एसईई परीक्षाः परीक्षा अगावै सामाजिक विषयको प्रश्‍नपत्र आउट

काठमाडौं, चैत १५ । एसईईअन्तर्गत आज (शुक्रबार) परीक्षा हुने प्रदेश नम्बर २ को सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको हल्ला व्याप्त भएको छ। आज बिहान ८ बजेदेखि सुरु हुनुपर्ने रातो कागजमा छापिएको सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती भेटिएका हुन्। तर उक्त प्रश्नपत्र सक्कली हो वा नक्कली पुष्टि हुन अहिले बिहान साढे ७ बजेसम्म कुर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रश्नपत्र बाहिएको हल्ला चलेपछि बोर्डको आकस्मिक बैठक बेलाइएको छ। प्रश्नपत्र बनाउन संलग्न विषय विज्ञहरू सहितको बैठक डाकिएको बताइएको छ। परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि केन्द्रीय परीक्षा समन्वय समितिले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान छ। एसईई परीक्षा ८ बजे सुरु हुन्छ।

बिहान साढे ७ बजे प्रश्नपत्र हेरेपछि मात्रै आउट भए नभएको पुष्टि हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताएका छन्। बिहीबार पनि प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो।

सप्तरीबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्ध गरेको छ। बोर्ड र प्रदेश सरकारले छानबिनका लागि छुट्टाछुट्टै समिति बनाएको छ। चैत २२ गते उक्त विषयको परीक्षा गर्ने तालिका तोकिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!