कार्यालयमा प्रमुख नहुँदा कामकाज ठप्प, सेवाग्राहीलाई सास्ती

सिमकोट, वैशाख ३१ । दुई महिनादेखि जिल्ला मालपोत कार्यालयमा प्रमुख नहुँदा कामकाज ठप्प भएका छन् ।

पहिलेका कार्यालय प्रमुख सरुवा भएर गएको तथा मन्त्रालयले नयाँ कार्यालय प्रमुख हालसम्म पनि नखटाउदा कार्यालयमा कामकाज सबै ठप्प भएका हुन । एक महिना अगाडिदेखि जग्गाका रजिस्टेसन गर्नका लागि पाँच पटक कार्यालयमा जाँदा कार्यालय प्रमुखको अनुपस्थितीको कारण काम हुन नसकेको सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बताए ।

मालपोत जस्तो बढी काम हुने कार्यालयमा दुई महिनासम्म प्रमुख विहीन बनाएर काम काज प्रभावित हुँदासम्म कसैले ध्यान नदिनु जनताका लागि अभिसाप भएको उनले बताए । वडा अध्यक्ष रोकाया एकजना उदाहरणका लागि लिइएको सेवाग्राही रहेका छन् । उनीजस्तै दैनिक दुई दर्जनभन्दा बढी सेवाग्राहीहरु आउने गरेका छन् ।

गत चैत पहिलो हप्ता तत्कालीन कार्यालय प्रमुख काम विशेषले काठमाडौं गएको र उनलाई त्यतैबाट कलंकी मालपोतमा सरुवा भएपछि फिर्ता नआएको हाल करारमा जागिर खादै आएका कम्प्युटर अपरेटर मिमसिंह नेपालीले बताए । आएका काम गर्न सकिने भएपनि करारलाई काम गर्न नदिएकोले आउने सेवाग्राहीलाई रित्तो हात फर्काउने गरिएको उनले बताए । बिदाको दिन बाहेक अन्य दिनमा दैनिक जग्गाको कारोवार गर्ने सेवाग्राहीको घुईचो लाग्ने गरेको र सबैलाई रित्तै हात फर्काउने गरेको निमित्त प्रमुख नेपालीले बताए ।

मन्त्रालयमा कार्यालय प्रमुखको व्यवस्थाका लागि जानकारी लिन खोज्दा हुन्छ भन्ने जवाफ मात्र आउने गरेको उनले बताए । यसअघि मन्त्रालयले दुई जनालाई सरुवा गराएकोमा दुबै जनाले जिल्लामै नआएर अन्तै सरुवा गरेको र अबको एक हप्तामा कर्मचारी जिल्लामा खटाई सक्ने जानकारी मन्त्रालयले दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्