प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको ट्वीटले तात्यो सामाजिक सञ्जाल, प्रधानमन्त्रीले समेत प्रयोग गरिसकेका थिए यो शब्द

काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल एउटा ट्वीटका कारण विवादमा मुछिएका छन् ।

रिमालले आइतवार बिहान एक ट्वीट गर्दै आलोचकहरूलाई “छौँडा”को संज्ञा दिएका थिए । रिमाल यस अघि पनि आलोचना सुन्न नसक्ने आरोप व्यहोर्दै आएका छन् । आइतबार बिहानको विवादास्पद ट्वीटमा उनले कवितात्मक शैलीमा यसो लेखेका छन्:
“भनिन्छ, छौडाहरु आफैं चलमलाउँदैनन्,
कसैले छोड्छन्,
दुःख दिन्छन् !
यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि
कसैले छोडेका ?”
रिमालको यो अभिव्यक्ति कोप्रति लक्षित थियो भन्ने नखुलाइएको भए पनि पछिल्ला दिनहरूमा लगातार आलोचना खेपिरहेको सरकारको बचाउमा उनले यस्तो अभिव्यक्ति दिएका हुनसक्ने अनुमान गरिएको छ ।
धेरैले रिमालको अभिव्यक्तिको अर्थ भन्दा पनि उनले गरेको शब्द चयनमा आपत्ति जनाएका छन् ।


सामाजिक संजालमा रिमालको अभिव्यक्तिप्रति प्रयोगकर्ताहरूले असन्तुष्टि पोखिरहेका छन् । धेरैले प्रधानमन्त्री जस्तो उच्च पदस्थ व्यक्तिको राजनैतिक सल्लाहकारले यस स्तरको टिप्पणी गर्न नहुने विचार व्यक्त गरेका छन् ।
उनको शब्द चयनप्रति आपत्ति जनाउनेमा उनको आफ्नै पार्टीका पार्टीका नेता कार्यकर्तादेखि आममानिससम्म रहेका छन् ।
नेपाली शब्दकोशमा ‘छौंडा’ शब्दलाई नकारात्मक रूपमा लिने गरिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको “नेपाली वृहत् शब्दकोश”मा यस शब्दका ४ फरक फरक अर्थ दिइएका छन् । जसमा “१. बालक; शिशु; बच्चो । २. छोरो । ३. दासपुत्र । ४. लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो” ।

रिमालको ट्वीटको अर्थ:

रिमालले कुन अर्थमा ‘छौंडा’ शब्दको प्रयोग गरे भन्ने कुरा उनको अभिव्यक्तिले नै प्रष्ट पारेको छ । समाजिक संजाल प्रयोगकर्ताहरूले “तालिमप्राप्त बिरालो” भन्ने अर्थमा यस शब्दको प्रयोग गरेको बताइरहेका छन् ।

रिमालको ट्वीटमा प्रश्न गर्ने क्रममा नेकपाकै नेता डा. विजय पौडेल लेख्छन्, “विष्णु सर, यो अमुर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्यान्डल हो ? हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछु” ।

पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल लेख्छन्, “छि: छि: सरकारका प्रमुख सल्लाहकारको भनाई !”

कमल रिजालले लेख्छन्, “महाशयज्यू, बेफुर्सदीले गर्दा ऐना हेर्न बिर्सिनु भो कि कसो हो । सत्ता र शक्तीको नशा त सबैलाई कडै पो लाग्दो रछ, अरुलाई त पहिले नै देखीएकै हो, हानिकारक छ । कसैलाई केहि नभन्ने बिचार गरियो । अरुमाथी एक औला उठाउदा चार आफै तिर फर्कन्छ । कम्णिष्ट झै तिक्ष्ण बुद्धी नभए पनि यति चै बुझिएकै छ ।”

प्रतिक्रियाको ओइरो

उषाकिरण तिम्सेना लेख्छिन्, “कमरेड तपाँई पार्टीको स्यायी कमिटी सदस्य र प्रम ज्युको सल्लाहकार दुबै पद बाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन ।”

माधव भन्ने ट्वीटर ह्यान्डल बाट एक जना लेख्छन्, “महोदय पनि साह्रै हुतिहारा रैछन् घरतिर बुढी सँग झगडा गरेर के सामाजिक सँजालमा छरपस्ट गरेको होला भनेको, बुढा बुढीको झगडा परालको आगो भन्छन्” ।

त्यस्तै पशुपतिनाथ लेख्छन्, ” धिक्कार छ महाठिस सल्लाहकार ..प्रम गलत होइनन् गल्ती गर्ने त रिमालहरु हुन, गाली ओलीले खानुपऱ्या छ” ।

प्रकाश रिमाल भन्ने एक जना ट्वीटर प्रयोगकर्ताले ठट्यौलो पाराले लेखेका छन्, ” सम्माननीय प्र.म. ज्यूका सल्लाहकार रिमाल हुन्, “रिमालहरु” होइनन् है” ।

विष्णु ढकालले प्रश्न गरेका छन्, “दिन(विगत), दर्शन, चेतना, समाज, साथीभाइ सबै बिर्सने आवेगको पर्याय हो सत्ता ? रिमालजी, के हो छौंडा भन्या ? चरम रूढीवादी युगमा समाजमा डर पैदा गरेर, भुतप्रेत, बोक्सी, धामीको नाममा हुने, मनोवैज्ञानिक त्रासको भरमा सत्ता चलाउनेहरूले आफुले नसकेपछि ‘छौँडा’ लगाइदिने भन्थे, त्यही भन्न खोज्या कि” ?

आलोचक मान्छे भन्ने ह्याण्डलबाट प्रतिक्रिया आएको छ, ” वाह गज्जबको टुइट छ विष्णु रिमाल जीको !! यस्ता धमिरा त छ्न नेपालको प्रधानमन्त्रीका सल्लाहकार ! यस्तो नैतिकता भएको मान्छेले प्रधानमन्त्रीलाई के सल्लाह दिँदो हो ? ! मलाई त लाज लागेर आयो । केपीज्यु अझै समय छ यस्ता धमिरालाइ पन्छाएर अगाडि बढ्नु होस,१००% सफल” ।


विष्णु पाण्डे लेख्छन्, “कठै सल्लाहकारज्युका शब्द चयन ! भोली फेरी यही समाजमा सामान्य नागरिकको रुपमा जिवन यापन गर्नु पर्ने दिन आउँदैन ? कि त्यती दुरदर्शिता पनि छैन ? सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषता सहित सल्लाहकार पदको आबेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण” ?

अशेष घिमिरे लेख्छन्, “तपाईं प्रत्येकले हेर्नैपर्ने सुन्नैपर्ने हो । सत्ताको केन्द्रमा बस्ने एउटा महत्वपुर्ण पात्र कसरी खतरनाक बन्दै जान्छ, कसरी उसमा बिनयशीलता, नम्रता नष्ट हुँदै जान्छ बडो मजासँग सिक्न सकिन्छ । तपाईं आजको कालखण्डको ध्यान दिइनुपर्ने उदाहरण हो । धन्यवाद” ।

बिमल योगी लेख्छन्, “उट्पट्याङ शब्दको खानी यता रै छ । म भने प्रधानमन्त्री ज्यूलाई गाली गर्दै” । दामोदर गिरि लेख्छन्, ‘ हरे राम ! प्रधानमन्त्रीको सल्लाहाकार जस्तो मान्च्छेको पब्लिकमा प्रस्तुत हुने सैली कति लाजमर्दो ! यस्तैमान्छेको संगतले गर्दा पो रहेछ प्रधानमन्त्री केपी ओली ज्यु झनझन असफल हुदै गएको। दया लाग्यो तपाइको भाषाको शैली देखेर कठै!’

अर्जुनकुमार शर्मा लेख्छन्, ‘ गणतन्त्रमा ढुंगेयुगको कुरा गर्ने ? बोक्सिको कुरा गर्ने ? छौंडाको कुरा गर्ने ? रुढिबादी र संबिधान बिरोधी ! यस्ताको सल्लाहमा चलेको पार्टी र सरकारले पनि काम गर्छ भनेर पत्याउने म महामुर्ख !!!!’

इश्वर पोखरेल लेख्छन्, ‘ जनभावना बिपरीत काम गर्ने अनि बिरोध गर्नेलाई छौंडा भन्ने कस्तो तरीका हो कमरेड ? गुठि बिधेयक ल्याउन कस्ले सल्लाह दियो विषादी मिसिएको खाद्यन्न चेक नगरी ल्याउन कस्ले सल्लाह दियो ? सुन कान्ड,वाईटवडि कान्ड,जग्गा कान्ड ,निर्मला बलत्कार कान्ड मा कार्वाही गर्नु हुन्न भनेर सल्लाह दिने को?’

प्रकाश जोशी लेख्छन्, ‘ प्रधान मंत्रीको प्रमुख सल्लाहकारलाई सुहाएन है यसतो छोटो मुख !’ सचितानन्द लेख्छन्, ‘ यो मानसिकता, यसमा प्रयुक्त भाषा र यस नाइको प्रयोजन कुनैपनि हालतमा कम्युनिस्ट नैतिकता भित्रपर्दैन । पार्टी कसैको वपौति होभने वाँकीलाई निकालेर एकलौटी चलाए भैगोनी । तपाई जस्तालाई नेता मानिराख्नुपर्ने नेपालको कम्युनिष्ट आन्दोलन र हामी यस आन्दोलनका सिपाहीहरुको दुर्भाग्य।’

लविनध्वज खाँड भन्छन्, ‘ “छौंडा“ शब्दको अर्थ थाँहा थिएन, नेपाली बृहत शब्दकोष पल्टाएं अनि दुखी हुँदै सोच्न बाध्य भएँ । हैन यो ट्विट समृद्धिप्रिय प्रमका प्रमुख सल्लाहकारकै हो भने, यस्ताले दिने सल्लाह कस्तो हुन्छ होला जो समृद्धिका लागि होस्!! लज्जाशरणम् ।’

विजयकान्त कर्ण भन्छन्, ‘ यो छौंडा कसलाइ भनिएको हो, तराई(मधेसमा मैथिली, भोजपुरी र थारु भाषामा सामान्य रुपमा केटा केटी लाइ भनिन्छ र तिनीहरु चलमलाएको लाइ राम्रो र नराम्रो दुवै अर्थ हुन्छ। प्र मको सल्लाहकारज्यु ले कुन सन्दर्भमा भन्नु भएको बुझिएन। हामी जस्तालाई बुझ्ने भाषा भए ठिक हुन्थ्यो’  । रश्मि अधिकारी लेख्छिन्, ‘प्रम को सल्लाहाकार भएर यस्ता शब्द लेख्न छुट नै छ र हाम्रो संविधानमा, नैतिकताकै लागि पनि दुबै पदबाट राजिनामा दिनु उचित नहोला र महोदय???’

राजु थापा लेख्छन्, ‘ प्रधान झाँक्रीबाटै ओखतीमुलो गर्न सल्लाह दिनुस दाजु। चकित परियो!!! शब्द चयन बैज्ञानिक र समाजवाद उन्मुख रहेछ। जे होस्, चमत्कार जारी छ!!!’

प्रधानमन्त्रीले उहिल्यै प्रयोग गरेको शब्द

रिमाल यो शब्द प्रयोग गर्ने पहिलो व्यक्ति भने होइनन् । यसअघि प्रधानमन्त्री ओलीले यस शब्दको प्रयोग गरिसकेका छन् ।
आफ्नो पहिलो कार्यकालमा उनले भारततर्फ लक्षित गर्दै ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा ।’ भएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले संविधान निर्माण प्रक्रियामा भइराखेको व्यवधानमा भारतको हात रहेको आशंकामा यस्तो अभिव्यक्ति दिएका थिए । तर उक्त समय ओलीको उक्त कदमलाई राष्ट्रवादी अडानका रूपमा हेरिएकाले यस शब्दले त्यति चर्चा पाएन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!