विश्वकप क्रिकेटः श्रीलंकासँग वेस्ट इन्डिजको लगातार चौथो हार

काठमाडौं, असार १७ । इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३९औं खेलमा वेस्ट इन्डिजविरुद्ध श्रीलंका २३ रनले विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो । उसका लागि निकोलस पूरनले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ५ छक्का र ११ चौकाको मद्दतमा १०३ बलमा ११८ रन बनाए ।

जारी विश्वकपमा पूरनको यो पहिलो शतक हो । यस्तै फाबियन एलनले ५१, क्रिस गेलले ३५, शिमरोन हिटमायरले २९, जोसन होल्डरले २६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।बलिङमा लसिथ मलिंगाले ३, एन्जेलो म्याथ्युज, कसुन रजिथा र जेफ्रि भेन्ड्रसीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएका श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनायो । उसका लागि लागि २१ वर्षीय अनुष्का फर्नान्डोले शतक बनाए । उनले २ छक्का र ९ चौकाको मद्दतमा १०३ बलमा १०४ रन बनाए ।

यस्तै कुसल परेराले ६४, कुसल मेन्डिसले ३९, कप्तान दिमुथ करुणारत्नेले ३२, एन्जेलो म्याथ्युजले २६, लाहिरु थिरिमनेले नट आउट ४५ रन बनाए । बलिङमा कप्तान जोसन होल्डरले २, सेल्डन कोट्रेल, ओसेन थोमस र फाबियन एलनले एक–एक विकेट लिए ।

विश्वकपमा श्रीलंकासँग लगातार चौथो पटक हार
यो जीतसँगै श्रीलंकाले विश्वकपमा वेस्ट इन्डिजलाई लगातार चौथो पटक हराउन सफल भएको हो । विश्वकपमा श्रीलंकाले वेस्ट इन्डिजविरुद्ध अन्तिम पटक १९९२ मा हार बेहोरेको थियो । उक्त खेलमा वेस्ट इन्डिज ९१ रनले विजयी भएको थियो । श्रीलंकाले वेस्ट इन्डिजलाई हराएसँगै जारी विश्वकपमा तेस्रो जीत हासिल गरेको छ । श्रीलंका ८ खेलमा ८ अंक जोड्दै तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसले अंक तालिकामा बंगलादेशलाई पछि पार्दै छैठौं स्थानमा स्थान बनाएको हो ।

वेस्ट इन्डिज भने अंक तालिकाको नवौं स्थानमा झरेको छ । उसले ८ खेलमा ३ अंक मात्र जोड्न सफल भएको छ । श्रीलंका आउँदो खेल ६ जुलाईमा भारतसँग खेल्ने छ । यस्तै वेस्ट इन्डिजले जारी विश्वकपको अन्तिम खेल ४ जुलाइमा अफगानिस्तानविरुद्ध खेल्दैछ । वेस्ट इन्डिज सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । सेमिफाइनल पुग्ने श्रीलंकाको सम्भावना पनि अत्यन्तै न्यून छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!