मासु पसलको अनुगमन

सिमकोट, जेठ २२ । सिमकोट बजारमा संचालित मासु पसलको अनुगमन गरिएको छ ।

बजारमा नेपालगञ्जबाट आउने कुखुराको मासुको अवस्था र गुणस्तरीयता जाँच गर्नका लागि सिमकोट गाउँपालिका पशु विकास शाखाको आयोजनामा सो अनुगमन गरिएको हो ।

सिमकोट बजारको एयरपोर्ट चोकदेखि काठेचुलीसम्म रहेका एक दर्जन मासु पसलहरुको अनुगमन गरिएको शाखाका संयोजक हिराजन शाहीले बताए । अनुगमन गर्ने क्रममा पसलहरुमा धेरै कम मासु भेटिएको थियो । मासुलाई पशुसेवाका प्राविधिकहरुले चेकजाँच गरेका थिए । गुणात्मक मासु बिक्रीका लागि पसलेहरुलाई सुझाव दिइएको संयोजक शाहीले बताए । हिजो–आज हवाईजहाजहरुले मासु नबोक्ने भएको कारण मासुको अभाव देखिदै आएको हो ।

त्यसैगरी खसीको मासु काट्ने ठाँउको पनि अनुगमन गरिएको थियो । अनुगमनमा सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!