कर्णाली जीप दुर्घटनाः २२ दिनपछि भेटियो उपाध्यक्ष शाहीको लाश

सिमकोट असार २५ । जीप दुर्घटना भएको २२ दिनपछि हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको लाश भेटिएको छ । उपाध्यक्ष शाहीको लाश सर्केगार्ड गाउँपालिका–४ को नागर स्थित कर्णाली नदीको किनारमा बिहान ११ बजे भेटिएको हो ।

कर्णाली नदीको किनारमा महिलाको लास भेटिएको खबर आएपछि सिमकोट बिमान स्थलबाट हेलिकोप्टरमा घटना स्थलमा जानु भएका प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले लाश उपाध्यक्ष हमालकै भएको बताए ।

मृतक हमालका श्रीमान् धिरेन्द्रबहादुर शाहीले औलाको औंठीका आधारमा आफ्नी श्रीमति हमाल नै भएको जनाएपछि नियम अनुसार प्रक्रिया मिलाएर मृत घोषित गरि खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल र श्रीमान शाहीको जिम्मा लगाएको उनले बताए ।

आजै आफन्तले उपाध्यक्ष शाहीको शवलाई अन्तिम संस्कार गरेका छन् । हिन्दु परम्परा अनुसार घर परिवारले कुशको लाश बनाएर अन्तिम दाह संस्कार असार ६ गते नै गरि सकेका थिए । खबर आएपछि खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावल, प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगर, जिल्ला अस्पतालका चिकित्सक दुर्गा सुर्खाली लगाएतको टोली हेलिकोप्टरमा लाश भेटिएको स्थलतर्फ गएको थियो ।

लाश भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिड्नुपर्छ । गत असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाही सहित ११ जना बेपत्ता भएका थिए । घटना भएको २३ दिनपछि उपाध्यक्षको शव भेटिएको हो भने अन्य १० जना भने अझै बेपत्ता नै रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!