रबिनालाई पानीमा नाचिरहेको देखेपछि रणवीर हेरेको हेर्यै, सेटबाटै निकालियो

एजेन्सी । अक्षय कुमार, सुनिल सेट्टी, नसिरुद्दीन शाह र रबिना टण्डन स्टार फिल्म मोहराले आफ्नो रिलिजको २५ वर्ष पुरा गरेको छ । फिल्मको एक्सन सिक्वेन्स र गीतहरु विशेष चर्चामा रहे । ‘ती चीज बडी हे मस्त मस्त’ र ‘टिप टिप बरसा पानी’ आज पनि बलिउडको सबैभन्दा चर्चित गीतमध्ये पर्छन् । यो गीतमा अक्षय कुमार र रबिना टण्डनको शानदार केमेस्ट्रि देखिएको थियो ।

रणवीर सिंहले यसै गीतसँग जोडिएको एउटा रोचक किस्सा सेयर गरेका छन् । रणवीरले राजिव मसन्दसँगको अन्तरवार्तामा भनेका छन्, ‘मेरा केजी कजिन क्यानडाबाट आएका थिए र सबैजना अक्षय कुमारका ठूला फ्यान । सबैले अक्षय कुमारलाई हेर्न जिद्दी गरिरहेका थिए । मेरा पिता बलिउडका केही निर्मातासँग नजिक हुनुहुन्थ्यो त्यसकारण हामीलाई अक्षय कुमारले रबिना टण्डनसँग टिपटिप बरसा पानीको सुटिङ गरिरहेको भन्ने कुरा थाहा पाउन गाह्रो भएन ।

उनी थप्छन्, ‘सुटिङ हेर्न हामी सबै गयौं । सेटमा रबिनालाई देखेर म हैरान भएँ । मैले आफ्नो जीवनमा यति सुन्दर युवती देखेको थिइनँ र उनलाई एकटक हेरिरहेँ । मलाई थाहै भएन कि रबिनलाई मेरो हेराइले असहज महसुस भइरहेको थियो । मलाई सेटबाट निकालिएपछि मात्रै यसबारे थाहा भयो ।

रणवीरले थपे, ‘म निकै मोटो थिएँ, दाँतमा ब्रेसेज बाँधिएको थियो र मेरो फुटबल खेलाडी रोनाल्डोजस्तो हेयरकट थियो । सेटबाट निकालिएपछि मलाई एकदम नरमाइलो लाग्यो किनभने म ठूलो आशा बोकेर सुटिङ हेर्न पुगेको थिएँ । मलाई उदास देखेर अक्षय कुमार म भएठाउँ आएका थिए र उनले मेरो हौसला बढाउनका लागि मेरो कपाल मनपरेको बताए ।’

अक्षयले यस्तो भनेपछि आफू फुरुङ्ग भएकमो रणवीरले बताए । त्यसपछि यी दुईले सँगै फोटो खिचेको तर रबिनासँग तस्बिर खिच्न असमर्थ भएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!