मोदी र ट्रमबीच कस्ता छन् समानता?

बीबीसी नेपालीः भारतमा भरखरै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी बलियो रूपमा देखा परेको छ । सो निर्वाचनको प्रचारप्रसार गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै दौडधुप गरे । दोस्रो कार्यकालको अपेक्षामा रहेका उनी १४० भन्दा बढी चुनावी कार्यक्रममा सहभागी भए ।

सन् २०१६ मा अमेरिकामा भएको निर्वाचनमा डोनल्ड ट्रम्पले पनि त्यति नै सङ्ख्यामा चुनावी सभामा सहभागिता जनाएका थिए । बीबीसीकी रजनी वैद्यनाथनले यी दुई नेताको व्यक्तिप्रधान राजनीतिक प्रवृत्तिमा देखिएका समानताबारे विश्लेषण गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा एउटा गर्मी र धुलाम्मे साँझ। रामलीला मैदानमा ठुलो भिड जम्मा भएको छ।

मैदाननजिकै सडकमा मोदीका विशाल प्रतिमा लहरै राखिएका छन्। मैदानबाहिर बाजा बजाउने टोलीले भारतमा हुने विवाह समारोहमा जस्तै बलिउडका गीतको धुन बजाउँदैछन्। मोदीको भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरू मैदान प्रवेश गर्न जम्मा हुँदैछन्। उनीहरूमध्ये केही नाच्दै र गाउँदै छन् भने केही ‘मोदी मोदी’ भन्दै नारा लगाइरहेका छन्।

प्रचारात्मक सामग्री बिक्री गर्ने व्यक्तिहरू त्यहाँ एक्कासि देखा पर्छन्। ‘तपाईँलाई भाजपा छाता चाहिन्छ?’ भाजपाको प्रतिनिधित्व गर्ने हरियो र सुन्तला रङ्ग भएको छाता खोल्दै उनले मलाई सोधे।

यस्तो किसिमको राजनीतिक उन्मादले मलाई सन् २०१६ मा डोनल्ड ट्रम्पको चुनावी सभामा देखेको ऊर्जाको स्मरण गराउँछ।

मोदीजस्तै ट्रम्पको चुनावी नारा “मेकिङ अमेरिका ग्रेट अगेन” अर्थात् अमेरिकालाई फेरि महान् बनाउने भन्ने अवधारणामा तयार पारिएको थियो।

सत्ताइस वर्षका अरुण वंसलले “नमो अगेन” अर्थात् फेरि पनि नरेन्द्र मोदी लेखिएको पहिरन लगाएका छन्।

“राष्ट्रिय सुरक्षा र पाकिस्तान यस पालिको चुनावका महत्त्वपूर्ण मुद्दा हुन्,” भाजपाका एक कार्यकर्ताले मलाई भने।

सन् २०१६ को अमेरिकी निर्वाचनलाई छिमेकी राष्ट्र मेक्सिकोप्रति ट्रम्पको कडा धारणाका रूपमा अर्थ्याउने हो भने भारतीय निर्वाचनलाई कैयौँ आधारमा भारत-पाकिस्तान सम्बन्धका विषयमा आफू कडा र उपयुक्त पात्र भएको मोदीले आभास गराउन खोजेको भन्न सकिन्छ।

मैदानभित्र प्रवेश गर्नै लाग्दा मोदीकै जस्तो भेष बनाएका कैयौँ मानिसमध्ये एक जनासँग मेरो भेट भयो। उनका अभिभावकले “लिटल मोदी” भनेर बोलाउने अत्रि सात वर्षका छन्। उनले चुनावी सभाहरूमा चार वर्षको उमेरबाटै सहभागिता जनाउन थालेका हुन्। मेरो ध्यान फेरि अमेरिकाको फ्लोरिडातर्फ गयो। त्यहाँ गर्मी मौसमको एउटा साँझ मैले ट्रम्पजस्तै देखिने कैयौँ व्यक्तिसँग भेट गरेकी थिएँ।

“मलाई मोदी राम्रो लाग्छ किनकि उनले राम्रो काम गरिराखेका छन्। उनले गरिबलाई सहयोग गर्ने गरेको सबैले भन्ने गर्छन्,” कुनै दिन प्रधानमन्त्री बन्ने सपना बोकेका अत्रि भन्छन्।

मैदानमा छिर्दै गर्दा राष्ट्रवादी सङ्गीत बजिरहेको छ र बिस्तारै सीट भरिन्छ।

दुवै नेता आफ्ना समर्थकलाई अपनत्वको अनुभूति गराउन सिपालु मानिन्छन्। अर्को कुरा भेषभूषाको।

दुवै नेताका र्‍यालीमा सहभागीहरूको शिरमा टोपी देखिन्छ। अमेरिकामा एमएजीए लेखिएको रातो टोपी थियो। यहाँ भने ‘नमो अगेन’ लेखिएको गेरु रङ्गको टोपी छ।

हरमिन्दर सिंह भाटिया नरेन्द्र मोदीको जस्तै इस्टकोट लगाएर आएका छन्। साँझको प्रकाशमा पोलिस्टरको उनको लुगा केही टल्किन्छ।

“उनी प्रधानमन्त्री भएदेखि यो क्षेत्रमा आयोजित उनका सबै र्‍यालीमा म गएको छु,” उत्साहित हुँदै उनी मलाई भन्छन्, “उनी परिश्रम गर्छन्, उनी देशबारे चिन्ता गर्छन्। उनी बलिया नेता भएकाले म उनलाई मन पराउँछु।”

मैदान भरिँदै गर्दा सूर्यास्तको बेला हुन्छ। यो भिडमा मृदुला अनेजाजस्ता महिला कति होलान् भनेर मलाई खुलदुली हुन्छ। उनी संस्कृतकी शिक्षिका हुन् र तेस्रो चोटि मोदीको र्‍यालीमा सहभागी हुँदैछिन्।

मेरो ट्विटरमा जतिखेर पनि मोदीबारे प्रेषित सामग्रीको सूचना आइराखेकै छ।

ट्र्म्पले जस्तै मोदीले पनि आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष सन्देश दिनेगरेका छन्। मोदी यो कार्यक्रममा आउँदै गर्दा मेरो फोनमा अलर्ट बजिराखेको छ।

“प्रधानमन्त्री मोदी र म सामाजिक सञ्जालमा विश्वनेता हौँ।” सन् २०१७ मा दुई जनाको ह्वाइट हाउसमा भेट हुँदा ट्रम्पले भनेका थिए। ट्विटरमा ट्रम्पका छ करोड ४० लाख फलोअर छन् भने मोदीका चार करोड ७३ लाख।

मैले फोनबाट दृष्टि मोड्दै गर्दा मोदीजस्ता अर्का व्यक्ति पनि नजिकैबाट हिँड्छन्। म उनलाई दोहोर्‍याएर हेर्छु।

रणवीर धियम सरकारी सेवाबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनी हिजोआज एउटा र्‍यालीबाट अर्को र्‍यालीमा गइराख्छन्। “यो निर्वाचनमा पाँच सय मानिस मसँग सेल्फी खिच्न आए,” उनले मलाई सगर्व भने।

मैले पनि उनीसँग सेल्फी खिँचे।

ट्रम्पजस्तै मोदी पनि कसलाई अन्तर्वार्ता दिने भनेर छान्छन्। उनको छनोटमा आफूप्रति सद्भाव राख्ने र भाजपालाई अप्ठेरो नपार्ने माध्यम हुने गर्छन्। ट्रम्पको छनोटमा फक्स न्यूज परेजस्तै।

भिड केही बेर शान्त हुँदा वास्तविक मोदी आउँदै गरेको सूचना दिइन्छ।

केही मिनेटपछि प्रधानमन्त्रीलाई करतलध्वनिले स्वागत गर्न आग्रह गर्दै उद्घोषकले उनलाई मञ्चमा स्वागत गर्छन्। त्यसका लागि उनी पाकिस्तानमा भारतले गरेको हवाई आक्रमणको सन्दर्भ जोड्दै “तालीको हवाई आक्रमण” भन्ने आशयको शब्दावली प्रयोग गर्छन्।

समर्थकहरू चिच्याउँदै र मोबाइल फोन बजाउँदै एकै स्वरमा “मोदी, मोदी” को नारा घन्काउँछन्।

आफ्नो भाषण थाल्दा मोदी “भारत माताको जय” भन्छन्।

फेरि मैले २०१६ को अमेरिकी निर्वाचनमा “यूएसए, यूएसए” को नारा लगाएको सम्झिएँ।

ट्रम्पले जस्तै मोदी पनि समर्थकसँग नबोलीकनै सङ्केतबाट अन्तर्क्रिया गर्न रुचाउँछन्।

“के हामीले आतङ्कारीलाई तिनकै देशमा मार्नु हुँदैन र?”, उनी सोध्छन्, “मलाई भन्नुहोस् – पर्दैन त?”

“पर्छ,” भिडले उत्तर दिन्छ।

मोदी आफ्ना प्रमुख प्रतिद्वन्द्वी तथा कङ्ग्रेस पार्टीका नेता राहुल गान्धीको आलोचना गर्न पनि छोड्दैनन्।

मोदी र ट्रम्प दुवै जना अभिजात वर्गलाई रुचाउँदैनन्। दुवै जनाले राजनीतिक परिवारका व्यक्तिसँग प्रतिस्पर्धा गरेका छन्। ट्रम्पले पूर्वराष्ट्रपतिकी पत्नी हिलरी क्लिन्टनसँग र मोदीले नेहरू-गान्धी परिवारका उत्तराधिकारी राहुल गान्धीसँग।

“उनीहरू आफ्ना पूर्वजको नाम भजाउँदै मत माग्छन्। तर तिनका पूर्वजले के गरे भनेर सोद्धा उनीहरू रिसाउँछन्।” मोदीले यसो भन्दा सयौँ समर्थकहरू सहमति जनाउँछन्।

राहुल गान्धीका दिवङ्गत पिताको आलोचना गरेकाले मोदी अलोकप्रिय भएको धेरैलाई लाग्यो। तर उनले आलोचान गर्न छोडेनन्।

सन् १९९१ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री राजीव गान्धीलाई मोदीले “भ्रष्टाचारी नम्बर एक” भनेका थिए।

यसले मलाई डोनल्ड ट्रम्पले सिनेटर जोन मक्केनलाई लक्षित गर्दै प्रयोग गर्ने उस्तै अपमानजनक भाषा सम्झायो।

दुवै जना आफू स्पष्टवक्ता भएको भनेर गौरव गर्छन्। तर उनीहरूको भाषण कहिलेकाहीँ अप्रिय पनि हुने गरेको छ। बीबीसी नेपालीबाट

कमेन्ट गर्नुहोस्