कंग्रेस अध्यक्षले दिए राजीनामा

काठमाडौँ, असार १९ । भारतको प्रमुख विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा दिएका छन् ।

गान्धीले हालैको लोकसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको समेत जिम्मेवारी लिएका छन् । लामो समयको अड्कलबाजीपछि उनको यस्तो निर्णय आएको हो ।

उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका छन्।

उनले उक्त पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन्।

उनले राजीनामा दिने आफ्नो मनसाय यसअघि नै घोषणा गरेका थिए। तर पार्टी नेताहरूले भने उनले आफ्नो मनस्थिति बदल्ने आशा गरेका थिए।

गान्धीका पिता, हजुरआमा र जिजुबुवा सबै भारतका पूर्व प्रधानमन्त्री थिए।

जितबाट चकित

आफ्नो राजीनामा पत्रमा उनले सत्तारुढ भारतीय जनता पार्टी बिजेपीप्रति आफ्नो कुनै “द्वेष वा रिस” नरहेको बताए पनि उनले भारतको बारेमा उक्त पार्टीको विचारको आफ्नो शरीरको प्रत्येक कोषले विरोध गर्ने बताए। र, त्यस्तो विचार द्वेष र मतभेदमा आधारित रहेको पनि उनले बताए।

उनले चुनावको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् र भनेका छन् “हामीले राजनीतिक पार्टीसँग लडेका होइनौं… हामीले भारतको समग्र पद्दतिसँग लडेका हौं।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको बिजेपी पार्टी हालैको चुनावमा भारी मतसहित विजयी भएको थियो।

चुनावमा निकट प्रतिस्पर्धा हुने ठानेका विपक्षी दल र विद्वानहरू उक्त जीतबाट चकित भएका थिए।

राजीनामा पत्रमा के छ

राहुल गान्धीले राजीनामा पत्रमा कंग्रेसका लागि काम गर्नु सम्मानको विषय भएको बताएका छन्।

पार्टीको आदर्श सुन्दर भारतको जीवनशक्ति रहेको बताउँदै उनले सन् २०१९ को लोकसभा चुनावमा आफ्नो पार्टीको हारको जिम्मेवारी आफ्नो भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

भविष्यमा पार्टीको विस्तारका लागि जवाफदेहिता एकदमै महत्त्वपूर्ण रहेको पनि उनले बताए। यही कारणले नै आफुले कंग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको उनले बताए।

पार्टीलाई फेरि बनाउनका लागि कडा निर्णयको जरुरी भएको उनले बताए।

लोकसभा चुनावको हारका लागि धेरै मानिसहरूलाई जवाफदेही बनाउनुपर्ने जरूरी रहेको भन्दै उनले अरूलाई जवाफदेही बनाउने तर आफ्नो जवाफदेहिताको कुरा चाहिँ बेवास्ता गर्नु अन्याय हुने बताएका छन्।

आरोप अस्वीकार

सन् २०१४ को चुनावमा कंग्रेस पराजित हुँदा पनि राहुल गान्धी नै पार्टी अध्यक्ष थिए। त्यतिबेला ५४३ सिट मध्ये कंग्रेसले जम्मा ४४ सिटमात्रै जितेको थियो। यो वर्ष उसले ५२ सिट ल्याएर केही राम्रो गर्‍यो तर धेरैले यसलाई “अपमानित गर्ने प्रदर्शन” भनेका छन्।
गान्धीले उत्तरी राज्य उत्तर प्रदेशको आफ्नो पारिवारको निर्वाचन क्षेत्र अमेठीमै पनि हार बेहोरे। तर दक्षिणी राज्य केरलामा अर्को सिट जितेका कारण उनी सांसदचाहिँ छन्।

सत्तामा आए यता मोदीको शक्तिशाली नेतृत्वअन्तर्गत अल्पसङ्ख्यक र खस्किँदै गएका राज्यका निकायमाथि लक्षित गरिएको आरोप बिजेपीलाई लाग्दै आएको छ। तर उक्त पार्टीले भने निरन्तर रुपमा त्यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ।

कंग्रेसको भावी नेतृत्व

कंग्रेस पार्टीका कतिपय सहयोगीले आफूलाई अध्यक्ष पदका लागि आउँदो चुनाव गर्न भनेको पनि राहुल गान्धीले बताएका छन्।
पार्टीको नयाँ अध्यक्ष जो भए पनि त्यो आफूले चयन गर्नु ठिक नहुने उनले बताए।

आफ्नो पार्टीको इतिहास र विरासत विशाल भएको भन्दै उनले पार्टीको संघर्ष र मर्यादाको सम्मान गर्ने बताए।

उनले पार्टीले नेतृत्वको बारेमा एकदमै सही निर्णय गर्नेमा आफू विश्वस्त रहेको र नयाँ नेतृत्वले पार्टीलाई साहस, प्रेम र इमानदारीपूर्वक अघि बढाउने उनले बताए।

“अध्यक्ष पदबाट राजीनामा दिए लगत्तै मैले कंग्रेसको वर्किङ कमिटीमा रहेका आफ्ना सहकर्मीलाई नयाँ अध्यक्ष चयनका लागि एउटा समूह बनाएर उसैलाई जिम्मेवारी दिन सल्लाह दिएको छु,” उनले लेखेका छन्।

त्यस्तो समूहलाई नयाँ अध्यक्ष खोज्न आफूले मद्दत गर्ने र त्यसो गर्दा कंग्रेसको नयाँ नेतृत्व खोज्न निकै सजिलो हुने उनले बताए।
उनले आफ्नो संघर्ष सजिलै सत्ता पाउनु नरहेको पनि उल्लेख गरेका छन्।

गान्धीको राजीनापत्रले भारतभर समाचार शिर्षकहरू बनाएका छन् र उनको नामको ह्यासट्याग भारतमा ट्वीटरमा ट्रेण्डिङ भइरहेको छ।

उनको राजीनामासम्बन्धी निर्णयमा मानिसहरूले दुख र आक्रोशदेखि व्यङ्ग्यसम्म व्यक्त गरेका छन्।
अन्यले चाहिँ यो राजीनामाले कंग्रेस पार्टीको भविष्यमा के अर्थ राख्छ भनेर अनौठो मानेका छन्। बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!