कडा कदमः पाउडर दूध भित्रिन दिन्न, जे पर्छ म व्यहोर्छु– मन्त्री खनाल

काठमाडौं, साउन १ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले धुलो दूधको आयातमा लगाइएको प्रतिबन्ध नहटाईने बताएका छन् । उनले आवश्यक परे झोल दूध ल्याउने तर धुलो दूध आयात नगरिने प्रष्ट पारे ।

नेपाल दुग्ध विकास संस्थानको स्वर्णमहोसत्वलाई सम्बोधन गर्दै मन्त्री खनालले जनताको स्वास्थ्यमा हानी हुने कुनैपनि कुरा आयातमा रोक लगाउने बताए । खनालले भने, ‘जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो । झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न । उद्योग, व्यापारी, उपभोक्ता कसैलाई पनि मारमा पारिन्न तर उपभोक्तालाई धोका दिन सकिन्न ।’

सरकारले गतवर्षदेखि नै धुलो दुधको गुणस्तरीयतामा प्रश्न उठाउँदै प्रतिबन्ध लगाएको थियो ।कृषि मन्त्री खनालले दुग्ध विकास संस्थानलाई उत्पादन गुणस्तरीय बनाउने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । खनालले उपभोक्तालाई मारमा नराखी संस्थालाई प्रतिस्पर्धी बनाउन पनि आग्रह गरे ।

प्रतिस्पर्धी बनाउन नसके संस्था बन्द गर्नुपर्ने मन्त्री खनालको भनाई छ । ‘प्रतिस्पर्धामा जाने संस्था घाटामा जान्न । प्रतिस्पर्धा गर्न नसक्ने संस्था बन्द गर्नुस् । डिडिसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनु पर्छ । ब्रान्ड र प्याकेजिङ गर्दा त्यता तिर ध्यान दिनुहोला ।’ खनालले भने ।

अस्वस्थ खसिबोका नेपाल ल्याउन दिइन्न
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले अस्वस्थ खसीबोका आयातमा रोक लगाउने बताएका छन् । उनले नेपाली बजारमा खसीबोकाको अभाव भएपनि अस्वस्थ खसीबोका भित्रन नदिने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!