बाढीबाट सप्तरीमा तीन हजार परिवार अति प्रभावित, राहतमा जुटे स्थानीय तह

राजविराज, असार ३० । सप्तरीका विभिन्न स्थानका गरी ३ हजार घरपरिवारका १२ हजार मानिस प्रभावित भएका छन भने ३ सय घरपरिवार विस्थापित भई विभिन्न स्थानमा आश्रय लिएर बसेको प्रहरीले जनाएको छ । वर्षा आशिकरुपमा रोकिएकोले राहत महशुस गरिएको छ भने डुबान क्षेत्रमा पानी कम भइरहेको छ ।

जिल्लाको सप्तकोसी नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र तिरहुत गाउँपालिका बाढीको उच्च चपेटामा परेको जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । सप्तकोसी, हनुमाननगर र तिलाठी कोइलाडीका विस्थापित परिवारलाई नजिकको चार–पाँच वटा विद्यालयमा सुरक्षित बास बसाएको उहाँले जानकारी दिए ।

आफ्नो घरमा बसेर, खाना पकाएर खान नसकिने अवस्थाका आ–आफ्ना विस्थापित परिवारलाई सप्तकोसी, हनुमाननगर, तिलाठी कोइलाडीले खाना खुवाउने कार्य गरिरहेको बताइएको छ । बाढी कम भएको छ, बाढीमा कोहीपनि हराइ नरहेकोले खोज तथा उद्धार कार्यको आवश्यक नरहेको उनले भने, सप्तकोसी नदीको डुवानमा रहेको गोबरगाढाबासीलाई सुरक्षित स्थानमा सार्न प्रयास गर्यो, तर कोही पनि आउन मानेन् ।

बाढी प्रभावित पीडितको तथ्यांक संकलन सम्बद्ध पालिका, स्थानीय प्रहरी, र रेडक्रसलाई संयुक्त रुपमा गरेर तीन दिनभित्र बुझाउन भनिएकोमा हालसम्म सो कार्य नभएको प्रजिअ पौडेलले हालसम्म जिल्लामा ५० वटा घर पूर्ण रुपमा क्षति भएको बताए । हनुमाननगर र तिलाठी कोइलाडी विस्थापित परिवारका लागि तत्काल त्रिपाल वितरण गरी अस्थायी छाप्रो बनाएर बसेको बताइएको छ । राहत आवश्यक छ भनेर भन्न कोही नआएको भन्दै उनले त्यस्तो खबर आएलगतै आवश्यक राहत पुर्याउने तयारीमा छौ, उनले भने– कृषि, शिक्षालय लगायत अन्य क्षेत्रको क्षति विवरण आइसकेको छैन । सायद क्षतिपनि भएको छैन । जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिको बैठक पनि बोलाइएको छु ।

बाढीपीडित मानिसको स्वास्थ्य परिक्षणका लागि स्थानीय तहका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु खटिएको आवश्यक भए जिल्लाबाट औषधिसहित थप स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताइएको छ । खाँडो, त्रियुगा नदीले तटबन्ध कटान गरिरहेको अवस्थामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले बोरामा वालुवा राखेर जोगाएको छ । बाढीमा आठ सय जनालाई सुरक्षित उद्धार गरिएको छ । उद्धारमा एउटा मात्र रबर बोट प्रयोग गरिएको बताइएको छ ।

बाढीबाट हनुमानननगर नगरपालिकाको वार्ड नं. ५, ६, ७, ११ र १२, सप्तकोसी नगरपालिकाको १,२,३,६ र ७, राजविराज नगरपालिकाको ५, ६ र ७ तथा तिलाठी कोइलाडीको १, ४ र ५ वार्डहरु डुवानमा परेको छ । जिल्लाको सप्तकोसी, खाँडो, जिता, त्रियुगा, महुली, खडक, बिहुल, नदीमा आएको बाढीले ती बस्तीहरु डुवानमा परेको हो । प्रदेश २ मा बाढीका कारण १४ जनाको मृत्य र पाँच जना बेपत्ता छन । प्रदेशका ९४ मध्ये २४ स्थानीत तह बाढीको उच्च जोखिमा परेको छ । बाढीबाट २४४ जनालाई अत्यन्तै जोखिम अवस्थामा र २१ हजार ८०३ जनालाई कम जोखिमा उद्धार गरेको प्रदेश प्रहरीले जनाएको छ । एक लाख १८ हजार १०४ परिवार प्रभावित, १३ हजार ४४ परिवार विस्थापित भएको छ । बाढीले प्रदेशभरी नै तीन हजार ५३० घर पूर्ण रुपमा क्षति भएको छ । प्रदेशका आठ वटै जिल्लाका गरी छ लाख ७९ हजार ३१५ व्यक्ति बाढीको प्रत्यक्ष मारमा परेको छ । यस प्रदेशमा ५४ लाख ४० हजार १४५ जनसंख्या छन । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!