एक सातादेखि हुलाकी सडक अवरुद्ध

सर्लाही, साउन ३ । एक सातादेखि अवरुद्ध रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक अझै सूचारु हुन सकेको छैन् ।

असार अन्तिम साता भएको भिषण वर्षापछि आएको बाढीले हुलाकी सडक दर्जनौं स्थानमा कटान गरेको छ । सडक अवरुद्ध हुँदा जिल्लाको दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिक सदरमुकाम मलङ्गवासम्म आवातजावत गर्न पाएका छैनन् । मलङ्गवादेखि पश्चिमतर्फ बलरासम्म र पूर्वतर्फ सङ्ग्रामपुरसम्म दर्जनौं ठाउँमा सडक बिग्रिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

कार्यालयका प्रमुख दरोगाप्रसादले अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानदेखि फूलपरासीबाट काम सुरु गरे पनि स्थानीय आएर पानी निकासको व्यवस्था गरेर मात्रै कामअघि बढाउन माग गरेकाले तत्कालका लागि काम रोकिएको बताए । सडक सूचारु गराउन हाम्रो पहल जारी छ, शुक्रबारदेखि काम सुरु गरेका थियौँ केही स्थानीय आएर रोके, कार्यालय प्रमुख प्रसादले भने, नीतिगत समस्याका कारण सडक मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्न समस्या भैरहेको छ ।

कार्यालय प्रमुख प्रसादका अनुसार बाढीका कारण हुलाकी सडकअन्तर्गत कौडेना, फूलपरासी र बलरामा बढी कटान भएको छ भने सामान्य किसिमको समस्या सबै ठाउँमा छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले सदरमुकाम मलङ्गवासँग दर्जनौं गाउँको सडक सम्वन्ध विच्छेद भएको जानकारी दिए ।

हुलाकी सडक अवरुद्ध रहेकाले शुक्रबार आयोजित जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आफू पूर्व–पश्चिम राजमार्गस्थित नयाँरोड निस्किएर मलङ्गवा पुगेको नगरप्रमुख सिंहले बताए । हुलाकी सडकबाट मलङ्गवा आउने स्थिति छैन्, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन म आफै हाइवे (पूर्व–पश्चिम राजमार्ग) निस्किएर आएँ, नगरप्रमुख सिंहले भने, हुलाकी सडक निकै जीर्ण अवस्थामा छ । सडक अवरुद्ध हुँदा नागरिकले दुःख पाएको नगरप्रमुख सिंहले बताए ।

दक्षिणी भेगका नागरिकको मुख्य मार्ग हुलाकी सडक अवरुद्ध हुँदा महत्वपूर्ण काम रहेका सर्वसाधारण घण्टौं पैद्ल हिँडेर सदरमुकाम आइरहेका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी बिरामी मारमा परेका छन् । त्यस भेगका नागरिक औषधोपचारका लागि भारतीय बजारतर्फ जान बाध्य भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर राउतले कटानका कारण हुलाकी सडकमा समस्या रहेको बताए । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख फिल्डमै (सडक बिग्रिएको स्थल) रहेका छन्, हुलाकी सडक आयोजना जनकपुरका डी (प्रमुख) भने महोत्तरीतर्फ सडक बनाउन लाग्नु भएकाले सर्लाहीमा इन्जिनियर पठाएको जानकारी गराएका छन्, प्रजिअ राउतले भन्नुभयो, सडक सूचारु निरन्तर सबै क्षेत्रमा पहल गरिरहेका छौँ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!