स्थगित एसईई परीक्षा चैतभित्रै हुने

काठमाडौं, चैत १७ । राष्ट्रिय परीक्षा बोर्डले चैतभित्रै सम्पन्न गर्ने गरी प्रदेश २ को एसईई परीक्षाको तयारी अघि बढाएको छ। प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

बोर्डले परीक्षा सञ्चालनका लागि समय तालिका (रुटिन) निर्माणको गृहकार्य गरिरहेको छ। ‘आइतबारसम्म परीक्षा तालिका सार्वजनिक गरिसक्छौँ,’ उनले भने, ‘चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ।’ परीक्षा केही दिन अघिपछि भएपनि सात वटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने बोर्डले जनाएको हो।

चैत १० गतेबाट सुरु भएको एसईई देशभर चैत २१ गते सकिने समय तालिका थियो। प्रदेश नम्बर २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको छ। उक्त विषयको परीक्षाको मिति चैत २२ गते लाई तोकिएको छ। साविककै परीक्षा केन्द्र र समयमा उक्त परीक्षा सञ्चालन हुनेछ। त्यसका लागि प्रश्नपत्र छपाइको काम सुरु गरिएको हो।

चैत १५ गतेको सामाजिक विषयको प्रश्पत्रपनि परीक्षा अगावै आउट भएका कारण स्थगित गरिएको छ। त्यसपछिका सबै विषयका परीक्षा पनि स्थगित गरिएको हो। स्थगित भएका परीक्षा २३ गतेबाट निरन्तर सञ्चालन गर्ने गरी रुटिन बन्ने सम्भावना रहेको बोर्ड स्रोतले जनायो।

आइतबार अन्य ६ प्रदेशमा ऐच्छिक प्रथम विषयको परीक्षा सञ्चालन हुँदैछ। ती प्रदेशमा आइतबारको परीक्षा सकिए लगत्तै प्रदेश २ का लागि रुटिन सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!