पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोडसँगै तालाबन्दी

विराटनगर, असार २२ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा विद्यार्थी संगठनले तोडफोड गरी तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा प्राध्यापक भर्नाको विरोधमा पाँच विद्यार्थी संगठनले तोडफोड गरी तालाबन्दी गरेका हुन् ।

छानविन समितिले दिएको सुझाव विपरीत प्राध्यापक, उपप्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको भन्दै आइतबार अनेरास्वियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

तर गत चैत ५ गते प्रधानमन्त्री कार्यालयले सेवा आयोगले खुलाएको विज्ञापन प्रक्रिया तत्काल रोक्न निर्देशन दिदै विश्वविद्यालयमा भएको अनियमितताको विषय छानबिन गर्न समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा गठन भएको उक्त छानबिन समितिले पाँच वर्षे गुरु योजना बनाएर मात्र जनशक्ति भर्नाको प्रक्रिया अघि बढाउन सुझाव दिएको थियो ।

सुझावअनुसार गत असार १३ गते डा। सन्देश कोइरालाको संयोजकत्वमा पाँच वर्षे गुरु योजना तयार समिति गठन भएको छ । सो समितिलाई पाँच वर्षे कार्ययोजना बनाउन एक महिनाको समय दिएको थियो । समिति गठन भएको एकसाता पछि विश्वविद्यालय सेवा आयोग पूरानो विज्ञापनका आधारमा जनशक्ति भर्नाको प्रक्रिया अघि बढाएपछि अनिश्चितकालीन तालाबन्दी गरेको अनेरास्वयु मोरङ संयोजक गोकर्ण घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!