लगानी सम्मेलन शुरु, ३० खर्ब नेपाल भित्रिने प्रधानमन्त्रीको भनाई

काठमाडौं, चैत १५ । विदेशी लगानी भित्र्याउने उद्देश्यका साथ सरकारले काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलन शुक्रबार सुरु भएको छ। सोल्टी होटलमा आयोजित सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘३० खर्बको आयोजना राखेका छौं। नेपालमा लगानीको धेरै संभावना छ। निजी, सार्वजनिक र सहकारी सबै तहमा सहकार्य गरेर लगानी गर्न सकिन्छ।’

उनले अगाडि भने, ‘तपाईंहरू प्रविधिले भरिपूर्ण हुनुहन्छ, हामीसँग सहकार्य गर्नुहोस्। नेपालले विदेशी लगानीमा सहजीकरण पनि गरेको छ। अनलाइन प्रणाली अपनाएको छ। कर पनि हामी कडाइ गर्दैनौं।’

सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ। यी आयोजनाको लागत ३० खर्बभन्दा बढी छ।

लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषयवस्तुबारे जानकारी गराएका छन्।

सम्मेलनमा ४० देशबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ता सहभागी छन्। सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता गरी १ हजार जनाको हाराहारीमा सहभागिता रहेको आयोजकले जनाएको छ।

शुक्रबार नै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ।

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ।

सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!