भीमदत्तलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

कञ्चनपुर, असार १७ । भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी घोषणा गरिएको छ । भीनपाका सबै १९ ओटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरी नगरपालिकालाई घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणाका लागि गत बैशाखमा घरधुरी सर्भेक्षण गरी खोप लगाउन छुटेका बालबालिकाका लागि ११ रोगका विरुद्ध खोप सञ्चालन गरिएको थियो । नगरपालिकामा १५–२३ महिनाका एक हजार तीन सय ८६ मध्ये खोपबाट वञ्चित ४१ बालबालिका भेटिएका थिए ।

भीनपा स्वास्थ्य तथा सरसफाई उप शाखाका अनुसार नगर क्षेत्रमा जन्मेदेखि १५ महिनासम्मका एक हजार नौ सय दुई बालबालिका छन् । नगरपालिकाले घरधुरी सर्भेक्षणका क्रममा भेटेका सबै बालबालिकालाई बिसीजी, डिपिटी, एचबी, पोलियो, दादुरा रुबेला लगायतका ११ रोगका विरुद्ध खोप लगाएको छ । घोषणा सभाका प्रमुख अतिति डा. भट्टले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रुपमा अघि बढेको बताए ।

‘यो अभियान २०२४ सालदेखि सञ्चालन हुँदै आएको छ, यसलाई निरन्तरता दिने विश्वास गरिएको छ’ उनले भने,‘स्वास्थ्यलाई व्यवस्थित ढङ्गले अघि बढाउने गरी अघि जानु पर्छ ।’ उनले भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका बनाउन सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद दिर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका सरकारले थप कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताए । ‘आज पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ, यसमा सहयोग गर्न हुने सबैलाई धन्यवाद दिन चाहन्छौ, आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसित सहकार्यलाई निरन्तरता दिन्छौ’ उनले भने,‘ यसलाई दिगो बनाउन थप कार्यक्रम सञ्चालन गर्छौ ।’

स्थानीय तह निर्वाचनपछि स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य संस्था स्थापना, संस्थाहरुको सुदृढीकरण, जनशक्ति व्यवस्थापन, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम प्राथमिकता दिएर सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताए । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका सराहनीय भएको उल्लेख गर्दै उनले नगरपालिकाले क्षमता अभिवृद्धि, सेवा सुविधा सुविधा वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणालाई सफल बनाउने महिला स्वास्थ्य स्वयम् सेविका, कर्मचारी, स्थानीय सबैलाई धन्यवाद दिइन् । ‘आज यो दिन भीमदत्त नगरपालिकाका लागि ऐतिहासिक हो, वातावरण र सरसफाईका कुरालाई जोडेर अघि जान्छौ’ उनले भनिन्, ‘नगरपालिका नीति र कार्यक्रम बनाएर यस क्षेत्रमा लाग्छ ।’ अहिले नगरपालिकाका सबै बालबालिकाले खोप सेवा पाएको र आगाम दिनमा समेत सबै बालबालिकालाई खोप सेवा निरन्तरता दिइने नगर उप प्रमुख चन्दले बताइन् ।

नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्ग, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हजारी चन्द, महिला स्वास्थ्य स्वयम् सेविका समन्वय समितिका संयोजक भारती सिह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका विशिष्ठ अतिथि समन्वय समितिका संयोजक तामाङ्गले सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने कार्यक्रम सुरु भएको बताए । स्वास्थ्य विभागका अनुसार देशभर अझै ८३ प्रतिशत बालबालिका खोप सेवाबाट वञ्चित छन् । सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुर बाहेक पहाडी जिल्लामा खोप लगाउने बालबालिकाको दर सन्तोसजनक नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप लगाउने दर ९५ प्रतिशत पुगेपछि मात्रै सन्तोसजनक मानिने बताए । भीनपाको स्वास्थ्य तथा सरसफाई उप शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि साँसद भट्टले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । उप शाखा प्रमुख भीम बहादुर महराले सञ्चालन गरेको कार्यक्रममा भीनपाका सबै वडाका अध्यक्ष सहित जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविका, पत्रकार सहभागी भएका छन् ।

माहाकाली कोरिडोर निर्माण सुरु हुन्छः  साँसद भट्ट
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद भट्टले माहाकाली कोरिडोर निर्माण कार्य छिट्टै सुरु हुने बताए । ‘वातावरणी प्रभाव मूल्याङ्कन (इआइए) गरी अध्ययन टोली फर्किएको छ, त्यो टोलीले रिपोर्ट फाइनल गरी सार्वजनिक सुनुवाई गर्छ’ घोषणा सभामा उनले भने,‘त्यसपछि महाकाली कोरिडोर निर्माण अघि बढ्छ ।’ पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा ब्रह्मदेबदेखि दार्चुलाको टिंकरसम्म महाकाली लोकमार्ग अर्थात महाकाली कोरिडोर निर्माण सुरु गरिएको थियो । भीनपा ९ ब्रह्मदेबमा केही स्थानीयले विरोध गरेपछि निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो । त्यसपछि बैतडीबाट कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

साँसद भट्टले महाकाली कोरिडोर कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउन महत्वपूर्ण मार्ग हुने भएकाले यसको निर्माणलाई प्राथमिकता दिएका छन् । उनले महाकाली कोरिडोर दोधारा चाँदनीदेखि दार्चुला टिंकरसम्मको हुने बताए । ‘महाकाली चार लेनको पुल निर्माण भई रहेको छ, त्यहाँ सुख्खा बन्दरगाहको कुरा गरिएको छ’ उनले भने,‘यस परिप्रक्ष्यमा अब कोरिडोर दोधारा चाँदनीदेखि टिंकरसम्मको हुन्छ ।’

साँसद भट्टले निर्वाचनलाई महाकाली कोरिडोरको मुद्दालाई प्रथामिकताका साथ उठाएका थिए । उनीसंगै चुनाव पराजित तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पनि यस मुद्दालाई उठाएका थिए । लेखकले चुनावमा कोरिडोरको मुद्दा ल्याए पनि आफ्नो कार्यकालमा त्यसलाई वेवास्ता गरेका थिए । उनले महाकाली लोकमार्गलाई वेवास्ता गरी पश्चिम सेती लोकमार्ग निर्माणका लागि कार्यालय स्थापना गरेका थिए । लेखक आफैंले कार्यालय उद्घाटन गरेका थिए ।

साँसद भट्टको पहलमा सरकारले गत वर्षदेखि महाकाली कोरिडोरलाई प्राथमिकता दिएर वातावरणी प्रभाव मूल्याङ्कन अध्ययनका लागि टीम परिचालन गरेको थियो । साँसद भट्टले संघीय शासन व्यवस्था नयाँ संरचना भएकाले केही अलमल देखिए पनि विस्तारै सहज हुँदै गएको बताए । ‘संघीयता गइ सकेपछि त्यसमा केही अलमल भयो, कर्मचारी समायोजनले अझै पूर्णता पाउन सकेको छैन, यद्यपि त्यसमा ९० प्रतिशत काम सकिएको छ’ उनले भने,‘यस्ता अरु पनि कुराहरु सहज भइ रहेका छन्, अब अन्यौलता हटेर जान्छ ।’

महाकाली अञ्चल अस्पताल, मझगाउँ विमानस्थल सञ्चालन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्वास्थ्य विज्ञान विषय पठनपाठनलाई प्राथमिकता दिइएको साँसद भट्टले बताए । महाकाली अञ्चल अस्पतालको व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले चार करोड बजेट विनियोजन गरेकोमा धन्यवाद दिर्दै उनले यसले सुधारमा सहयोग पुग्ने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यस वर्ष सबै निकुञ्ज भन्दा बढी बजेट पाएको उल्लेख गर्दै उनले भने,‘यस क्षेत्रको विकासका लागि सबैसित सहकार्य र समन्वय गरी जान्छौ, स्थानीय, प्रदेश र संघीय सरकारसित सधैं पहल गर्छौ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!