एनआरएन यूएईको अधिबेशन अगस्ट १६ मा, यूएईको कानुनअनुसार चल्नुपर्ने बाध्यता

यूएई, जेठ २९ । गैर आवासीय नेपाली संघ (एनआरएन), यूएईको कार्यसमिती बैठकले अगस्ट १६ तारिखमा अधिवेशन गर्ने निर्णय गरेको छ । एनआरएन यूएईले अधिवेशन सम्पन्न गर्न सल्लाहकार राजेश दर्शन अर्यालको सँयोजकत्वमा निर्वाचन समिती गठन गरेको छ ।

मिती घोषणा गरिएपनि तोकिएको मितीमा अधिवेशन हुनेमा भने अन्यौलता छाएको छ । एनआरएन, यूएई नेपाल एसोसिएसनको नाममा दुबईमा दर्ता भएपश्चात यूएईको कानूनतः अघि बढ्नुपर्ने बाध्यता रहेको छ भने अन्तराष्ट्रिय समन्वय परिषदको बिधानत अधिवेशन नगरेमा एनआरएन यूएईको भविष्य के हुने भन्ने ? अन्यौलता छाएको हो । अधिवेशनको मिती तोके पनि नेपाल एसोसियसनको बिधान देखाएर अधिवेशन गर्न नदिने र यही समितिलाई अर्को कार्यकाल सम्म लम्ब्याउन केही ब्यक्तिहरु लागिपरेका कार्यसमितिकै एक सदस्यले बताए ।

यही विषयमा छलफल गर्न एनआरएन यूएईले गत महिना सर्वपक्षिय बैठक आह्वान गरेको थियो । बैठकले अहिले देखिएको अन्यौलताबारे अध्ययन गरी सुझाब दिन मध्यपूर्व उपसंयोजक गोपाल कंडेलको अध्यक्षतामा समिति गठन गरेको थियो । श्रोतका अनुसार कंडेल समितीले सबैलाई विश्वाशमा लिएर सहमतीमा अधिबेशन गर्न सुझाव दिएको छ । आईसीसीले समेत अधिबेशन गर्नुपर्ने भन्ने सुझाव दिएकोले बर्तमान कार्यसमितिलाई जसरी पनि अधिवेशन गर्नुपर्ने दबाब बढेको अनुमान गरिन्छ। यद्यपि एनआरएन कार्यसमितीले थप निर्णय लिन भने बाँकी छ ।

एनआरएन यूएईका अध्यक्ष तथा नेपाल एसोसियसनका म्यानेजर रमेश श्रेष्ठले तोकिएको मितीमा अधिबेशन हुने बताएका छन् । सबैको सहमतीमा अधिवेशन गराउँछौ, श्रेष्ठले भने, केही कानुनी जटिलता छन् यसलाई कसरी हल गरेर जान सकिन्छ भनेर छलफलमा छौं । यूएईमा रहेका नेपालीहरुको हीतको लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्