इमानदार र असल चालकको खडेरी

काठमाडौँ, असार २९ । ब्लुबुक (सवारी धनीपत्र) बनाउनका लागि सिफारिसपत्र लिन ट्राफिक प्रहरी कार्यालय पुगेका एक पूर्वराजदूत आफ्ना निजी चालक खम्बिरमान थापाको कर्तुत थाहा पाएर आश्चर्यमा परे ।

चालक थापाले हराएको भन्दै आएको ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि उनी आश्चर्यमा परेका हुन् । पटकपटक मापसे कारबाहीमा परेका चालक थापाले आफ्नो चालक अनुमतिपत्रमा थप ‘प्वाल’ पर्नबाट जोगाउन ब्लुबुक बुझाएका थिए तर थापाले ब्लुबुक हराएको भन्दै नयाँ बनाउन पूर्वराजदूतलाई सुझाव दिएका थिए ।

यस्तै, रोचक घटना कुलेश्वरमा खाद्य थोक व्यापार गर्दै आएका सर्लाही हरिवनका युनिस अन्सारीले पनि ब्यहोर्नुपर्यो । करिब एक महिनासम्म आफ्नो गाडी र चालक बेपत्ता भएपछि उनी प्रहरीमा पुगे । खोज्दै जाँदा एउटा स्कुटीलाई ठक्कर दिएर चालक फरार भई गाडी प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा फेला पर्यो ।

दुई सवारी धनीका अनुसार इमानदार र असल चालकको खडेरी नै छ । ‘गाडी दुर्घटनामा पर्यो भनेका थिए’, व्यवसायी अन्सारीले भने, ‘चालक त ज्यान जोगाउन भन्दै गाडी सडकमै छोडेर भागेछ, मोबाइलसमेत बन्द गरेको छ ।’ सार्वजनिक तथा निजी यातायात सेवामा आबद्ध चालकहरू ट्राफिक नियमप्रति प्रतिबद्ध, पेसाप्रति इमानदार र दुर्घटनाप्रति सचेत हुँदैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोजकुमार सिटौला राम्रो सवारी चालकको अभाव खट्किएको बताउँछन् । अलि पढेलेखेका र इमानदार चालकहरू विदेश पलायन हुन्छन् या त आफ्नै सवारी चलाउँछन्, बाँकी भएकाहरू सरकारी (सवारीचालक) जागिर खान्छन् । सार्वजनिक तथा निजी क्षेत्रको यातायात सेवाका अधिकांश चालक सिकारु र सामान्य साक्षर व्यक्ति धेरै भएको पाइएको छ ।

‘राम्रो र नराम्रो चालक बोली, व्यवहार र सवारी हाँक्ने शैलीबाट छुट्टिन्छन्’, उनले भने, “स्मार्ट लाइसेन्स वितरण प्रक्रिया ढिलो हुँदा पनि चालकको समस्या देखिएको हो । हेभी सवारी चालकका लागि वैदेशिक रोजगार सुनौलो अवसर बन्ने गरेको छ ।’ राम्रा चालक पलायन हुँदा सहचालकलाई (खलासी) चालक बनाउनु परेको पीडा यातायात व्यवसायीको छ । निजी तथा सार्वजनिक यातायातका सवारी चालकहरूमा दिउँसै मदिरा पिउने समस्या बढी देखिएको उनको दाबी छ । मदिरा र लागूऔषधको कुलतमा फसेकाहरू चालक बन्दा ट्राफिक नियम उल्लङ्घन, तीव्र गति, दुर्घटना, यात्रु तथा मालिकमाथि दुव्र्यवहार हुने गरेको भनाइ ट्राफिक प्रहरीको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार इमानदार चालकको अभावका कारण सवारी कारबाही सङ्ख्या अधिक हुने छ । स्कुल, कलेज, एम्बुलेन्स, सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्थामा आबद्ध धेरैजसो चालकले दिउँसै मदिरा पिएर सवारी चलाउने गरेको पाइएको छ । ट्राफिक प्रहरीको आँखा नपर्ने यस्ता सवारी चालकमाथि छड्के कारबाही हुनुपर्ने सुझाव सर्वसाधारणको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दैनिक १२ लाख सवारी साधन गुड्ने गरेको अनुमान छ । तीमध्ये वर्षमा करिब एकलाख १५ हजार कारबाहीमा पर्छन् । आव २०७५-७६ मा मात्र मापसेमा ३० हजार सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै लेन अनुशासनमा ३८ हजार, हर्नमा १४ हजार ७८१, सवारी साधनको अवस्था ठीक नभएकोमा १३ हजार १२, दुर्घटनामा सात हजार ६९२, तीव्रगतिमा २६९, गलत साइडबाट ओभरटेकमा दुई सय, जेब्रा क्रसिङमा छ हजार चार सय र यात्रुमाथि दुव्र्यवहार गरेको अभियोगमा एक सय चालकलाई कारबाही भएको छ । सवारी ऐनले चालक अनुमति पत्र लिन शैक्षिक योग्यता तोकेको छैन । नागरिकता प्रमाणपत्र भएमा आवश्यक प्रक्रिया पूरा गरी सवारी चालक अनुमतिपत्र लिन सकिने व्यवस्था गरेको छ । शैक्षिक योग्यता, शारीरिक अवस्था (दृष्टिविहीनबाहेक) र लागूऔषध दुव्र्यसनीको लतलाई हेरिँदैन।

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार चालकको शैक्षिक योग्यता तोक्दा राम्रो हुन्छ । यसअघि १२ कक्षासम्म राख्ने निर्णयको यातायात व्यवसायीले विरोध गरे । विभागले नौ लाख ५८ हजार १७ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ । स्मार्ट लाइसेन्सले चालकलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ । कारबाहीदेखि नवीकरणको रेकर्ड कार्डमै उल्लेख हुने भएकाले गल्ती दोहोर्याउने अवस्था आउँदैन । सहसचिव खनालले भने, “कानुनको प्रभावकारी कार्यान्वयन नै गल्ती दोहोरिन नदिने राम्रो उपचार हो ।” यातायात सेवालाई सुरक्षित, अनुशासित, व्यवस्थित र मर्यादित बनाउन यातायात व्यवसायी तथा सवारी धनी, सवारी चालक, यात्रु र ट्राफिक प्रहरी जिम्मेवार हुन आवश्यक रहेको औंल्याउँछन् उपभोक्ता अधिकारकर्मी अधिवक्ता विक्रम कुँवर । सार्वजनिक यातायत प्रयोगमा सवारी चालकको मात्र होइन, सर्वसाधारण र यात्रुको पनि गल्ती हुने गरेको छ । ट्राफिक नियम पालना नगर्ने, सार्वजनिक यातायातलाई आफूखुसी प्रयोग गर्न खोज्ने (रोक्न र ओराल्न लगाउने) र आफूमाथि परेको समस्याका विषयमा समयमै उजुरी नगर्ने रहेको सरोकारवाला बताउँछन् । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!