सप्तकोशीमा पानीको तह घट्यो, प्रभावित सुरक्षित स्थानमा

सप्तरी, असार २९ । सप्तकोशी नदीमा पानीको बहाव घटेको छ । बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार राति ३ लाख ७५ हजार क्युसेकभन्दा बढी पुगेको पानीको तह आइतबार बिहान ८ बजे तीन लाखभन्दा तल झरेको हो ।

शनिबार मध्यरातमा लिइएको आँकडामा कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो । तर, आइतबार बिहानको आँकडामा पानीको तह करिब एक लाख क्युसेकले घटेको छ । सो अनुसार कोशीमा दुई लाख ६४ हजार क्युसेक पानी बगिरहेको छ । बिस्तारै वर्षामा कमी आएकोले कोशी नदीमा पानीको तह घट्दै गएको हो ।

सप्तरीमा १५ सय घर डुवानमा, तीन सय विस्थापित
यसैबीच वर्षाका कारण आएको बाढी तथा डुवानका कारण सप्तरीमा एक हजार पाँच सय घर डुवानमा परेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले करिब तीन सय परिवार विस्थापित भएको जानकारी दिए । हालसम्म सप्तरीमा मानवीय क्षति नभएको र विस्थापित तथा डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा ल्याइसकिएको उनले बताए ।

सप्तरीको खाँडो खोलाले डुबानमा पारेको तिलाठी–कोइलाडी क्षेत्रका करिब तीन सय परिवारलाई नेपाली सेनाको टोलीले शनिबार मध्यरातमा सुरक्षित स्थानमा सारेको छ । स्थानीयको अवरोधका कारण सो क्षेत्रमा बाँध बनाउन नसक्दा वर्सेनि डुवानमा पर्दै आएको छ । यस वर्ष पनि खाँडो खोलामा आएको बाढीका कारण उक्त क्षेत्र पूरै डुवानमा परेको हो ।

सप्तरीका प्रमुख जिल्ला अिधकारी पौडेलले यस क्षेत्रमा रहेका प्रभावितको लागि आवश्यक त्रिपाल तथा अन्य राहतका सामाग्री पठाउने तयारी भइरहेको जानकारी दिए । बोदेबर्साइन नगरपालिका र बलानविहुल गाउँपालिकाको सीमा भएर बग्ने विहुल खोलाको बाढी पस्दा बलानविहुल–३ का ३० घरमा क्षति पुगेको छ ।

हनुमाननगर कंकालिनी–१२ र १३ नम्बर वडामा कोशी र खाँडो खोलाका कारण १ सय ५० भन्दा बढी घर डुवानमा परेका छन् । यस क्षेत्रका प्रभावितहरूका लागि एक हजार त्रिपाल वितरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। त्रियुगा नदीको बाँध भत्किँदा सप्तकोशी गाउँपालिका–६ र ७ मा करिब ३ सय घर डुवानमा परेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!