विश्वकपः भारत सातौं पटक सेमिफाइनलमा, बंगलादेश २८ रनले पराजित

काठमाडौं, असार १८ । भारत १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति बंगलादेशलाई ३९ रनले हराउँदै भारत सातौं पटक वान डे विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । भारत यसअघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा सेमिफाइनल पुगेको थिए । मंगलबार बर्मिङ्घममा भारतले दिएको ३१५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेश ४८ ओभरमा २८६ रनमै सेमटियो ।

उसका लागि शाकिव अल हसनले ६६, मोहम्मद सैफउद्दिनले अविजित ५१, सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकुर रहीमले २४, कप्तान मसरफे मुर्तुजाले ८, रुबेल हुसेनले ९ र मोसाद्दिक होसैनले ३ रन बनाए । बलिङमा भारतका जसप्रित बुमराहले ४, हार्दिक पाण्ड्याले ३, मोहम्मद शामी, युजवेन्द्र चहल र भुवनेश्वर कुमारले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनायो । उसका लागि रोहित शर्माले शतक बनाए । उनले ५ छक्का र ७ चौकाको मद्दतमा ९२ बलमा १०४ रन बनाए ।

जारी विश्वकपमा रोहितको यो चौथो शतक हो । यस्तै केएल राहुलले ७७, ऋषभ पन्तले ४८, महेन्द्रसिंह धोनीले ३५, कप्तान विराट कोहलीले २६, दिनेश कार्तिकले ८ रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले ५, शाकिव अल हसन, रुबेल हुसेन र सौम्य सरकारले एक–एक विकेट लिए । यो हारसँगै बंगलादेश सेमिफाइनल दौडबाट बाहिरिएको छ । उसले आफ्नो अन्तिम खेल ५ जूलाईमा पाकिस्तानसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!