नेकपाको आगामी सचिवालय बैठक निर्णायक हुने संकेत

काठमाडौं, लामो समयदेखि अवरुद्ध रहेको पार्टी एकताको काम करिब टुंगो लागेको जानकारी शीर्ष नेताहरुले दिएपनि नेकपाको सचिवालय बैठक भने अझै बस्न सकेको छैन ।
यसअघिको म्याण्डेट अनुरुप पार्टी अध्यक्षद्वयले अनौपचारिकरुपमा पार्टीका अन्य शीर्ष नेताहरुसँग समेत छलफल गरेर विभाग र जिल्ला इन्चार्जहरुको टुंगो लगाएको समाचार सार्वजनिक भएको थियो ।

अषाढ मसान्तमा एकताका सबै काम टुंगो लाग्ने भनिए अनुरुप नै अषाढ ३१ गते दुबै अध्यक्षबीच लामो छलफल भएको थियो । तर यो छलफल भएको विषय सचिवालयको बैठकमा प्रस्तुत गरेपछि अन्तिम टुंगो लाग्ने बताइन्छ ।

नेकपाको सचिवालय बैठक यसै साउन ५ गते बस्ने भनिएको छ ।

सरकारले समेत एक आर्थिक वर्ष पुरा गरेको, विप्लव समूहसँग वार्ताको हल्ला चलेको र पार्टी एकताका पनि बाँकी काम करिब टुंगो लागेको भनिएको समयमा बस्न गइरहेको सचिवालय बैठक निर्णायक हुने देखिन्छ ।

याे पनि पढ्नुस  आज नेकपा सचिवालय बैठक बस्दै

यसपटकको बैठकमा मुख्यतः पार्टी एकता, सरकार र विप्लवसँगको वार्ताको विषय नै मुख्यरुपमा एजेण्डा बन्ने देखिएको छ। त्यसैले यी सबै विषयमा छलफल गर्न सचिवालय बैठक लम्बिने संकेत समेत नभएको होइन ।

एकताको काम सकिएपछि सरकारको गम्भीर समिक्षा हुनुपर्ने धारणा नेकपाका अधिकांश शीर्ष नेताले गरिरहेका छन् । स्वयम् प्रधानमन्त्री ओलीले समेत सरकारको गियर बदल्न खोजेको संकेत नदेखिएको होइन । तर सरकारको समिक्षा या सरकारभित्र सामान्य हुने फेरबदलको सम्बन्ध पार्टीभित्रको समीमकरणसँग समेत जोडिएकोले समीक्षा र त्यसपछिको रणनीतिका बारेमा निर्णायकरुपमा कुरा अघि बढन सकेको छैन । अबको सचिवालय बैठकमा पार्टी एकताको अन्तिम कार्यसम्पादनसँगै बिभिन्न नेताहरुको जिम्मेवारी समेत निर्धारण हुने भएकोले यसले पार्टीभित्र समेत नयाँ समीकरण देखिने र सोही अनुरुप सरकारको समेत समीक्षा र मन्त्रीमण्डलमा समेत हेरफेर हुनसक्ने देखिएको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै, प्रचण्ड कार्यकारी अध्यक्ष

सरकारले आफूले गरेका राम्रा कामको समेत प्रचार गर्न नसक्नु र पार्टीभित्रैबाट सरकारलाई पर्याप्त सहयोग नहुनु नेकपाका लागि एउटा दुखद विषय बन्दै आएको छ । यसका पछाडि पार्टी संगठन चुस्त नहुनु, एकता नटुंगिनु र गुटको मानसिकता कायमै रहनु जस्ता कारण जिम्मेवार भएको नेताहरु बताउँछन् । त्यसैले अब पार्टी एकताका सबै काम सकिएपछि तल्लोतहदेखि माथिल्लो निकायसम्म नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने र स्थानीय देखि केन्द्रीय सरकारसम्म पार्टीले अभिभावकत्व गर्नसक्ने भएकोले कतिपय परिस्थिति फेरिन सक्ने देखिन्छ ।

सचिवालयको बैठकमा विप्लवसँग वार्ताको बारेमा समेत छलफल हुने संकेत देखिन्छ । विप्लवसँग वार्ता भइसकेको या विप्लवलाई पार्टीमा भित्र्याउन चाहेको जस्ता कतिपय अपुष्ट समाचार सार्वजनिक भएको बेला पार्टीगत रुपमा विप्लवसँग कुन तहसम्म र के कस्तो अवस्थामा वार्ता गर्ने जस्ता विषय सचिवालयमा छलफल हुन सक्छ । त्यसमा पनि विप्लव समूहले संसदीय व्यवस्थाको विकल्पको माग नै अघि सारेको अवस्थामा यसबारेमा समेत छलफल हुन सक्छ ।

याे पनि पढ्नुस  सरकार ठीक बाटोमा छः मन्त्री भट्टराई

चौतर्फी आलोचनाका वावजूद पनि नेकपाले एकता प्रक्रियालाई टुंगो लगाएपछि देशैभरी नयाँ उत्साह र जागरण आउने नेताहरुको विश्वास छ । सम्भवतः एकतालगत्तै भदौ या असौजदेखि पार्टीले देशव्यापी जागरण अभियान सञ्चालन गर्न सक्ने नेताहरुको अभिव्यक्तिले संकेत गरेको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालले देशैभरी महाजागरण अभियान सञ्चालन गरिने बताउँदै आएका छन् । यो विषय तत्काल नै सचिवालयको एजेण्डा नबने पनि यो नेकपाले यसको तयारी समेत गर्ने देखिन्छ ।

सरकार र पार्टी आलोचनामा पर्दै आएको कारण आगामी सचिवालय बैठक मूलतः समीक्षात्मक हुन सक्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!