निर्माण व्यवसायी संघका अध्यक्षको घरमै ग्याङफाइट, तीन जना घाइते

वीरगन्ज, असार २८ । वीरगन्जको आदर्शनगरमा रहेको नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रमाकान्त चौरसीयाको घरमै शनिबार दिउँसो दुई समूहबीच कुटपिट भएको छ । कुटपिटमा परेर तीन युवा घाइतेसमेत भएका छन् ।

अध्यक्षकै छोराको समूहको धारिलो हतियार प्रहारबाट तीन जना युवा घाइते भएका हुन् । अध्यक्ष चौरसीयाका छोरा रविकान्त चौरसीयाले नै धारिलो हतियार प्रहार गरी तीन जना युवकलाई घाइते बनाएका थिए । घाइते हुनेहरुमा वीरगन्जको छपकैयाका वर्कत अली, छपकैयाकै जावेद अन्सारी र श्रीपुरका शरद पटेल छन् । घाइते तीनैजनालाई सुरुमा नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घटनापछि घाइतेहरुका आफन्त र गाँउलेले अध्यक्ष रमाकन्तको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । हतियार प्रहार गर्नेमध्येका रविकान्त र घरमा ढुंगामुढा गर्नेमध्येका एक जना गरी दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार रविकान्त र उनका साथीहरुबीच विवादका क्रममा झगडा हुँदा रविकान्तको समूहले आक्रमण गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!