उ बेलाका प्रचण्डः रङ कडा, चिनी कम दूध चियाका पारखी

ललितपुर, चैत १६ । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार बेरोजगार थियो । त्यसैले गहना बेचेर उनले चिया पसल खोलिन् । पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल नियमितजसो आउन थाले यहाँ । ‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे दाहाल’, खड्गी भन्छिन्, ‘दाहालपत्नी सीता पनि आउँथिन् । दुवैले दूध चिया रुचाउँथे । उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे । खासै चिया खाँदैनथे ।’

दाहाल चिया पिउँदै राजनीतिक गफ गर्थे । चासोसाथ पत्रपत्रिका पढ्थे । राजनीतिक परिवर्तनका बहस गर्थे । घोत्लिइरहन्थे । तर उनी एकाएक गायब भए । एकाएक हराउने व्यक्ति दाहाल हुन् भन्ने थाहा थिएन, ५६ वर्षीय खड्गीलाई । त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन । तर जब पत्रपत्रिकामा उनकोे तस्बिर छापियो, त्यसपछि भने उनलाई अचम्म लाग्यो । ‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने दाहाल रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’

उनको मस्तिष्कमा त्यो बेलाका दाहालको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ । त्यो बेलाको सम्झना गर्दै भनिन्, त्यति बेला पनि दाहालले अहिलेको जस्तै कपाल मिलाउँथे ।’ यो समाचार  अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!