प्रेमीको जन्मदिनमै प्रेमिकाद्वारा आत्महत्या

काठमाडौं, साउन १ । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङले असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरकै शौचालयमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरीले प्रेमी मगरसँगै प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य पारेको आरोपमा भीमबहादुर र प्रमिनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिए । जेनी बालाजुका भीमबहादुरसँग प्रेममा थिइन् । असार ३० गते प्रेमीको जन्मदिन भएकाले उनी भीमबहादुरको घर पुगिन् । तर, भीमबहादुरसँगै प्रमिनलाई भेटेपछि उनीहरुको झगडा सुरु भएको थियो ।

जेनीले प्रमिनलाई समेत भीमले तिमीलाई पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि प्रमिनको सल मागेर शौचालय गएको र लामो समय नआएपछि हेर्न जाँदा त्यही सलको पासोमा झुण्डिएको भेटिएकी थिइन् । भीमबहादुरले उनलाई अस्पताल पुर्‍याएपनि बचाउन सकेनन् । प्रहरीले भीम र प्रमिन दुबैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!