पढ्नैपर्नेः बिना प्रेसर खेल्दाखेल्दै यसरी सिकाउनुस् बच्चालाई (उदाहरणसहित)

एभरेष्ट शिक्षा । शहरी जीवनको व्यस्तता । बालबालिकालाई समय दिनु सबै अभिभावकका लागि सम्भव हुँदैन । अर्कोतर्फ कतिपय अभिभावकले राम्रो या महंगा स्कूलमा भर्ना गरेको छु भनेर पनि बच्चालाई त्यति पढाईमा ध्यान दिएको पाईंदैन । केहीले भने परम्परागत तरिकाले बच्चालाई रटाऊ तरिकाले या जबर्जस्ती यसरी लेख या त्यसरी लेख भनेर भन्ने गर्दछन् । तर अहिलेका बच्चाहरु एउटा रुटिनमा बाँच्न चाहँदैन । मोबाईल, टेलिभिजनदेखि कतिपय अन्य कारक तत्वहरुले उनीहरु निकै बढी चलायमान भएका छन् ।

यो स्थितिमा बालबालिकालाई पढाउने या सिकाउने कुरा पनि फरक र कलात्मक अर्थात् सिर्जनात्मक ढंगले गर्नु जरुरी हुन्छ । अहिले अधिकांश विद्यालयले पुस्तकका पाठ भन्दा पनि अतिरिक्त क्रियाकलापका माध्यमबाट सिर्जनात्मक तरिकाले सिकाइरहेका हुन्छन् । घरमा पनि यही सिर्जनात्मक तरिकाले सिकाई गर्न सके त्यसबाट बिना कुनै दबाब बच्चाले छिटो सिक्ने गर्दछन् ।

के गर्ने त ?
तपाई बच्चासँग जति समय बिताउनुहुन्छ, ती हरेक समयमा बच्चालाई सिकाउने कुरा गर्नुहोस् । त्यसको अर्थ रटाएर पढाउने भनेको होइन । जस्तोः तपाई बच्चासँग घुम्न जानु भएको छ । घरबाट बाहिर निस्केदेखि फर्किंदासम्म तपाईले कलात्मक तरिकाले बच्चालाई उसको कक्षामा पढाई हुने कैयन कुरा पढाउन सक्नुहुन्छ ।

जस्तो सडकमा जानु भयो भने त्यहाँ गाडी हुन्छन । सँगै घुम्दा तपाईले बच्चासँग साथीजस्तै कुरा गर्दै भन्न सक्नुहुन्छ– मलाई त हरिया गाडी मन पर्यो, ऊ हेर त त्यो हरियो गाडी हो । अनि रातो गाडी आए यो रातो गाडी मन पर्यो भनेर सोध्नुस् । बच्चाले तीनचार चोटी यसरी घुम्दा सबै रंग थाहा पाउन सक्छ । ट्राफिक, अस्पताल, पैदल हिँडने फुटपाथ, कैयन पसलहरुलगायतका कुराहरु यसरी नै सिकाउन सकिन्छ । यसैगरी बाटोमा घर, रुख, पात, गाडीलगायत कैयन कुरा हुन्छन् । यी कुराहरुमा हामीले सजिव र निर्जिव कुराहरु, त्रिकोण, आयात, वर्गजस्ता आकृतिहरु, किरा र जनावरहरु, घरपालुवा र जंगली जनावर लगायतका कतिपय सामाजिक विज्ञानका कुरा सिकाउन सक्छौं ।

कक्षा युकेजी र एकमा जनावर, तिनका बासस्थान, तिनका बच्चाको नाम, र उनीहरुले निकाल्ने ध्वनी सिकाउन पनि बाटोमा या छेउछाउमा देखिने जनावरको उदाहरण दिएर खेल खेल्दै सिकाउन सकिन्छ । जस्तो कुखुरा देखे भने ‘ल म पनि कुखुरा भएँ, म पनि क्लक क्लक गर्छु या कुखुरी काँ गर्छु” तिमी कुखुरा बन्ने कि कुकुर बन्ने भनेर सोध्यौं भने बच्चाले म त कुकुर या कुखुरा बन्छु, म पनि यसरी आवाज निकाल्छु भनेर रमाउँदै त्यो आवाज सिकिसकेको हुन्छ । यो आलेख तपाई एभरेष्ट दैनिक डट.कममा पढ्दै हुनुहुन्छ

साँझ बिहान सँगै पैदल घुम्नुस र सिकाउनुस्
साँझ र बिहानको समयमा बच्चालाई सिकाउने उत्तम समय हो । बाटोमा हिँडदा तपाईले ‘ल, ऊ त्यहाँसम्म हामी कतिवटा पाईलामा पुग्न सकौंला ?’ भनेर सोधेर ल एक, दुई तीन भन्न लगाउँदै पाईला गन्दै हिँडन सक्नुहुन्छ । बच्चाले यसो गर्दा पढाईरहेको पत्तै पाउँदैन । तर उसले एक दुई, वान टु सिकिरहेको हुन्छ । अझ एक दुई वान टु सिकिसकेको अवस्थामा तिनीहरुको स्पेलिङसहित खेल्न सकिन्छ । यस्तैगरी आईतबार सोमबारको पनि अभ्यास गर्न सकिन्छ ।

बच्चामा निकै बढी जिज्ञासा हुन्छ, उनीहरुले नबोलेपनि हरेक कुराको उनीहरुले मन्थन गरिरहेका हुन्छन । हामीले एकआपसमा बोल्ने कुराकानी पनि उनीहरुले अर्थ नलगाएपनि त्यसभित्रका कतिपय कुराहरु उनीहरुले टिपी रहेका हुन्छन् । त्यसैले उनीहरुको यो जिज्ञासालाई अझै उकास्नुपर्छ । उनीहरुलाई कथात्मक शैलीले कतिपय कुरा भन्नुहुन्छ । जस्तो खानेकुराको बारेमा सिकाउँदा ‘हामी सानो छँदा नास्ता या खाजामा के खान्थ्यौं होला, थाहा छ ?” भनेर सोध्नुस त ? बच्चा कति चाख मानेर तपाईको विगत सुन्न आतुर हुन्छ । बच्चाले मम, चाउमिन, पिजा, आदि इत्यादी भन्न सक्ला । तर तपाईले त्यतिखेर पहिलेका खाना र अहिलेका खान तुलना गर्न सजिलै सिकाउनु हुन्छ । यसबाट बच्चालाई खानेकुराको नाम थाहा हुन्छ ।

जस्तो तपाईको बच्चाले एबिसिडी, कख या १ दुई लेख्न सिकिरहेको छ भने बाटोमा हिँडदा तपाईले बच्चाको हात समातेर ए को आकारमा उसलाई घुमाउन सक्नुहुन्छ या आफै ल म बी बन्छु है भनेर बाटोमा बी जस्तै हिँडन सक्नुहुन्छ । अनि बच्चाले म सी बन्छु भनेर आधार सर्कल हिँडन चाहन सक्छ । यसरी अभ्यास गर्दा कापीमा लेख्नुभन्दा निकै कम समयमा उसले सबै अक्षर लेख्न सक्छ ।
यी केही सामान्य उदाहरण हुन । मुख्य कुरा बच्चालाई लेख्न या पढनका लागि दबाब नदिनुस । बरु आफै लेखन र पढने कुरामा सहयोगी बन्नुस । बच्चाले एकलरुपमा भन्दा पनि तपाई सँगै बसेर पढे या लेखे या सँगै रमाए हुन्थ्यो भन्ने चाहन्छ । त्यसैले होमवर्क गराउँदा या अन्य बेला तपाई बच्चासँग त्यो विषयका बारेमा कुनै कथा या प्रसंग बुनेर उसलाई याद आउने किसिमले व्यवहार गर्दा राम्रो हुन्छ ।

पाठ मात्रै हैन, अन्य कुरा पनि खोज्नुस्
प्रायः कक्षा युकेजी या एकमा पुगिसकेपछि बच्चाले पाठ पढन शुरु गर्छन । पहिला पहिला पाठ पढेर त्यसमा दिइएका प्रश्नको उत्तर लेख्न जाने त्यो नै सबैभन्दा राम्रो मानिन्थ्यो । तर कुनै पाठको उद्देश्य त्यसमा उल्लेख भएको विषयका बारेमा मात्रै जान्नु कदापी हुँदैन । बरु त्यो पाठभित्र कैयन विषय हुन्छन । जस्तो खरायो र कछुवाको कथा बच्चाले चाख मानेर पढछन् । तर त्यो कथाभित्र हामीले ह््स्व, दीर्घदेखि हलन्त, विष्मयवोधक चिन्ह, समय, विभक्तीलगायतका कुरा सिकाउन सकिन्छ । जस्तो खरायो रुखमुनि सुत्यो भन्ने वाक्य पढ्दा एकछिन रोकेर ‘रुखमा चढेर सुतेको भए के लेखिन्थ्यो’ भनेर सोध्यौं भने बच्चाले रुखमा या रुखमाथि भन्न सक्छ । यसबाट मुनि, माथि, वारि, पारी जस्ता शब्दहरु नेपाली र अंग्रेजी दुबैमा सजिलै सिकाउन सकिन्छ । यो कुरा गरेपछि पुनः पाठ अगाडि बढन भन्न सकिन्छ ।

तुलना नगर्नुस्
साना नानीहरुलाई कहिले पनि तुलना गर्नु हुँदैन । तुलना गर्दा उनीहरुभित्र एकप्रकारको हीनताबोधले जन्म लिन्छ । तत्कालमा यसको असर नदेखिएपनि पछि गएर यसले बच्चाभित्र नराम्रो मानसिकताको विकास गर्न सक्छ । ऊ राम्रो, तिमी नराम्रो, उसको अक्षर राम्रो तिम्रो नराम्रो नभन्नुस् । बरु बच्चालाई अझ राम्रो बन्न सिकाउनुस् । कति राम्रो अक्षर हो तिम्रो तर यो कुरा यसरी लेख झन कति राम्रो हुन्थ्यो, मैले त सानो छँदा यस्तो लेख्थे आदि इत्यादी किसिमले कुरा गरेर उसलाई अझ राम्रो बन्न उत्प्रेरित गर्न सकिन्छ । यसबाट बच्चामा म झन राम्रो बन्छु भन्ने कुरा विकास हुन्छ । बच्चालाई नराम्रो भए या नजानेमा निराश या दुखी हुनुहुन्न, बरु कोशीस गर्दै गर्दा राम्रो गर्न सकिन्छ भनेर सिकाउनुस् ।

साथी बन्नुस, बस साथी मात्र
बच्चासँग जहिले पनि साथी बन्नुस् । बच्चालाई सकेसम्म बढीभन्दा बढी समय दिनुस् । तर यो समयमा तपाई मोबाइलमा या आफ्नो काममा झुण्डिएर होइन बरु उसँगै अन्तक्र्रियात्मक तरिकाले बोलेर, हाँसेर खेलेर बिताउनुस् । बाटोमा हिंडदा होस कि बस्दा होस कि खाना होस् अधिकांश कुरामा नजानिदो तरिकाले पढाई घुसाउनुस् । जस्तो खाना खुवाउँदा आज जोर मात्रै खाने या बिजोर मात्रै खाने भनेर भन्नुस् अनि बच्चालाई एउटा चम्मच खुवाउनुस उसले जोर मात्रै खाने भन्दा २ भन्छ या २ भन्न सिकाउनुस अनि दोश्रो चम्मचमा उसले ४ भन्छ । यी उदाहरण मात्र हुन । यसो गर्दा बच्चाले खाना पनि राम्रो सँग खाने र यसरी खेलाउँदै जाने र पढाउँदै पनि जाने हो भने बिस्तारै बच्चाले आफैले आज यस्तो सोध्नु न आज उस्तो सोध्नु न भनेर पढाइकै कुरामा खेल्न खोज्छन् ।
यहाँ दिईएका कुरा सामान्य उदाहरण हुन । सिकाईका त्यस्ता कुनै नियम हुँदैनन । आफ्नो परिस्थिति, घर र समाजको वातावरण, समय आदिमा यो निर्भर हुन्छ । मुख्य कुरा बच्चामा आत्मविश्वास जगाउनुस, राम्रो बानीका लागि उत्प्रेरित गर्नुस् । यु क्यान डु भन्ने मन्त्र आफ्नो मनमा राखेर उसलाई पनि यसका लागि अभिप्रेरित गर्नुस् । सबैभन्दा ठूलो कुरा गुणात्मक समय दिनुस् ।
बाँकी अर्को अध्यायमा ।

कमेन्ट गर्नुहोस्