षहरु, विभिन्न संघ–संस्थाहरुका पदाधिकारी, साथीभाईहरुको सरसल्लाह अनुसार अध्यक्ष पदमा उम्मेदारी दिएको बताए । सबैको सहमति र समर्थनमा उम्मेदवारी दर्ता गराएको भन्दै सबैलाई मतदान गर्न आग्रह समेत गरेका छन् । कुरा र गफमा हैन कर्ममा विश्वास गरौं, बोलेको कुरा गरेर देखाऊँ भन्ने नारासहित उनले उम्मेदवारी दिएका छन् ।

अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१९ देखि २०२१ को लागि अध्यक्षमा नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्यालले अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा सार्वजनिक गरेका हुन् । नासाका सशक्त सामाजिक अभियन्ताहरु क्रमस निर्मल पौडेल, विशाल भारती, नरेन्द्र बराल, अम्बिका लोहनी, कृष्ण श्रेष्ठ, प्रशिम पौडेल, जो अध्यक्ष पदका आकांक्षीहरु समेत रहेका थिए । उनीहरुसँग आपसी सरसल्लाह र निकास निकाली सबैसंग सहमति भई उनीहरुले आफूलाई समर्थन र सहयोग गर्ने भएकोले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

अध्यक्ष पदमा दर्ता गराएपछि उनले आफ्नो मुख्य कार्यसूची भनेको क्षमता भएका व्यक्तिहरुलाई अमेरिकाको मूलधारमा राजनीतिक, आर्थिक र सामाजिकरुपमा नेपालीलाई सहभागी गराउने उद्देश्यका साथ आफु अगाडि आएको उनले बताए । अर्यालका केही प्रतिबद्धताहरु र कार्यसूची यसप्रकार रहेका छन्–

१. आफू अमेरिकाको डेमोक्रेटिक पार्टीभित्र जिम्मेवारीका साथ रहेर आफुले सिकेको ज्ञान र अनुभवलाई नासा क्षेत्रभित्र रहेका नेपाली समुदायका संस्थाहरुसँग समन्वय गरी त्यो अनुभवलाई जानकारी दिई क्षमता भएका नेपालीलाई उत्प्रेरित गरी मूल प्रवाहमा ल्याउन कार्यकमहरु संचालन गर्ने ।

२. नेपाली समुदायलाई अमेरिकी समुदायसंग समन्वय गरी नेपालीलाई अगाडि बढाउन विविध समन्वयात्मक कार्यक्रमहरु संचालन गर्ने ।

३. विगतमा नासामा रहेर योगदान गरिसकेका सम्पूर्ण अग्रजहरुलाई सम्मान गर्दै नयाँ पिढीलाई उत्साहित बनार्इ नासा मार्फ़त सामाजिक कार्यमा सहभागी गराउन कार्यक्रमहरु संचालन गर्ने ।

४. हरेक नेपाली परिवारभित्र रहेको पहिलो पुस्ता र दोश्रो पुस्ताको बीचको अन्तरलार्इ कम गर्न समन्यव गरी पहिलो पुस्तालाई नेपालीको कला, संस्कृति र सामाजिक अभियानमा सहभागी गराउन विशेष कार्यक्रम नासा मार्फ़त अन्य नेपाली स्थानीय संस्था हरूसग समन्वय गरि संचालन गर्ने ।

५. नासा क्षेत्रका सबै सदस्यहरुलाई क्रियाशील बनाई सामाजिक कार्यमा सहभागी गराउन र नासालाई नेपाली समुदायभरिकै प्रभावकारी संस्थाको रुपमा स्थापित गराउन कार्यक्रम संचालन गर्ने ।

६. नासामार्फत नेपाली कला र संस्कृतिलाई अमेरिकामा जीवन्त राख्दै नेपालको विकास निर्माणमा समेत सहभागी हुन सबैलाई अभिप्रेरित गर्ने ।

७. हाल संचालनमा रहेको आकस्मिक कोषको निरन्तरता र वृद्धि गर्ने ।

अर्याल अमेरिकाको डेमोक्रेटिक पार्टीमा विधिवतरुपमा प्रवेश गरी निरन्तर काम गरिरहेका छन् । अर्याल, नर्थ क्यारोलाइनाको डेमोक्रेटिक पार्टीको गिलफर्ड काउन्टीका प्रिसिङ्गट् अध्यक्षमा निर्वाचित भई काम गरिरहेका छन् । नेपाल चितवन घर भई हाल नर्थ क्यारोलाइनामा रहेका अर्याल पहिले डिसी महानगर क्षेत्रमा बसोबास गर्थे । नेपालमा संचारकर्मी पेशामा रहेता पनि अमेरिकामा आएर पनि पत्रकारितालाई स्वयम् सेवकरुपमा समय खर्चिरहेका छन् । उनी व्यवसाय गर्न डिसीबाट नर्थ क्यारोलाइना पुगेका हुन् । डिसी क्षेत्रमा रहँदा एएनए, एएनएस, एनएससिआइ लगायत विभिन्न संघ– संस्थासँग आबद्ध पनि रहेका थिए । उनले आफ्ना मतदाता, शुभ चिन्तक, साथीभाई तथा सबै नेपाली समुदायप्रति पनि आफूलाई विजयी गराउन आग्रह यसै मार्फत गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!