सिँचाई कार्यालयका प्रमुख यादव १ लाख ८० हजार घुससहित पक्राउ

भोजपुर, असार ३० । जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई एक लाख ८० हजार घुससहित पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका–१३ बोयास्थित छाँगे खोला सिँचाई कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।

सेवाग्राहीबाट लिइसकेको एक लाख ८० हजार रुपैयाँ घुससहित यादवलाई भोजपुर नगरपालिका ७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरी अनुसन्धान थालिएको छ । ९८ लाख रुपैयाँको उक्त सिँचाई आयोजनामा यो आर्थिक वर्षमा १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँ खर्च गर्ने सम्झौता गरिएको थियो । इन्जिनियर यादवले यो सिँचाई अन्य आयोजनाबाट पनि २० प्रतिशत भन्दा धेरै कमिशन माग्दै आएका थिए । आजित भएका उपभोक्ता समितले यादवलाई पक्राउ गर्न अख्तियार गुहारेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!