धोनीले मनाए ३८ औं जन्मदिन, जान्नुहोस् उनको क्रिकेट उपलब्धि

काठमाडौं, असार २२ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवं विकेटकीपर, ब्याट्सम्यान महेन्द्रसिंह धोनीले ३८औं जन्मदिन इंग्ल्याण्डमा मनाएका छन् । धोनीले पत्नी साक्षी, छोरी जीवा र साथीहरुको साथमा आफ्नो ३८ औं जन्मदिन मनाएका हुन् । उनको जन्म ७ जुलाई १९८१ मा झारखण्डको राँचीमा भएको थियो । धोनीले आफ्नो नेतृत्वमा टी–२० विश्वकप २००७ र वान डे विश्वकप २०११ को उपाधि जिताएका थिए । उनले भारतलाई २०१५ को आइसीसी च्याम्पियन ट्रफिसमेत दिलाएका थिए । धोनी विश्वकप क्रिकेटका एक मात्र कप्तान हुन्, जसले आइसीसीको तीन वटै फम्र्याटको उपाधि दिलाउन सफल भए ।

सचिनले भने, ‘धोनी उत्कृष्ट कप्तान’
धोनीलाई जन्मदिनको शुभकामना दिँदै पूर्वकप्तान सचिन तेन्दुलकरले धोनी सबैभन्दा उत्कृष्ट कप्तान रहेको भन्दै प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘आफ्नो २२ वर्षको क्रिकेट करियरमा जति पनि कप्तानको अण्डरमा मैले खेले, उसमा धोनी सबैभन्दा उत्कृष्ट लागे ।’ सचिनले अगाडि थपे, ‘धोनी जहिले पनि शान्त रहन्छन् । र, कहिल्यै पनि तनावमा हुँदैनन् । उनी शानदार कप्तान हुन् ।

२०० वान डेमा कप्तानी
धोनीले भारतका लागि अहिलेसम्म सबैभन्दा धेरै २०० वान डेमा कप्तानको भूमिका निर्वाह गरेका छन् । जसमा भारतले ११० खेलमा जीत हासिल गरेको छ । उनी विश्व क्रिकेटका तेस्रो कप्तान हुन्, जसले सर्बाधिक वान डे खेलको कप्तानको भूमिका निर्वाह गरेका छन् । धोनीले ९० टेस्ट, ३४९ वान डे र ९८ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले २०१५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!