के हो क्रिकेटमा सधैँँ विवादमा रहने डकबर्थ लुइस या डिएलएस विधि ?

काठमाडौँ, असार २५ । विश्वकप क्रिकेटको १२ औं संस्करणको पहिलो सेमीफाइनल म्यानचेस्टरको ओल्ड ट्रयाफोर्ड मैदानमा मंगलबार नै सम्पन्न हुनुपर्ने थियो । तर टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५ विकेट गुमाएर २११ रन जोड्दा वर्षाका कारण खेल अवरुद्ध भयो । न्युजिल्याण्डले ४६.१ ओभर खेलिसकेको थियो ।

अर्थात ऊसँग जम्मा २३ बल रहेका थिए र ५ विकेट । खेलको औसत रनरेट हेर्ने हो भने ५० ओभरमा २३० रनको हाराहारी स्कोर बन्ने अनुमान गरिएको थियो । अचानक पानी पर्न थालेपछि मैदानलाई प्लास्टिकले ढाकियो र अनुमान गर्न थालियो खेल अगाडि बढाउने अरू उपाय ।

खेल रोकिएको निकै बेरसम्म पनि वर्षा नथामिएपछि खेल व्यवस्थापनले बुधबार बाँकी रहेको खेल खेलाउने निर्णय लियो । तर आइसीसीको यो निर्णय आउनुपूर्व खेललाई डकवर्थ-लुइस अथवा डीएलएस विधिबाट टुङ्गो लगाउने चर्चा चल्न थालेको थियो ।

यदि यसो भएको भए खेलका ओभरहरू घटाइने थिए र भारतलाई यस विधिद्वारा निर्धारित संशोधित लक्ष पछ्याउने गरेर खेल्न भनिन्थ्यो ।

वर्तमान अवस्थामा डकबर्थ लुइस विधिमा गएको भए भारतका लागि चुनौती निकै थपिने थियो । किन भने उसले न्युजिल्याण्डलाई ४६ ओभरमा २११ रनमै सीमित राखेको भएपनि उसले घटाइएका ओभरमा बढी रनको लक्ष पाउन सक्थ्यो ।

डिएलएस गणना अनुसार नुजिल्याण्डले दोस्रो पटक ब्याटिङ नगरेमा आफूले ४० ओभर खेल्नु परे २२३, ३५ ओभरमा २०९, ३० मा १९२, २५ मा १७२ र २० ओभर खेलेको खण्डमा १४८ रनको लक्ष पाउने थियो ।

न्युजिल्याण्डको हाल ब्याटिङको गति हेर्दा भारतका लागि यो लक्ष निकै ठुलो भए पनि विश्व क्रिकेटमा सीमित ओभरका खेलहरू मौसम या अन्य प्रतिकूलताका कारण बाधित भए अपनाइने सर्वस्वीकृत विधि भने यो नै हो ।

के हो डिएलएस विधि?

सीमित ओभरका क्रिकेट खेलहरू वर्षा या अन्य कारणले छोट्याइनु पर्ने भएमा संशोधित लक्ष कसरी निर्धारण गर्ने भन्ने बारेमा विगत देखि नै विभिन्न विधिहरू अपनाइदै आएका छन् ।

तीमध्ये सबै हालका दिनहरूमा आइसीसीले मान्यता दिएको विधि हो- डकवर्थ लुइस जसलाई छोटकरीमा डिएलएस भन्ने गरिन्छ ।

यस विधिको आविष्कार ब्रिटिश तथ्यांकशास्त्री फ्र्यांक डकवर्थ र टोनी लुइसले १९९७ मा गरेका हुन् । आइसीसीले १९९९ मा यसलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरूमा अधिकारिक रूपमा अपनाउन थालेको हो ।

डकवर्थ-लुइस द्वयले अवकाश लिएपछि यस विधिलाई स्टेभेन स्टर्नले अद्यावधिक गरेपछि यस विधिले डकवर्थ-लुइस-स्टर्न नाम पायो र हाल यसलाई त्यसैले छोटकरीमा ‘डिएलएस मेथड’ भन्ने गरिन्छ ।

२०१४ यता यो विधि पूर्ण रूपमा लागू गरिएको छ । आइसीसीले गतवर्षमात्र यस विधिलाई अध्यावधिक गरेको थियो ।

हालसम्म १५ सय भन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूको टुङ्गो यस विधिद्वारा लगाइसकिएको छ ।

विश्वकपको हकमा भने यस विधिको प्रयोग सबैभन्दा पहिले १९९९ मा भएको हो ।

कसरी हुन्छ लक्ष निर्धारण?

यस विधिको प्रयोग आइसीसीद्वारा संचालित सबै जसो खेलहरूमा हुने गर्दछ । डकवर्थ लुइस विधिका अनुसार क्रिकेट खेलिराखेको कुनै पनि टीमसँग दुई प्रकारका संसाधन हुने गर्दछन् ।

जसको मद्दतले उनीहरू बढीभन्दा बढी रन बनाउन सक्षम हुने गर्दछन् । यी दुई संसाधन हुन् बाँकी ओभर र बाँकी विकेट ।

अर्को शब्दमा भन्दा खेलको कुनै पनि मोडमा कुनै पनि टीमको रन बनाउने क्षमता यी दुवै संसाधनहरूमा भर पर्ने गर्दछ ।

कुनै पनि टीम यी दुवै संसाधनहरूको मद्दतले बढीभन्दा बढी रन बनाएर विपक्षी टीमलाई चुनौती दिन सक्छ ।

यदि खेललाई निर्धारित ओभरभन्दा मुनि झार्नु परेको खण्डमा उक्त टीमसँग स्रोतहरूको कमी हुनजान्छ र यसैले लक्षलाई न्यायोचित बनाउन यस विधिको प्रयोग गरिने गरिन्छ ।

डकवर्थ र लुइसले यिनै कुरालाई ध्यानमा राखेर एउटा सूची तयार पारेका छन्, जसले म्याचको अलग अलग चरणमा कुनै पनि टीमसँग रन बनाउने कति प्रतिशत संसाधन बाँकी छन् भन्ने निर्धारण गरिन्छ ।

यस सूची अनुसार यदि कुनै टीमले पुरै ५० ओभर ब्याटिङ गर्न बाँकी छ र उसका १० विकेट नै सुरक्षित छन् भने उससँग १०० प्रतिशत संसाधन सुरक्षित रहेको बुझिन्छ ।

त्यसपछि त्यस टीमले जति जति ओभर खेल्दै जान्छ र विकेट गुमाउँदै जान्छ त्यति त्यति उसले संसाधन समेत गुमाउँदै जान्छ ।

यसरी लक्ष निर्धारण गर्दा यदि पहिले बलिङ गर्ने टीमको खेल बाधित भए सामान्यतया लक्ष बढाउने गरिन्छ भने पछाडी ब्याटिङ गर्ने टीमको खेलमा बाधा आए लक्ष घटाइन्छ ।

जस्तै यदि कुनै टीमले २० ओभरको खेल खेलेको छ र त्यस समय यदि खेल रोकियो र त्यसबेला सम्म उसले २ विकेट गुमाएको थियो भने उससँग त्यसबेलासम्म ६३.३ प्रतिशत संसाधन बाँकी रहेको मानिनेछ ।

यदि खेललाई ४० ओभरमा झारिन्छ भने उक्त टीमले १० ओभर गुमाएको छ अबको हिसाबले उससँग २० ओभर शेष छन् र संसाधन ५४.२ प्रतिशत । यस्तोमा उक्त टीमलाई ६३.३ – ५४.२ = ९.१ प्रतिशत संशाधनको घाटा हुनपुग्यो ।

यस्तो अवस्थामा उक्त टीमले प्रयोग गर्न पाउने कुल संसाधन १०० – ९.१ = ९०.९ प्रतिशत हुन्छ ।

त्यसैले यस घाटालाई क्षतिपूर्ति गर्न लक्षलाई थपघट गर्ने गरिन्छ ।

आजभोली डकवर्थ लुइस गणना गर्ने सफ्टवेयर तथा अनलाइन प्लेटफर्म समेत उपलब्ध रहेका छन् । त्यस्तै एन्ड्रोइड र आइओएस प्लेटफर्ममा यस गणनाका लागि एप्लिकेसन समेत उपलब्ध छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!