युवा संघका संयोजक दीपशिखा भन्छन्, ‘अब युवाले सडकमा झण्डा बोक्दै टायर बाल्न जानु पर्दैन’

काठमाडौं । पार्टी एकीकरण भएपछि एक वर्षको निष्कृय राजनीतिक जीवन सहज भएन । जिम्मेवारी र सकृयता विहीनताको अवस्थामा एक वर्ष बित्यो । पार्टीले एकताको काम कहिले टुग्याउँछ भनेर प्रतिक्षा गर्दै बित्यो एक वर्ष । मिनेटकै किन नहोस्, प्रतिक्षाको घडी चाहिँ निकै लामो हुन्छ भने झै यो एउटा हिसाबले प्रतिक्षा थियो । त्यसकारण एक वर्ष कष्टपूर्ण पनि रह्यो ।

खासगरी पार्टी एकता अगाडि तत्कालिन एमाले र माओवादी केन्द्रले पूरा गर्नुपर्ने एकताका सर्तहरु पूरा नगरी हतारमा एकता गरिएको थियो । एकै चोटी पार्टी एकता घोषणा गरिएको थियो । पार्टीको सिद्धान्त के हुने रु विचार के हुने रु केन्द्रीय सदस्य संख्या कति रहने, संगठनात्मक एकता प्रकृया के हुने भन्ने कुराहरु टुंगो नलगाइ केन्द्रमा एकता गरिएको थियो । त्यसअर्थमा एकता प्रकृयाले वर्ष दिन लिनु अस्वभाविक होइन । किन भने एकताका आधारभूत काम गर्न त बाँकी नै थिए । घोषणा बाहेक केही पनि भएको थिएन ।

अनि अर्को कुरा, यदि यो सबै कुरा मिलाएर मात्रै एकता गर्ने भनिएको भए पनि पार्टी एकता संभव थिएन । किन भने त्यो बेला पदीय भागबण्डा, जिम्मेवारी बाँडफाँड, विचार राजनीतिका कुरा र अन्य थुप्रै कुराहरुमा अल्झन लागेको भए पार्टी एकता हुनुको सट्टा झनै बिथोलिने काम हुनसक्थ्यो । एक वर्षपछि आएर एकताको काम टुंग्याइँदै गर्दा त केही तिक्तता छन् भने त्यति नै बेला यो सबै सम्भव हुने कुरा नै भएन ।

पहिलेको युवा संघ र वाईसीएल जस्तो हुँदैन
फरक लयमा रहेका दुईवटा संगठनलाई अब एउटै बनाएर लैजानु पर्ने जिम्मेवारी छ । यसमा अवसर र चुनौती दुवै उत्तिकै छ । दुईवटा संगठनले विगतमा जे राम्रा काम गरेका थिए तिनलाई अंगिकार गर्दै अबको नयाँ परिवेश अनुसार निर्माण भएको संगठनले त्यसलाई अघि बढाउँछ ।

यो संगठन न त पहिलेको वाईसीएल जस्तो हुन्छ न त पहिलेको युवासंघ जस्तो नै । यो त अब विशुद्ध रुपमा सकारात्मक कामका लागि अघि बढ्छ । राज्य निर्माणका लागि अघि बढ्छ ।

विगतमा राजनीतिक जागरण ल्याउनका लागि, राजनीतिक परिवर्तनका लागि संगठनले काम गरेको थियो । तर अब राजनीतिक परिवर्तन हामीले ल्याइसकेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । अब संघीयता कार्यान्वयनलाई स्थायित्व दिने भन्नेमा हामी लाग्नुपर्छ ।

बिहीबार एकताको घोषणा भइसकेपछि एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को युवासंघले संयोजक र सहसंयोजक बल्ल पाएको छ । अझै पनि विधान छैन, झण्डा छैन, कमिटी छैन । संयोजक र सहसंयोजक मात्र बल्ल मिलेको हो ।

तर अब हामीले निरन्तर रुपमा यो कमिटीलाई अबको एक महिनामा नै पूर्णता दिनेगरी जिल्ला जिल्लामा अधिवेशन सक्नेगरी अघि बढ्नेछौँ ।

अब निर्माण तर्फ
अबको केही समय संगठन मिलानका लागि समय खर्च हुन्छ । संघले पूर्णता पाएसँगै यसको हरेक क्रियाकलाप देश निर्माणका निमित्त हुनेछ । अब युवाहरु सडकमा टायर बाल्न जाने, सडकमा रातो टिसर्ट लगाएर मार्चपास गर्ने, सडकमा झण्डा बोकेर दौडने दिन गए । सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल नारालाई सार्थकता तुल्याउने गरी युवासंघले तमाम युवालाई निर्माण कार्यमा जोड्ने अभियान चलाउने छ ।

सरकारले अघि सारेको विकास निर्माणका योजनामा युवासंघलाई काम गर्ने जिम्मा देओस् । सरकारले बस्ने-खाने व्यवस्था गरिदेओस्, श्रम गर्ने र परिश्रम गर्ने काम युवा संघले गर्छ । युवाहरुले गर्नेछन् ।

तर यो भन्दै गर्दा युवासंघलाई निर्माणको ठेक्का दिइयोस भनेको होइन । सरकारले स्वयंसेवा केन्द्र स्थापना गरोस त्यो माध्यमबाट युवाले देशका लागि केही ‘कन्ट्रिब्युट’ गर्ने मौका पाओस । त्यसका लागि युवासंघले सरकारसँग आह्वान गर्छ ।

अबको युवा संघको उद्धेश्य पनि यही हो । अहिले त राज्यका लागि आफूले जानेका सीप प्रयोग गर्छु भन्दा पनि पाउने अवस्थामा छैन । यदि सरकारले स्वयंसेवा केन्द्र स्थापना गरिदिने हो भने त केही वर्षमा लाखौँ लाख युवाले आफूले जानेका सीप ‘कन्ट्रिब्युट’ गर्नेछन् ।

सरकारले छिट्टै राष्ट्रिय स्वंयसेवा केन्द्र स्थापना गरोस्, अनि त्यसको विधि प्रकृया बनाओस् र देशका लागि आफ्नो सीप अनुसार के गर्न चाहन्छौ भनेर आह्वान गरोस् । अनि स्वंयसेवा गरेबापत उसको योगदानको मूल्यांकन होस् । यो सबैका लागि नीति बनाउन सरकारलाई अब युवासंघले झकझकाउँछ । यति भइदियो भने मात्रै पनि देश निर्माणको चरणमा अघि बढ्छ ।

त्यसैले अब युवा संघ यस्तै रचनात्मक काम गर्न अग्रसर हुन्छ र अबका दिनमा गर्छ । सरकार र नागरिकका बीचमा भर्‍याङ बनेर युवासंघले कार्यत्रहरु सञ्चालन गर्ने छ ।

सरकारले काम गर्न सकेन

अहिले सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको छैन । यसको अर्थ सरकारले काम गरेको छैन भन्ने होइन । केही नीतिगत समस्याका कारण, केही विभिन्न समस्याका कारण अपेक्षा अनुरुप काम हुन नसकेको हो । धेरै जसो नीति निर्माणको काम सकिएको छ ।

अब बल्ल काम गर्ने चरणमा सरकार पनि पुगेको छ । तिब्र विकास होस्, आर्थिक सूचकांक माथि पुगोस भन्ने चाहना सबैको हो । तर यो भनेर मात्रै हुने होइन । त्यसका लागि आवश्यक नीति निर्माणदेखि हरेक प्रकृयाहरु पूरा गर्नु जरुरी छ ।

अब नीति निर्माणको चरण पार गरेर देश निर्माणको चरणमा हामी सबै प्रवेश गरिसकेका छौँ । अब भनेको देश निर्माण हो । यसको विकल्प छैन ।

सरकार पनि त्यसतर्फ केन्द्रित हुन्छ र हामी आफैँ पनि त्यसका लागि अघि बढ्ने जमर्कोमा छौँ । यसरी अघि बढ्यौँ भने आगामी दिनमा देशले समृद्धिको छलाङ मार्नेछ । यो सामग्री उज्यालो अनलाइनबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्