विश्वकप छनाेटका लागि राष्ट्रिय टिमको घोषणा, को–को परे टिममा?

काठमाडाैं, असार १६ । अष्ट्रेलियामा सन २०२० मा हुन लागेको टि २० विश्वकप क्रिकेट एसियाली छनाेटका लागि पारस खड्काको कप्तानीमा राष्ट्रिय टिमको घोषणा भएको छ । आइतबार घोषणा भएको टिममा प्रायः पुराना अनुहारहरु देखिएका छन् । कार्यक्रममा कप्तान पारस खड्का, मुख्य प्रशिक्षक उमेश पटवाल र व्यवस्थापक रमन सिवाकोटी उपस्थित थिए ।

आईसिसीका प्रतिनिधि अमिनुल इस्लाम, कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटवाल सम्मिलित छनोट समितिले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदस्यीय टिमको घोषणा गरेको हो । गत माघमा भएको युएईविरुद्धको एकदिवसीय र टि–२० सिरिजमा नपरेका शदर भेषवाकर अहिले भने टिममा अटाएका छन् ।

यसैगरी यूएईविरुद्धको सिरिजमा टिममा रहेका सन्दीप जोरा र भीम सार्की भने टिममा परेनन् । यस्तै, नेपाली टिमका नियमित सदस्य आरिफ सेख वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

आइतबार पारस खड्काको कप्तानीमा घोषणा गरिएको नेपाली टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै, प्रदीप ऐरी, विनोद भण्डारी, शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले पनि टिममा स्थान बनाएका छन् । टोलीका अन्य सदस्यमा दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, पवन सर्राफ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी रहेका छन् ।

यसैगरी आरिफ सेख, कुशल भुर्तेल, सुशन भारी र जितेन्द्र मुखिया वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । नेपाली टिमको प्रमुख प्रशिक्षकमा उमेश पटवाल रहेका छन् ।

टि–२० विश्वकपको एसिया छनोट सिंगापुरमा जुलाई २२ देखि २८ (साउन ६ देखि १२ गते)सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल र सिंगापुरसहित ५ टिम सहभागी छन् । जसमा नेपाल, सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

नेपालले साउन ७ गते मंगलबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै, नेपालले ८ गते बुधबार मलेसिया, ११ गते शनिबार कुवेत र १२ गते आइतबार कतारसँग खेल्ने छ ।

५ टिम सहभागी छनोटको शीर्ष स्थानमा रहने टिमले टि–२० विश्वकपको ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बरसम्म युएईमा आयोजना हुने छ । आयोजकका नाताले युएईले स्वतः ग्लोबल छनोट खेल्ने छ ।

नेपालले टि–२० विश्वकपको एसियाली छनोटको तयारीका लागि मलेसियासँग २ खेलको अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्ने छ । सिरिज असार २८ र २९ गते मलेसियामा हुने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!