चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलरले ‘क्याप्टेन’ को रेकर्ड तोड्न सफल

काठमाडौं, चैत १७ । नेपाली चलचित्र क्षेत्रका चर्चित सुपरस्टार अनमोल केसीलाई ‘युट्युबका ‘किंग’ भन्ने गरिन्छ ।

किनकि, उनी अभिनित चलचित्रका गीत–संगीत र ट्रेलरले युट्युबमा एकपछि अर्को गर्दै रेकर्ड आफ्नो नाम गरिरहेका छन् र अनमोलले हरेक चलचित्रबाट आफ्नै रेकर्ड ब्रेक गरिरहेका छन् । केही हप्ताअघि सर्वाधिक भ्यूज बटुल्दै चलचित्र ‘कृ’को ट्रेलरको रेकर्ड चलचित्र ‘क्याप्टेन’ले तोडेको थियो । केही दिनअघि ‘ए मेरो हजुर ३’को ‘पुरानो’ गीतले चलचित्र ‘शत्रु गते’को ‘रुपै मोहनी’ को रेकर्ड भत्कायो ।

फेरि अनमोलले आफ्नै फिल्मको ट्रेलरले युट्युबमा बनाएको कीर्तिमानी रेकर्ड आफैंले तोडेका छन् । चलचित्र ‘क्याप्टेन’को ट्रेलरले युट्युब रिलिजको २४ घण्टामा ८ लाख १० हजार भ्यूअर्स बटुलेको थियो । ‘ए मेरो हजुर ३’को ट्रेलरलाई २४ घण्टामा ८ लाख ११ हजार बढी पटक हेरिएको छ । पूर्णरुपमा कमर्शियल बनाइएको ट्रेलरलाई ४९ हजार बढी लाइक्स मिलेको छ भने कमेन्ट गर्नेहरुको संख्या २४ घण्टामा ७ हजार ७ सय बढी छ । ट्रेलरले अधिकांशको मन जितेको छ ।

अभिनेता अनमोललाई ट्रेलरमा दुई रुपमा देख्न सकिन्छ । उनी फिल्ममा दोहोरो भूमिका हुन सक्ने अनुमान लगाइएको छ । यस चलचित्रबाट डेब्यू गरेकी सुहाना थापाको अभिनय र सुन्दरतालाई पनि थुप्रै तारिफका कमेन्ट प्राप्त छन् । उनलाई हाइट कम भएको प्रतिक्रिया पनि धेरै छन् । यद्यपि, अनमोलसँग उनको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ गीतसँगै सार्वजनिक ट्रेलरले चलचित्रको लोभलाग्दो हाइप निर्माण गरेको छ ।

सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झा, सरोज खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । यसमा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी छ । उक्त चलचित्र यही आउँदो चैत २९ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदै छ ।

कमेन्ट गर्नुहोस्