फेरि बुधबार बिहानैदेखि भीषण हावाहुरी, तीन दिनसम्म ठूलो हावाहुरी र चट्याङसहित भारी बर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं, जेठ २९ । गएको बिहीबार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको थियो भने सय बढि घाइते भएका थिए । ७५ लाख भन्दा बढिको विद्युतिय क्षति भएको थियो ।

ती जिल्लामा फेरि बुधबार बिहानैदेखि भीषण हावाहुरी आएको छ । हावाहुरी चलेपछि स्थानीयवासीहरु पहिलाकै अवस्था सिर्जना हुने डरले आत्तिएका छन् । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ ।

बिहान ठूलो हावाहुरी चलेर केही क्षेत्रमा पानीसमेत परेको थियो । तर सो वायुको प्रभाव कम हुँदै गएकाले खतरा नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने सम्भावना रहेको बताउँदै महाशाखाले सचेत रहन आग्रह समेत गरेको छ ।

चट्याङ लाग्दा डडेल्धुरामा एक बालिका मृत्यु

स्कुल जान तयरी गर्दै गरेकी एक बालिकालाइ चट्याङ लाग्दा डडेल्धुरामा मृत्यु भएको छ। त्यस्तैगरी अन्य तीनजना घाईते भएका छन् । मृत्यु हुनेमा परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

बुधबार बिहान विद्यालय जान तयारी गर्दै गर्दा उनलाई चट्याङ लागेको थियो । गम्भीर घाईते भएपछि उपचार गर्न अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए । संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

त्यसैगरी चट्याङका कारण सोही स्थानका ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाईते भएका छन्। घाइतेमध्ये भरतको अवस्था गम्भीर प्रहरीले बताएको छ । घाईते तीनै जनालाई उपचारका लागि अस्पताल पठाईएको प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्