आधुनिक प्रविधि प्रयोगबाट केराको बेर्ना उत्पादन

टीकापुर, असार १८ । कैलालीको टीकापुर केरा खेतीका लागि प्रख्यात क्षेत्र छ । केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै आइरहेको टीकापुरमा आधुनिक प्रविधिको प्रयोग गरेर केराका बेर्ना उत्पादन सुरु गरिएको छ ।

‘टिस्यु कल्चर’ भनिने उक्त प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु भएपछि यस क्षेत्रमा थप किसान समेत केरा खेतीप्रति आकर्षित भइरहेका छन् । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण यसतर्फ बढिरहेका बेला केराको बेर्ना राम्रो नपाइँदा असहज भइरहेको थियो । यसैक्रममा टीकापुरका दुई युवा कृषक देवी कोइराला र टेकेन्द्र धामीले भित्र्याएको ‘टिस्यु कल्चर’ प्रविधि यस क्षेत्रमा केरा खेती विस्तारमा निकै सहयोगी हुने केरा किसानहरूको विश्वास छ ।

केराको गुणस्तरीय बीउ अभावका कारण अपेक्षाअनुसार खेती फस्टाउन नसकेपछि आफूहरूले केराको बीउ उत्पादन गर्ने आधुनिक प्रविधि ‘टिस्यु कल्चर’ भित्र्याएको टीकापुर नगरपालिका–४ का युवा कृषक कोइरालाले बताए । ८ वर्ष पहिलेदेखि केरा खेती सुरु गरेका कृषकद्वयले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गरिरहेका छन् । भारतको गुजरात राज्यस्थित अहमदाबादको एबीसी बायो टेक्नोलोजी कम्पनीबाट ‘टिस्यु कल्चर’ प्रविधिसम्बन्धी तालिम लिएपछि उनीहरूले केराको बेर्ना उत्पादन सुरु गरेका हुन् ।

कोइरालाले भने, गतवर्ष हामीले गुजरातको एबीसी कम्पनीमा गएर तालिम लिएपछि केराको बेर्ना उत्पादन सुरु गरेका हौं । बेर्ना हुर्काउनका लागि ग्रिन हाउस निर्माण, हाइटेक नर्सरी निर्माण, बोटको उपचार पद्धतिका बारेमा तालिम लिएपछि सजिलो भएको कोइरालाको भनाइ रहेको छ ।

ललितपुरमा रहेको जी सेभन कम्पनीको प्राविधिक सहयोगमा १० कट्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झन्डै २० लाख रुपियाँ लगानी गरिएको छ । नर्सरीबाट ‘टिस्यु कल्च’ र प्रविधिमा जिनाइन र विलेयम जातका केराको बेर्नाका साथै सुन कागती र अनारका बेर्ना पनि उत्पादन भइरहेका छन् ।

‘टिस्यु कल्चर’ भनेको ल्याबबाट तन्तु प्रजनन गरेर बिरुवा निकाल्ने प्रविधि हो । यो प्रविधिबाट उत्पादित केराका झन्डै तीन लाख बेर्ना बिक्री भइसकेको कृषक टेकेन्द्र धामीले बताए । अत्याधुनिक ल्याबबाट उपचार गरेर उत्पादन गरिएका केराका बेर्नाहरूमा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ । धामीले भने, यो वर्षमात्रै हामीले झन्डै तीन लाख बढी बिरुवा बिक्री गरेका छौँ । ‘टिस्यु कल्चर’ प्रविधिको बेर्नाबाट कैलाली र कञ्चनपुरमा केरा खेती विस्तार भइरहेको छ । बेर्नाको परनिर्भरता हटाउने उद्देश्यले आफूहरूले यो प्रविधिबाट बेर्ना उत्पादन थालेको धामीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!