पूर्व उपकुलपति दाससहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

धरान, असार ३० । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व पदाधिकारीसहित ८ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरिएको छ । करिब १६ करोडको विगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको हो । मोटो रकम दिएर उपकुलपति बनेका पूर्व उपकुलपति प्रा.डा. वीपी दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक अरविन्दकुमार सिंहालगायत ८ जना विरुद्ध सोमबार आयोगले आरोप पत्र दायर गरेको हो । दास विरुद्ध चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसाको भ्रष्टचारको मुद्दा दायर भएको छ ।

तत्कालिन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले तीन करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा, तत्कालिन रजिष्टार नन्दकुमार थापाले एक करोड ९६ लाख नौ हजार आठ सय ८० र रजिष्टार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार चार सय पाँच बराबरको अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार अख्तियारले जनाएको छ ।

लेखा प्रमुख दिनेश राज दाहालले जम्मा दुई करोड ३४ लाख ८१ हजार आठ सय १९ रुपैयाँ ७१ पैसा र डेपुटी मेनेजर अमित श्रीवास्तवले एक करोड ७४ लाख १६ हजार दुई सय अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार गरेको आरोप पत्रमा दावी गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!