विश्वकपः अन्तिम खेलमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, खेर गयो वार्नरको शतक

काठमाडौं, असार २२ ।  इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले पराजित गरेको छ । ३२६ रनको लक्ष्यका साथ मैदान प्रवेश गरेको अष्ट्रेलिया ४९.५ ओभरमा सबै विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो ।

उसका लागि ओपनर डेविड वार्नरले १५ चौका र २ छक्काको मद्दतमा ११७ बलमा १२२ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । जारी विश्वकपमा वार्नरको यो तेस्रो शतक हो । त्यस्तै एलेक्स केरिले ८५, मार्कस स्टोइनिसले २२, उश्मान ख्वाजाले १८, मिचेल स्टार्कले १६, ग्लेन म्याक्सवेलले १२, जोसन फेबनड्रफले नट आउट ११ रन बनाए ।

बलिङमा कागिसो रबाडाले ३, ड्वनी प्रिटोरियस र एन्डिलो फेहलुवकलो २–२, इमरान ताहिर र क्रिस मोरिसले एकएक विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२५ रन बनायो ।

उसका लागि कप्तान फाफ डुप्लेसिसले शतक बनाए । उनले २ छक्का र ७ चौकाको मद्दतमा ९४ बलमा १०० रन बनाए । यस्तै रस्सी भान डुरड्युसनले ९५, क्विन्टन डिककले ५२, एडिन मार्कमले ३४, जेपी डुमिनीले १४ रन बनाए । बलिङमा अष्ट्रेलियाका नाथन लायन, मिचेल स्टार्कले २–२, प्याट कमिन्स र जोसन फेहनड्रफले एकएक विकेट लिए ।

यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेका न्यूजिल्याण्डसँग जुलाई ९ मा पहिलो सेमिफाइनल खेल्ने छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलिया र तेस्रो स्थानमा रहेको इंग्ल्याण्डबीच जुलाई ११ मा दोस्रो सेमिफाइन खेल हुने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!