न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट विमोचन

काठमाडौं, जेठ १० । अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट विमोचन गरिएको छ ।

सगरमाथा आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् । शेर्पाले २३औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर २४औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

सन् २०१५को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो । हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्धार गरिएको थियो ।

पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्धारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।

कामीरिता शेर्पाले यसपटक एउटै मौसममा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड समेत कायम गरेका हुन् । सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको बिमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए ।

अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन ९दुर दर्शन ० विज्ञापन निर्माण गरेर अभिलेख कायम गरेका थिए । उनले सन् २०११ मा सगरमाथामा दुई महिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्