अर्जेन्टिनी स्ट्राइकर हिगुइनले लिए सन्यास

एजेन्सी । अर्जेन्टिनी टोलीका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्न्यास लिएका छन् । सन् २००९ देखि सिनियर टोलीमा खेल्दै खाएका ३१ वर्षीय हिगुइनले बिहीबार राति राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् ।

इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक खेल खेलिरहेका हिगुइनले क्लब फुटबलमा थप ध्यान दिन राष्ट्रिय टोलीबाट सन्यास लिनु परेको बताएका छन् । उनी यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगेका थिए । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । गत वर्षको रुस विश्वकपपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

‘म राष्ट्रिय टोली छाडेर केही समय परिवारसँग बिताउन चाहन्छु । देशका लागि मैले सकेको योगदान गरे । टोलीबाट खेल्न पाउनु नै मेरा लागि जीवनभर ठूलो कुरा हो । अब मेरो पूर्ण ध्यान चेल्सीमा केन्द्रीत हुनेछ । प्रिमियर लिग साँच्चै रमाइलो जहाँ म रम्नचाहन्छु,’ हिगुइनले भने ।

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट बन्चित भएको थियो । सन् २०१५ को कोपा अमेरिकाको फाइनलमा गोल गर्ने अवसर चुकाएपछि टाइब्रेकरमा पुगेको खेलमा हिगुइनले पेनाल्टी मिस गरेका थिए । त्यसबाट उनी झनै आलोचित भए । सन्यासको क्रममा उनले आफूले राष्ट्रिय टोलीबाट राम्रो खेल्ने प्रयास गरेको दोहोर्याए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!