दलित भएकै कारण उपचार नपाएर मरेका थिए जनयुद्दका पहिलो शहीद रम्तेल

हामीलाई गोली लागेको खबर सुन्ने बितिकै मेरो बुबा आएर मलाई उपचारका लागि लिएर गए तर तिमीलाई उपचारका लागि लाने मान्छे खोज्न हम्मे पर्यो । तल्लो जातको भएकै कारणले तिमीलाई त्यही छोडेर गए ।

***

र्याक लडेको अवस्थामा थियो । किताबहरु छरप्रष्ट छरिएका थिए । खाटमा भएको एकसरो डस्ना सरेर तल भुईमा लत्रिएको थियो । यो दृश्य थियो, काभ्रेमा सेनाद्धारा रिना रसाइलीलाई बलात्कार पछिको हत्याको । अध्याँरोे कोठाको यही दृष्य त्यो बेलाको थियो ,जतिवेला तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध र राज्यपक्षले चालेको दमनले बेपत्ता पारिएका परिवार र उनीहरुको कोलाहलका तस्बिरहरु ।

बबरमहल स्थिति आर्ट ग्यालेरीको कोठाहरुमा यिनै तस्विरहरुलाई मेमोरी ट्रुथ एण्ड जस्टिसले भिजियल सहित प्रदर्शनमा उतारेका छन् । अक्टोबर २ देखि ६ सम्म सय जना भन्दा धेरैको जीवन कथा, श्रव्य, दृश्य, भिडियोहरु राखिएका छन् । यस्तै तस्बिरमध्ये तेस्रो कोठामा माओवादीका पहिलो जनयुद्धका सहिद दिलबहादुर रम्तेल र पहिलो जनयुद्धका घाइते राम भट्टको पत्र सहित एउटा राम्रो तस्बिरले धेरैको मन चिसो बनायो । राम भट्टको पत्रमा भनिएको छ, आफनो साथी दिलबहादुर रम्तेल दलित भएकै कारण उपचार नपाएर मृत्यु भएको कुरा पत्रमा खुलाएका छन् । भट्टले साथी दिलबहादुर रम्तेलको नाममा लेखेको पत्र यतिबेला आर्ट ग्यालरीमा छ । पत्रको पुर्ण पाठ ।

दिल बहादुर, तिमी मेरो मिल्ने साथी थिर्यौ । उमेर र कक्षा नमिले पनि हाम्रो दौतरी मोजाको फुटबल खेल्ने बेला देखि नै मिल्थ्र्यौ । गाउँ कै ब्रम्हचारिणी स्कुलबाट हाम्रो भेट भयो र बिछोड पनि । अझै मन कटक्क दुख्छ ,त्यो दिन सम्झँदा जुन दिन हामी अनाहकमै कक्षा छोडेर रमिता हेर्न गयौं । नजाने पनि कुनै कारण थिएन , अरु सबै साथीहरु पनि त गएकै थिए । पहिलो पल्ट गाउँमा पुलिसले मान्छे समातेको समाचार सुन्नमा आयो । अर्को विद्यायका वीरबहादुर प्रिन्सिपललाई समातेको हेर्न र हुल बाँधेर मान्छे गए छोइदिन्छन् भनेर हामी पनि गएका थियौं । कति अजिवको रमिता थियो त्यो पुलिसले मान्छे समातेको । सायद, समातिएका सर छोडेको भए ? पुलिसले अन्धाधुन्ध गोली नचलाएको भए  ? तिमीलाई र मलाइ गोली नलागेको भए रु आहा कति रमाइलो रमिता हुन्थ्यो त्यो क्षण ।

अझै सम्झन्छु दिल, जब जोडले कुनै कुरा पड्केको आवाज आयो, मेरो पेटमा केहि कुराले छेडिसकेको थियो । तिमी माथिल्लो गरामा लडिसकेका थियौ । हामीलाई गोली लागेको खबर सुन्ने बितिकै मेरो बुबा आएर मलाई उपचारका लागि लिएर गए तर तिमीलाई उपचारका लागि लाने मान्छे खोज्न हम्मे पर्यो । तल्लो जातको भएकै कारणले तिमीलाई त्यही छोडेर गए । कसैले छुन मानेनन् , तिम्रा बुबा आफनो मान्छे खोजेर आउँदा ढिला भैसकेको थियो ।

आजभोली समाजले “जिउँदो शहीद” भनेर गिज्याउँछन् । राम्रो ओखतीमुलो नपाएरै त मलाई सबैले गिज्याए जस्तो लाग्छ । नत्र त थोरै भए पनि सम्मान त मिल्थ्यो होला नि ! हगी ?

पछि सुन्छु, मलाइ त्यही रात काठमाडौं पुर्याए तर तिमीले बीच बाटोमै प्राण त्याग्यौं । मलाई अझै सम्म मन भित्र गड्ने कुरा नै यही बन्यो की मेरो बाल्यकालको मिल्ने साथी दलित कारण समयमा उपचार नपाएर मर्नु पर्यो । यो समाजले तिमीलाई जनयुद्धको प्रथम सहिद बनाइदियो र मलाई प्रथम घाइते

समाजले के भन्ला भन्ने प्रवाह नगरी हामी संगै खेल्थ्यौं, संगै खान्थ्यौं । मलाई अझै याद छ जब हामी खेलेर हाम्रो घर आएर पानी खान्थ्यौं आमाले तिमीलाई अम्खोरा छुन दिनुहुन्नथ्यो तर म तिमीलाई लुकाएर दिन्थे ।

किन तिम्रो घरको हालत अझै उस्तै छ जस्तो ५२ को आसपास थियो ?  किन अझै सेते काका बुढो ज्यान लिएर खेतमा जोतिनु हुन्छ ?

दिल, गोलीले जरजर बनाएको मेरो ज्यान अझै निको भइसकेको जस्तो लाग्दैन । बिसेक होला भन्ने पनि लाग्दैन । नियमति औषधि खाएर बसेकै छु । कहिलेकाहीँ त लाग्छ तिमीसंगै बर मरेर गएको भए यत्रो सास्ती त भोग्नु पर्दैनथ्यो । उहिले घाउबाट पीप निस्किँदा स्कुलमा सबैले “अब रामे मर्छ” भनेर जिस्क्यिाउँथे । आजभोली समाजले “जिउँदो शहीद” भनेर गिज्याउँछन् । राम्रो ओखतीमुलो नपाएरै त मलाई सबैले गिज्याए जस्तो लाग्छ । नत्र त थोरै भए पनि सम्मान त मिल्थ्यो होला नि ! हगी ?

देशमा यत्रो परिवर्तन ल्याउने क्रममा बलिदानी दिएको तिम्रो त्यागको कदर किन गरिदैन र? किन तिम्रो घरको हालत अझै उस्तै छ जस्तो ५२ को आसपास थियो ?  किन अझै सेते काका बुढो ज्यान लिएर खेतमा जोतिनु हुन्छ ? किन सरीमाया काकी अझै एक गाग्री पानी थाप्न उकालो ओरालो गर्नुहुन्छ ? यो सबै देख्दा तिमीलाई पनि समाजले गिज्याएजस्तो लाग्छ ।

त्यो १० वर्षको बीचमा हजारौं परिवारमा हाम्रो जस्तै पीडा थपियो । तिमी जस्ता हजारौं मरे, म जस्तो हजारौ घाइते बने । आज पनि छोरा गुमाएका हजारौ आमाबुबाहरु आफनो सन्तानलाई किन मारियो भन्ने जवाफ कुरिरहेका छन् । अझै कति कुर्नुपर्ने हो , त्यो थाहा छैन । तर तिम्रो सम्मानको लागि र हामीले पाउनुपर्ने न्यायको लागि भने सदैव लड्ने नै छु । निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिन्छु

बाँकी अर्को पत्रमा,
उही तिम्रो साथी
राम भट्ट

दलित अनलाईनबाट साभार गरिएको

कमेन्ट गर्नुहोस्

error: Content is protected !!