आशा जगाउँदै एकल विन्दु सेवा केन्द्र

काठमाडौँ, जेठ ५ । जेठ लागेसँगै सञ्चालनमा आएको उद्योगीलाई एकीकृत सेवा दिने एकल बिन्दु सेवा केन्द्र व्यवस्थित हुन अझै केही समय लाग्ला तर यसले उद्यमी तथा लगानीकर्ताले हालसम्म झेल्दै आएका प्रशासनिक तथा प्रक्रियागत जटिलता भने हट्ने आशा भने सञ्चार गरेको छ ।

केन्द्रले अझै पूर्णता पाइनसकेको भए पनि केन्द्र स्थापना हुनु शून्यबाट एक पाइला बढेर गतिशीलतातर्फको यात्रा सुरु भएको अनुभूति सेवाग्राहीले गरेका छन् । उद्योग सञ्चालनका लागि आवेदनदेखि उद्योग बन्द गर्नेसम्मका विविध सेवा लगानीकर्तालाई एकै स्थानबाट उपलब्ध गराउने गरी सरकारले यो केन्द्र सञ्चालनमा ल्याएको हो ।

केन्द्रमा अहिले विभिन्न सरकारी निकाएको प्रतिनिधित्व हुने नौ एकाइ खुलिसकेका छन् । उद्योग दर्ताका लागि आवेदनदेखि दर्ता, उद्योगलाई आवश्यक हुने पूर्वाधार सहजीकरण, विदेशी लगानीकर्ताका लागि भिसा सहजीकरण, एक्जिम कोड तथा भन्सार सहजीकरणजस्ता सेवा यहाँबाट उपलब्ध गराउन थालिएको हो ।

राजधानीको त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरमा एकल बिन्दु सेवा केन्द्र जेठ एक गतेदेखि सञ्चालनमा ल्याइएको हो । पहिलो दिन नै सेवा केन्द्रबाट तीन उद्योग दर्ता भएका छन् ।

म्याग्दीको राहुगङ्गा गाउँपालिका क्षेत्रमा बन्ने एक जलविद्युत् आयोजना सेवा केन्द्रमार्फत दर्ता भएको पहिलो उद्योग बनेको छ । करिब १० अर्ब रुपियाँको लागतमा बन्ने ५८ मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउन तिपलिङ कालीगण्डकी हाइड्रोपावर कम्पनी पहिलो कम्पनीका रूपमा दर्ता भएको हो । अपर म्याग्दी हाइड्रोपावर कम्पनी र कर्नर स्टोन एकेडेमी अफ ट्रेनिङ प्रालिले पनि सोही दिन उद्योग दर्ता पाए ।

सेवा केन्द्र पुगेका सेवाग्राही यो संरचना बन्नुलाई ऐतिहासिक मान्छन् । उद्योग दर्ताका लागि सेवा केन्द्रमा पुगेका अधिवक्ता अन्जनकुमार दाहालले भने– ‘२५ वर्षदेखि आवश्यकता महसुस गरिएको यो संरचना बल्ल सञ्चालनमा आएको छ । उद्यम गर्न चाहनेले दर्जनौं कार्यालय धाउनुपर्ने र अनिर्णयको बन्दी बन्नुपर्ने अवस्था हट्छ, यो ऐतिहासिक हो । दाहालका अनुसार केन्द्रमा अझै धेरै संरचना स्थापना गर्नुपर्ने छ ।

अनलाइन प्रणाली जडान हुन बाँकी

सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि उद्योग दर्ताका लागि अनलाइन प्रणाली अझै जडान भइसकेको छैन । कतिपय एकाइमा कर्मचारी सङ्ख्याअनुसार स्थान व्यवस्थापन भइसकेको छैन । त्यस्तै सबै एकाइले साझेदारी रूपमा प्रयोग गर्नसक्ने खालको सफ्टवेयर पनि बनिसकेको छैन ।

शुक्रबार नै नेपालगन्जमा रहने गरी एक सिमेन्ट उद्योग दर्ताका लागि केन्द्र पुगेका कानुन व्यवसायी नगेन्द्र चन्द अनलाइन प्रणालीबाटै आवेदन गर्ने गरी केही दिनपछि पुनः केन्द्रमा आउने बताए । उद्योग दर्ता एकाइका निर्देशक विष्णुप्रसाद ज्ञवालीका अनुसार उद्योग विभागमा रहेको अनलाइन आवेदन प्रणाली सोमबारसम्म एकाइमा जडान भइसक्नेछ । दर्ता एकाइलगायतका धेरै कर्मचारी रहनुपर्ने एकाइका लागि थप कोठाको तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ भने संयुक्त कार्य गर्ने सफ्टवेयर पनि केही महिनाभित्र तयार भइसक्ने उद्योग विभागले जनाएको छ ।

विभिन्न निकायबाट आउने कर्मचारी सम्बन्धित एकाइमा पदस्थापन भइसेकेका छन्, ज्ञवालीले भने, समस्या नआउने गरी योजनाका साथ काम गरिरहेका छौं, काम गर्दै जाँदा आवश्यकताअनुसार परिमार्जन गर्दै सेवाग्राहीलाई आशातित सेवा उपलब्ध गराउने छौं । कुल ४१ जनाको दरबन्दी रहेको केन्द्रको प्रमुख कार्यकारी अधिकृत उद्योग विभागका महानिर्देशक रहने व्यवस्था छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्